क्यानडाविरुद्ध नेपालको लगातार दोस्रो जित, सिरिजमा कब्जा

२०८० माघ २७, शनिबार १६:५५


काठमाडौं, २७ माघ ।
नेपालले क्यानडाविरुद्ध लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गरेको हो ।

क्यानडाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रन बनाएका थिए भने देव खनालले ७६ रन बनाएका थिए । त्यस्तै अनिल शाहले १९ बलमा ५० रन बनाउँदै नेपालबाट सबैभन्दा कम बलमा अद्र्र्धशतक बनाउने नयाँ रेकर्ड बनाएका छन् । यस अघि असिफ सेखले २१ बलमा अद्र्र्धशतक बनाएको रेकर्ड थियो ।

त्यस्तै भीम सार्कीले २३, पवन सर्राफले १४, आसिफ सेखले १० रन बनाएर आउट भएका थिए भने कुशल मल्लले अविजित ९ र सोमपाल कामीले अविजित ९ रन बनाएका थिए ।

त्यसैगरी क्यानडाका बलर हर्ष ठाकेर र इश्वोरजोत सोहीले २–२ विकेट लिएका थिए भने साद बिन जाफर र दिलप्रीत बाज्वाले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो ।

क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए भने नवनीत धालीवालले ४६ रन बनाएका थिए । त्यसैगरी परगत सिंहले ३८, श्रेयस मोभ्भाले ४०, निकोलस कीर्तन र उदय भागवानले २०–२० तथा दिलप्रीत बाजवाले १९ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर कुशल मल्ल र कप्तान रोहित पौडेलले २–२ विकेट लिएका थिए भने सोमपाल कामी, आकाश चन्द, सूर्य तामाङ र पवन सर्राफले एक–एक विकेट लिएका थिए ।

यो जितसँगै नेपाल क्यानडाविरुद्धको ३ खेलको सिरिजमा २–० ले अगाडि रहेको छ र सिरिज जितेको छ । अब सिरिजको अन्तिम खेल आगामी सोमबार हुनेछ ।
(न्युज कारखाना)

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH