बिरामीलाई सुई दिनेलाई स्वास्थ्यमन्त्री सिँहले सोधे, तपाईँ को ?’ उनले भने, ‘हजुर म पियन हो’
एकपटकलाई माफी, अब हुन्छ कारबाही : स्वास्थ्यमन्त्री सिँह

सञ्जय सहनी /अनिल यादव
रौतहट, २८ माघ ।
शनिबार पौने १२ बजे नेपाली झन्डा फहराउँदै एउटा गाडी रौतहटको गौर अस्पताल परिसरमा आइपुग्यो । अस्पतालअगाडि लाम लागेर अस्पतालका व्यवस्थापन समिति अध्यक्ष अनवर हासमी, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरसहित कर्मचारीहरू मालाखादा लिएर उभिएका थिए ।
अस्पतालमा शनिबार रक्त सञ्चार केन्द्र (ब्लड बैंक ) र फोहोरमैला व्यस्थापन केन्द्रको उद्घाटन हुने भएको थियो ।
झन्डावाल गाडीमा सोही उद्घाटन लागि मधेस प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री वीरेन्द्रप्रसाद सिँह आएका रहेछन् ।
मन्त्री सिंह गाडीबाट ओलर्नेबित्तिकै मालाखादा लिएर पंक्तिबद्ध भएकाहरूले स्वागत गर्न थाले । मन्त्री सिँहले पहिला काम हेरौं, मालाखादा पछि पहिरौला भन्दै अघि बढे ।
राजनीति गर्नेहरूका बीच जुँगाको लडाइका कारण गौर अस्पताल केही दिनअघिसम्म प्रमुखविहीन थियो । कयौँ दिनको रस्साकस्सीपछि मन्त्री सिँहले द्वन्द्वरत पक्षका स्वार्थलाई पन्छाउँदै निमित्तका प्रमुख बनाएर अस्पतालमा डा. ठाकुरलाई पठाएका रहेछन् ।
तिनै डा. ठाकुरले कामकाज सम्हालेपछि अस्पतालमा रक्तसञ्चार केन्द्र र फोहोरमैला व्यवस्थापन केन्द्र स्थापनाको कामले पूर्णता पाएको रहेछ ।
मन्त्री सिँहले सुरुमा रक्तसञ्चार केन्द्रको उदघाटन गरे र त्यहाँ देखिएका कमीकमजोरीसहित भौतिक संरचनामा थप सुधार गर्न निर्देशन दिए । त्यसपछि फोहोरमैला व्यवस्थापन केन्द्रको उद्घाटन गरी उनी अचानक अस्पतालको आकस्मिक कक्षतर्फ लागे । त्यहाँ पुग्दा मन्त्री सिँहले अस्पतालमा भइरहेका हेलचेक्रयाइँको एउटा दुर्भाग्यपूर्ण दृश्य देखे । उनले रन्को थाम्न सकेनन् । झनक्क रिसाए उनी ।
घरआँगनकै पोसाकमा रहेका पाका उमेरका एक कर्मचारी हातमा सिरिन्ज लिएर कुनै बिरामीलाई सुई लगाउने तर्खरमा थिए । मन्त्रीले उनलाई रोक्दै विनम्र भाषामा सोधे, ‘तपाई को हो र के पढ्नुभएको हो ?’ अस्पतालका अरू अधिकारीहरूले अस्पस्ट र घुमाउरो तरिकाले परिचय दिनै थाल्दा ती कर्मचारी आफैँले जबाफ दिए, ‘हम पिउन छी(म कार्यालय सहयोगी हो) ।’
यो सुन्न नपाउँदै मन्त्री सिँहले उनलाई यस्तो काममा अह्राएको भनी प्रश्न गरे । मन्त्री सिँहले तीनपटकसम्म यो गलत हो भनी टिप्पणी गर्दै भने, ‘उहाँ बुढापाका हो । यो काम गर्न सक्नुहुन्छ । तर गलत हो यो । एकपटकलाई माफी तर अब यस्तो काम गराउन पाइँदैन ।’
करारमा कार्यरत ती कार्यालय सहयोगीले मन्त्रीलाई आफूले औषधि मिलाउन मात्र खोजिरहेको भन्दै कुराकानीका क्रममा ढाँटेका थिए । तर उनले झुटा कुरा गरेको भेउ भने मन्त्री सिँहले पाइसकेका थिए ।
कार्यालय सहयोगीलाई डिउटीमा राख्ने र आफू काम नगर्ने स्वास्थ्य कर्मचारीहरू मधेसका अस्पतालमा जहीँजता भेटिन्छन् । गौर अस्पताल पनि अपवादमा छैन । चिकित्सक र स्वाथ्यकर्मी हुँदाहुँदै उपचार कार्यमा कार्यालय सहयोगीलाई लगाउने प्रवृत्ति यहाँ पनि पहिलेदेखिकै हो । अस्पताल चलाउने नाममा यसलाई रोक्न कोहीले केही बोल्दैनन् ।
फोहोरमैला व्यवस्थापन केन्द्रको उद्घाटन र अस्पताल परिसरको निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री सिँहले गौर अस्पतालमा देखिएका विकृति, विसङ्गति र लापारवाहीलाई तत्काल अन्त्य गर्ने निर्देशन दिए ।
उनले अस्पतालबाट दिइने सेवासुविधालाई प्रभावकारी बनाउने काममा जुट्न सम्बद्ध अधिकारीहरूको ध्यानाकृष्ट गराए ।
मन्त्री सिँहले ठूला र शक्तिशाली घरका हुँ भन्दै कर्मचारीहरूले अस्पतालमा राजनीति तथा मनोमानी गर्ने परिपाटी समाप्त हुनुपर्ने औंल्याउँदै जुन कामका लागि सरकारले तलब दिएको छ, त्यही काम अनुशासनको घेरामा बसेर गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।
सरुवा हुँदैमा गौर अस्पतालका पुराना कर्मचारी आत्तिने र अन्त कतै जान्न भनी अदालतमा मुद्दा दिने प्रवृत्ति रहेको भन्दै उनले अदालतमा जानुभन्दा जहाँ गए नि काम गर्न सुझाए । उनले भने, ‘जहाँ गएर पनि काम गरे भैगो नि । गौरमै बस्ने केको लोभ ?’
उनले काम नगर्ने एकजनाको सरुवा गरिए ३० जना नेताले मेरा मान्छे हुन् भनी तनाव दिनेगरेको खुलासा गरे । उनले भने, ‘अनि तिनै नेताले गौर अस्पताल खत्तम छ भन्ने । यो कस्तो खेल हो ?’
केही नेताकै कारण गौर अस्पतालको अवस्थामा सुधार नआएको मन्त्री सिँह भनाइ थियो ।
मन्त्री सिँहले अलिकति फरक ढंगले गौर अस्पताल चलेको आफूले हेर्न खोजेको भए पनि गठबन्धन सरकारका कारण अपेक्षित गतिमा काम गर्न ढिलाइ भइरहेको सुनाए । उनले त्यसका बाबजुद गौर अस्पतालमा देखिएका बेथिति अन्त्य गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
गौर अस्पतालमा आएका बिरामीलाई विभिन्न बहानामा अस्पतालका केही कर्मचारीकै मिलेमतो र कमिसनका कारण दलालमार्फत निजी झोले क्लिनिक र निजी ल्याबमा पठाउने गरिएको, निःशुल्क पाउने औसषि दिन आनाकानी गरिएको जस्ता गुनासो आफूले सुन्नु परिरहेको भन्दै मन्त्री सिँहले प्रमाण फेला परेका दिन त्यसमा संलग्नलाई माला लगाएर सम्मानसहित बिदा गर्ने चेतावनी दिए ।
अस्पतालमा ब्यबस्थापकको काम के हो ? मेडिकल सुपरिटेन्डेन्टको काम के हो ?बिरामी किन बाहिर जादैछ्न ,अस्पतालमा साच्चै कमि कमजोरी छ कि कमिसनको खेल मौलाएको छ ?कसरी सुधार हुन्छ ? सबैले आ –आफ्नो लक्ष्य र जिम्मेवारी प्रति गम्भिर भई अस्पतालको सेवा सुधारको लागि अहोरात्र खट्न निर्देशन दिनु भएका छन् ।
मन्त्री सिँहले भने, ‘कर्मचारीलाई तहअनुसार तलब दिनुस् ,जसले जति मेहनत गरेको छ त्यति नै ओभरटाइमको भत्ता दिनुस् । सबै इन्चार्जलाई एक ठाँउमा राखी कमिटी बनाई ओटिपी वितरण गर्नुस् ।’
उनले एकलौटी नगर्न र कर्मचारीलाई पोसाकको व्यवस्था, चौबीसौं घन्टा ल्याब र एक्सरे सञ्चालन गर्न, गरिब निमुखाको उपचारप्रति गम्भीर हुन, निःशुल्क औषधि वितरण गर्न अस्पतालका अधिकारीहरूलाई निर्देशन दिँदै,लापरवाह कर्मचारीको विवरण बनाई कारबाही सिफारिस गर्न र त्यसो गर्न नसकिए मन्त्रालयलाई जानकारी गराउन भने ।
मन्त्री सिँहले कर्मचारी अभावका कारण अहिले केही लापरबाह कर्मचारीले नचाहेर पनि छुट पाएका भए पनि मन्त्रालयले थप जनशक्तिका लागि आवेदन आह्वान गरिसकेकाले त्यस्ता कर्मचारीले आफ्नो व्यवहार नसुधारे केही दिनमै कारबाही भोग्नुपर्ने बताए । उनले भएका र आउने जनशक्तिलाई बस्न भवन निर्माणका प्रक्रिया थाल्न समेत निर्देशन दिए ।
भनसुनका भरमा काम नगरी तलब खाने प्रवृत्तिका कारण अस्पतालको अवस्था जर्जर बन्दै गएको बताउँदै मन्त्री सिँहले हाजिर गर्ने र काम नगर्ने कर्मचारीलाई ठाँउका ठाँउ कारबाही गर्न अस्पताल व्यवस्थापन समितिलाई निर्देशन दिए ।
आठवटै जिल्लाका अस्पतालमा देखिएका लापरबाही र बेतिथि अन्त्यका लागि अत्याधुनिक मेसिन मन्त्रालयमै जडान गरी मोनिटरिङ्ग गर्ने तयारी भइरहेको पनि मन्त्री सिँहले जानकारी दिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हासमीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.श्रवणकुमार मिश्र, गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ठाकुरलगायत अस्पताल कर्मचारी , सञ्चारकर्मी र स्थानीयको बाक्लो उपस्थित थियो ।