यदुकुहाको सडक पुलमा लाग्यो सुरक्षा पर्खाल

२०८० माघ २८, आईतवार ०९:४६
धनुषाको इलाका प्रहरी कार्यालय यदुकुहानजिक रहेको सडक पुलमा लगाइएको सुरक्षा पर्खाल । तस्बिर : विपिन

विपिन यादव/टोलपडोस
जनकपुरधाम, २८ माघ ।
इलाका प्रहरी कार्यालय (इप्रका) यदुकुहाको पहलमा दुर्घटना न्यूनीकरण गर्न सडक पुलमा सुरक्षा पर्खाल लगाइएको छ । रातिका बेला भिजिबिलिटी कम हुँदा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न सडक पुलमा सुरक्षा पर्खाल लगाइएको हो ।

इलाका प्रहरी कार्यालय यदुकुहाका निरीक्षक चन्द्रकिशोर साहले यदुकुहा–कमला सडकमा रहेको पुलबाट सवारीसाधर्न र ससाना बालबालिकाहरू झर्ने अत्यधिक जोखिम हुँदा सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहासँग समन्वय गरी इप्रका नजिकको पुलमा सुरक्षा पर्खाल लगाइएको जानकारी दिए ।

सुरक्षा पर्खाल लगाइएको पुल कमला सिँचाइको पश्चिम नहरप्रणाली सुचारु हुने एउटा संरचना हो । पुलमा सुरक्षा पर्खाल लगाइएपछि यात्रा सहज तथा जोखिमरहित हुने विश्वास गरिएको छ ।

सडक दुर्घटना न्यूनीकरण गर्न यदुकुहा प्रहरीले नियमित कामसँगै साइकल, ठेलागाडी, ट्रिपर, लामो तथा छोटो दुरीका सवारीसाधनमा समेत रिफ्लेक्टिभ स्टिकर टाँस गर्ने योजना अघि बढाएको निरीक्षक साहले बताए ।

इप्रका यदुकुहाले आफू बचौँ र अरूलाई बचाउँ भन्ने अभियानअन्तर्गत मोटरसाइकल चालकलाई समेत सवारी चलाउँदा ध्यानदिनु पर्ने कुरा, सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक नियमसम्बन्धी आवश्यक तथा महत्वपूर्ण जानकारी फिल्डमै दिँदै आएको छ ।

जाडोयाममा हुस्सुकुहिरो लागेका बेला सवारीसाधन चलाउँदा अपनाउनुपर्ने सावधानीका विषयमा सन्देश साझा गर्नुका साथै बढी दुर्घटना हुने क्षेत्रमा डिभाइडर राखेर आवगमनलाई सहज बनाइएको छ ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकलाई गाडी चलाउँदा सिटबेल्ट र हेलमेटको अनिवार्य प्रयोग, मादक पदार्थ तथा नशाजन्य चिजवस्तु सेवन गरी सवारीसाधन नचलाउन, तीव्र गतिमा सवारीसाधन नचलाउन आदि एक मिनेट सचेतनामूलक सन्देश दिने काम भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

बढी दुर्घटना हुने स्थान पहिचान गरी न्यूनीकरणका उपाय, सचेतना र लेन अनुशासन तथा डिभाइडर राख्ने कामलाई पनि निरन्तरता दिँदा यदुकुहा क्षेत्रमा सवारी दुर्घटनामा कमी आएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH