रियालिटी सोकी ‘झिझियावाली’ काजल कर्ण निम अवार्डमा प्रतिस्पर्धा गर्दै
टोलपडोस समाचारदाता
जनकपुरधाम, २७ माघ ।
खास विद्यामा योग्य, दक्ष र प्रतिस्पर्धीहरूबीच कामको गुणवत्ता, प्रभाव र परिणामका आधारमा निश्चित व्यक्ति अवार्डका लागि छनोट हुनेगर्छन् । यस्तो सम्मान प्राप्त गरेपछि ती व्यक्तिको एकातिर सामाजिक स्वीकृति बढ्छ भने अर्कोतिर निरन्तर असल काम गर्न उनी प्रोत्साहित तथा प्रेरित भइरहन्छन् ।
आर्थिक सम्भावनाभन्दा कोसौं पर रहेको नेपालको कलाक्षेत्रमा त स्रष्टा/कलाकारका लागि विभिन्न समारोहमा प्राप्त हुने सम्मान त जीवनदायिनी शक्ति नै हो जसले सङ्घर्षका कठिन तथा लामा दिनमा पनि उनीहरूलाई अटूट साधना गर्न हौस्याइरहेको हुन्छ । अवार्ड कलाकारप्रतिको कृतज्ञता पनि हो । जसबाट आफूले समाजका लागि केही गरिरहेको कलाकारको मनोभाव बलियो बनाउँछ भने उनीहरूमा सन्तोक र प्रसन्नताको अनुभूति दिलाउँछ ।
यसले कलाकारका घरपरिवार तथा आफन्तका मनमा सकारात्मक ऊर्जा प्रवाह गर्छ । जसबाट कलाकारले निर्विघ्न काम गर्न सकिरहेका हुन्छन् ।
नेपालमा फरकफरक विधाका लागि विभिन्न अवार्ड कार्यक्रम आयोजना हुँदै आए पनि मैथिली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा भने यसको संख्या कम छ । श्रव्यदृश्य र मञ्चीय प्रस्तुतिमा संलग्नहरूका लागि छँदैछैन भन्दा पनि हुन्छ । नयाँ पुस्ताका कलाकारका लागि पुरस्कार भनेकै दर्शकबाट प्राप्त हुने स्नेह र प्रशंसा हो ।
तर, मैथिली भाषामा काम गर्ने कलाकारलाई समेत समेट्ने गरी राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२४ को मनोनयनमा बहुसँख्यक मैथिली भाषाका म्युजिक भिडियोमा काम गरेकी र मिथिलाञ्चलको संस्कृति तथा परम्परामा आधारित लोकनृत्यको मञ्चीय प्रस्तुतिबाट ख्यातिप्राप्त गरेकी विराटनगरकी काजल कर्ण मनोनयन भएकी छिन् ।
पावर इन्टरनेसनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा हुने सातौं संस्करणको निम अवार्डमा मैथिली÷भोजपुरीतर्फ ‘अहाँ हमर सपना छी’ गीतको म्युजिक भिडियोका लागि कर्णको मनोनयन भएको हो । यस श्रेणीमा कर्णसँगै ‘कंगना खन्कैया हमर’ लागि रानी थापा मगर, ‘बेटी पर नहिँ करु’ अत्याचारका लागि बद्री साह, ‘विन्दिया तोहर गे’ का लागि मुन्नाकुमार र ‘रसिली है मेरा नाम’ का लागि विक्रम गुप्ता समेत मनोनयनमा परेका छन् ।
कलाकार कर्णले अभिनय गरेकी ‘अहाँ हमर सपना छी’ गीतको म्युजिक भिडियोमा इँटा भट्टामा कष्ट, पीडा र सकसपूर्ण जिन्दगीका बीच एक जोडीबीचको प्रीति तथा अनुरागको सशक्त अभिव्यक्ति छ । उनको अभिनयमा पात्रका चरित्रअनुसारको मौलिकता र सहजता छ ।
निम अवार्डमा विभिन्न भाषाभाषीका गरी कुल ४१ विधामा प्रतिस्पर्धामा हुनेछन् । प्रतिस्पर्धामा रहेका कलाकार, स्रस्टा तथा सर्जकलाई अनलाइन भोटिङ प्रक्रिया र निर्णायकहरूका मतका आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिनेछ ।
विराटनगरकी कलाकार कर्ण मैथिलीभाषी हुन् तर उनले लगभग पाँच भाषामा दुई सयभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । टिभी रियलिटी सो डान्सिङ्ग स्टारमा मैथिल कलाकारका रूपमा उनको परम्परागत झिझिया नृत्यले निकै चर्चा पायो । झिझिया लोकनृत्यको जीवन्त प्रस्तुतिले कलाकार कर्णलाई विछट्ट सुन्दर, शालीन र अतुल्य कलाकारको श्रेणीमा उभ्यायो ।
कलाका माध्यमले आफ्ना भाषा एवम् संस्कृतिलाई देशदुनियाँमा चिनाउने र सम्मान दिलाउने कर्णको सङ्कल्प छ । निम अवार्डमार्फत पनि मैथिली भाषाको सरसता र बोधगम्यताबाट मैथिलक्षेत्रको विशिष्ठ जीवनशैली थप अनुमोदित हुने उनको भनाइ छ ।
कलाकार कर्णले अनलाइन भोटिङमार्फत आफूलाई रोज्न सबैसँग आग्रह गरेकी छिन् । कर्णलाई भोटिङ गर्न निम्न लिंकमा जानुपर्ने हुन्छ ।
https://aventoz.com/event-details/65bb3a203d0b1