इमरान खानको पार्टी पिटिआईको वेभसाइट प्रतिबन्धित
इस्लामबाद, २९ माघ ।
निर्वाचनमा धाँधली भएको प्रमाण राखेलगत्तै पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीकए–इन्साफ (पिटिआई) को आधिकारिक वेभसाइट प्रतिबन्धित भएको छ ।
पाकिस्तानको कार्यकारी सरकारले (पिटिआई) को आधिकारिक वेबसाइटमा प्रतिबन्ध लगाएको हो ।
पिटिआईको वेबसाइट insaf.pk मा फारम ४५ अपलोड गरेपछि प्रतिबन्ध लगाइएको जनाइएको छ । पिटिआईले चुनावमा धाँधली भएको प्रमाण पनि आफ्नो वेबसाइटमा अपलोड गरेको थियो ।
पाकिस्तानमा बिहीबार मतदान भएको थियो । मतदान सकिएलगत्तै मतगणना सुरु भएको थियो । शुक्रबार (फेब्रुअरी ९) बिहानसम्म नतिजा आउने विश्वास गरिएको थियो । तर, निर्वाचन परिणाम अझै पूर्ण रूपमा आएको छैन ।
जसका कारण देशभर चुनावी नतिजामा धाँधली भएको आरोप लाग्दै आएको छ । इमरान खानको पार्टी पिटआईका नेताहरूले पनि धाँधली भएको आरोप लगाउँदै अदालत पुगेका छन् । यसअघि पिटिआईले निर्वाचन आयोगलाई निर्वाचनको पूर्ण परिणाम घोषणा नगर्ने भए आन्दोलनको सामना गर्ने धम्की दिएको थियो ।
पार्टीको यो बयानको केही घन्टामै पेशावर र कराँचीमा कार्यकर्ताहरूले नारा लगाएर र पार्टीको झन्डा फहराएर कडा विरोध गर्न थालेका थिए । यसैबीच, पेशावरमा राष्ट्रियसभाको २८ सिट र अन्य विधानसभा सिटमा पनि धाँधली र हेरफेरको विरोधमा विशाल प्रदर्शन भएको छ ।
यति मात्र होइन, पिटआईले सियालकोट, कराची र बलुचिस्तानमा धाँधली गरिएको भिडियो पनि जारी गरेको छ ।
पिटिआई प्रमुख गौहर अली खानले भने कि उनको पार्टीले १७० सीटमा जित हासिल गरेको दाबी गरेका छन । र, यसमा ती सीटहरू समावेश छन् जसमा पिटिआईलाई पहिले नै विजेता घोषित गरिएको थियो । उनले यो पनि दाबी गरे कि पिटिआईसँग मतदान केन्द्रहरूको फारम ४५ प्रमाण छ, जसले पार्टी समर्थित उम्मेदवारहरू जितेको देखाउँदछ, तर रिटर्निंग अधिकारीले उनीहरूलाई असफल घोषित गरेका छन् ।
(न्युज कारखाना)