जितपुरसिमरामा पहिलोपटक महोत्सव आयोजना हुँदै

२०८० माघ २७, शनिबार १४:०२
बाराको जितपुरसिमरा उपमहानगरपालिकामा पहिलोपटक आयोजना हुने महोत्सवका लागि विमर्श गर्दै नगर उद्योग वाणिज्य संघका पदाधिकारी । तस्बिर : न्युज कारखाना 

इन्दीप कोइराला/न्युज कारखाना
बारा, २७ माघ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिकामा पहिलोपटक महोत्सव हुने भएको छ । जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा प्रथम जितपुरसिमरा महोत्सव २०८० हुने भएको हो ।

आगामी फागुन १८ गते देखि ३० गतेसम्म जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बजनीमा महोत्सव आयोजना गरिने जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले जानकारी दिए । उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको अध्यक्ष शर्माले बताए ।

महोत्सवले स्थानीय कृषि उत्पादनका हिसाबले देशभर प्रख्यात रहेको र बारा पर्यटनका लागि पनि महत्वपूर्ण छ भन्ने सन्देश दिने अध्यक्ष शर्माले बताए । उनले बारामा रहेका विभिन्न मठमन्दिरको प्रचारप्रसारलाई समेत महोत्सवसँग जोडिने बताए ।

बाराको आर्थिक तथा सामाजिक उत्थान गर्न कृषिउपज र प्रविधिको प्रदर्शनी, सूचना प्रविधिको प्रदर्शनी, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, संस्कृतिको जर्गेना गर्ने उद्देश्य महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष शर्मा जनाए ।

महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा दुई सय स्टल रहनेछन् भने तीन लाखभन्दा बढी सँख्यामा व्यक्तिले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवले कृषिजन्य घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्न आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्नसमेत सहयोग पुग्ने अपेक्षा आयोजकको छ । महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ ।

महोत्सवमा सबै जातजातिका भाषा–संस्कृति झल्किने नृत्य, गायन कार्यक्रम, नगरपालिकाभित्र रहेका विद्यालयका विद्यार्थीबीच डान्स आइडल, व्यावसायिक स्टल र नेपाली सेनाका विषेश कार्यक्रम आदि समावेश गरिएको बताइएको छ ।

महोत्सवमा ख्यातिप्राप्त कलाकारको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH