खण्डित मतादेशका बीच पाकिस्तानमा सरकार बनाउने कोसिस तीव्र
न्युज कारखाना
इस्लामबाद, २७ माघ ।
पाकिस्तानमा पछिल्ला केही चुनावी नतिजाहरूमा कुनै पनि राजनीतिक दल वा स्वतन्त्र समूहले स्पस्ट बहुमत पाउन सकेका छैनन । यद्यपि सरकार गठनका लागि प्रयास भने सुरू भइसकेको छ ।
पछिल्ला केही दिनदेखि देशको राजनीतिमा आम चुनावमा जेलमा परेका पूर्वप्रधानमन्त्री इमरान खानका वफादार स्वतन्त्र उम्मेदवारहरूले मजबुत प्रदर्शन गरिरहेका छन् ।
पाकिस्तानमा २६५ सिटका लागि चुनाव भएको थियो । बहुमतका लागि १३३ सिट आवश्यक छ ।
अहिलेसम्म इमरान खानको पार्टीले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले ९१ सिट प्राप्त गरेका छन् भने नवाज सरिफको पिएमएल–एनले ७१ सिट र बिलावल भुट्टोको पिपिपीले ५४ सिट ल्याएको छ । अन्य दलले ३५ सिटमा जित हासिल गरेका छन् । अझै १५ सिटको मतगणना बाहिर आउन बाँकी छ ।
तर, जियो न्युज रिपोर्टका अनुसार पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) केन्द्र र पञ्जाबमा गठबन्धन सरकार बनाउन सहमत भएका छन् ।
केन्द्र सरकारको तहमा पनि दुई समुहका बीच सहमति भइसकेको छ । पीएमएल–एनका अध्यक्ष शहबाज सरिफले पिपिपीका अध्यक्ष बिलावल भुट्टो र पूर्वराष्ट्रपति आसिफ अली जरदारीलाई भेटेर पाकिस्तानका लागि मिलेर काम गर्न निम्तो दिएका छन् ।
उता, इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफले इस्लामावादका तीन सिटको नतिजामाथि प्रश्न उठाएको छ । यी सिटको नतिजालाई चुनौती दिँदै पिटिआई उच्च अदालत पुगेको छ । छिट्टै निवेदन दायर गरिनेछ ।