पारिगाउँका चिकित्सकको चोरी : मुटु दुख्दा आन्द्रासँगै झिकियो पाठेघर

२०८० माघ २९, सोमबार १२:१३
सीमावर्ती भारतीय क्षेत्रका चिकित्सकले अनाहमा शल्यक्रिया गरी एपेन्डिसाइट र पाठेघर झिकिदिएकी महिला । तस्बिर सौजन्य : सरोज राय

अनिलकुमार कर्ण/टोलपडोस
जनकपुरधाम, २९ माघ ।
सामान्य र सजिलै उपचार हुनसक्ने रोगमा पनि बिरामी तथा उनका आफन्तलाई अत्याएर खर्चिलो तथा दिक्कलाग्दो उपचार प्रक्रियामा लैजाने चिकित्सकीय प्रवृत्तिको एउटा कुरूप उदाहरण सार्वजनिक भएको छ ।

स्वास्थ्य अवस्था असजिलो भएको महसुस भएपछि सीमावर्ती भारतीय बजार पुर्याइएकी २० वर्षीया एक नेपाली महिलाको शल्यक्रिया गरी एपेन्डिक्स र पाठेघर हटाइएको छ । पारिका चिकित्सकले पेटभित्र संक्रमण निकै फैलिइसकेको र तत्काल शल्यक्रिया गरी नफ्याँकेमा जीवन नै संकटमा पर्ने भनेपछि ‘अपरेसन’ गराउनु परेको ती महिलाले पुनर्उपचारका क्रममा एक नेपाली चिकित्सकलाई बताइन् ।

‘महिलाको स्वास्थ्यस्थिति अहिले सामान्य छ,’ ती नेपाली चिकित्सकले भने । पेटमा असहजता र पीडा भएपछि एपेन्डिसाइटिस हुनसक्छ । पेटभित्र रहेको ठूलो आन्द्राको पहिलो भागमा रहेको औंला प्रकारको एक मसिनो आन्द्रामा संक्रमणका कारण सुन्निएको र पाकेको स्थितिलाई एपेन्डिसाइटिस भनिन्छ ।

नयाँ खोजबाट यस अंगले आन्द्राका लागि लाभदायक जीवाणु दिने तथा रोगसँग लड्ने क्षमता बढाउने स्थापित भए पनि यस अंगको खासै काम नभएको भनी शल्यक्रियामार्फत हटाएर उपचार गर्ने गरिन्छ । अहिले ल्याप्रोस्कोपी (शरीरमा ससाना प्वाइ बनाई दुरबिनबाट गरिने) विधिबाट यसको शल्यक्रिया गरिन्छ ।

सीमापारिका चिकित्सककहाँ जाँदा ती महिलाको स्वास्थ्यस्थितिका बारेमा सामाजिक अभियन्ता सरोजकुमार रायले लेखेका छन्, ‘सास, मुटुको धडकन तथा पेट भरिने समस्या लिएर डाक्टरकहाँ गएकी थिइन् ।’ जनकपुरक्षेत्रका पुराना र ख्यातिप्राप्त चिकित्सक डा.विजयकुमार सिँहले ती महिलामा भनिएका लक्षणका आधारमा एपेन्डिसाइटिसको समस्या नै भएको किटान गर्न नसकिने बताए ।

एपेन्डिसाइटिस लामो समयसम्म रहँदा यस्ता लक्षण समेत देखिने भए पनि एपेन्डिसाइटिसका यी सामान्य लक्षण नभएको उनको भनाइ छ । ‘यस्तोमा परीक्षणपछि मात्र निक्र्योल गर्न सकिन्छ,’ डा.सिँहले भने, ‘मुटु दुख्दैमा एपेन्डिसाइटिस हो भन्न मिल्दैन । कलेजो तथा मुटुका अन्य रोग पनि हुनसक्छ ।’

अभियन्ता रायले टोलपडोसलाई उपलब्ध गराएको महिला र नेपाली चिकित्सकबीच संवादको भिडियोमा सीमापारिका चिकित्सकको प्राज्ञिक पृष्ठभूमि र तिनले रोग निदानका लागि बिरामीलाई गराएका परीक्षणबारे उल्लेख छैन । तर, संवादबाट भारतीय चिकित्सकले भने शल्यक्रिया नगरे मर्ने डरत्रासमा बिरामीलाई पारेको बुझिन्छ ।

भिडियो संवादमा देखिएका नेपाली चिकित्सकले ती महिलामा शल्यक्रिया गरी पाठेघर नै फाल्नुपर्ने समस्या रहेको ठम्याउन कठिन भएको बताए । अर्थात् बिरामीको स्वास्थ्य पृष्ठभूमि र अहिलेको अवस्थाबाट पाठेघरको शल्यक्रियाको तुक नरहेको उनको भनाइ छ ।

सीमावर्ती भारतीय क्षेत्रमा चिकित्साका नाउँमा ‘दोकान’ चलाएर बस्नेहरूले उपचारका लागि पुग्ने कयौँ बिरामीलाई रोग बल्झिने भय देखाएर सोझै शल्यक्रियामा जाने सल्लाह दिनेगरेका छन् । औषधोपचारभन्दा शल्यक्रियाबाट बढी रकम आउने हुँदा उनीहरूले त्यस्तो गर्नेगरेको आकलन नेपाली चिकित्सकहरूको छ ।

सीमावारिका रोगीहरू गाउँघरकै दलालमार्फत ती भारतीय चिकित्सककहाँ उपचारका लागि पुग्नेगर्छन् । गाउँघरकै मानिसले चिकित्सकका नाम र ठेगाना भनेपछि अझ त्यहाँसम्म पु¥याएर कुरुवाझैँ सहयोग गरेपछि रोगीका लागि उपचार प्रक्रिया पत्यारिलो हुन्छ । तर, बिरामी ल्याउने दलालसमेतलाई मोटो रकम कमिसनका रूपमा दिनुपर्ने हुँदा सीमापारिका चिकित्सकका रोजाइ शल्यक्रिया बन्नपुग्छ ।

शल्यक्रियाबाट एपेन्डिक्स र पाठेघर फ्याँक्दा रोगीका दैनिक जीवनमा जटिलता ल्याउँदैन । दुई बच्चाकी आमा ती महिलालाई वंशवृद्धिका लागि गर्भधारण गर्नैपर्ने बाध्यता नरहेकाले पनि पाठेघर हटाउँदा केही नहुने ठहरका आधारमा ती चिकित्सकले शरीरका दुवै अंग फाल्ने निधोमा पुगेको अनुमान गर्न सकिन्छ ।

‘गाउँकै दलाल भएपछि बिरामीको घरव्यवहार, शैक्षिक, आर्थिक र सामाजिक पृष्ठभूमि चिकित्सकलाई थाहा हुन्छ । अन्यथा गरे पनि अवगाल आउने वा नआउने यकिन उनीहरूले गर्न सक्छन् । त्यसकै आधारमा पैसा कमाउनका लागि अनाहकको शल्यक्रिया गर्न उनीहरू उत्साहित हुन्छन्,’ रगत तथा क्यान्सर रोग विशेषज्ञ डा.अजयकुमार झाले भने ।

ती महिलाको हकमा पनि यस्तै खेल भएको अनुमान डा.झाको छ ।

शरीरमा एपेन्डिक्स र पाठेघरका बीचमा खास दुरी हुन्छ । एपेन्डिक्सको संक्रमण पाठेघरसम्म पुग्दा सम्पूर्ण सामान्यतया पेटभित्र नै संक्रमण फैलिइसकेको र यसबाट बिरामी अन्यन्त नाजुक अवस्थामा चिकित्सककहाँ पुगेको स्थिति रहन्छ ।

‘ती महिलाको सन्दर्भमा यस्तो देखिँदैन । उनी स्वास्थ्यसम्बन्धी सामान्य चिन्ताफिकिर लिएर चिकित्सककहाँ गएकी हुन् । तर, चिकित्सकले संक्रमणबीच साइने नदेखिने एपेन्डिक्स र पाठेघर शल्यक्रिया गरी फ्याक्नु अनौठो लाग्छ,’ डा.झाको भनाइ छ ।

सीमापारका भारतीय चिकित्सकहरूले शरीरमा ठूलो प्वाल पार्ने र लामो समयसम्म शल्यक्रिया गर्ने गर्छन् । यसबाट स्वास्थ्यस्थिति जटिल रहेको र अनाहकको शल्यक्रिया आवश्यक रहेको पुष्टि हुने उनीहरूको बुझाइ छ ।

सानो प्वाल पारिने एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा पेट नै खोलिदिँदा र आधा घन्टाको सट्टा एकघन्टासम्म खोलिएको पेट चियाइरहँदा शल्यक्रिया कक्षबाहिर रहेका बिरामीको आफन्तका मनमा अपरेसन जरुरी रहेका छाप पर्छ । अझ बिरामीसमेत जरुरी शल्यक्रिया गराएको भ्रममा पर्छन् ।

सीमापारिका चिकित्सककहाँ जाने बहुसँख्यक बिरामीमा वैदेशिक रोजगारमा गएकाहरू जहान र अपठित हुन्छन् । गाउँका दलाल र पारिपट्टिका चिकित्सक तिनका अबुझपनाबाट लाभ उठाउँछन् । भारतीय सीमामा हुने चिकित्सकीय हेलचेक्रयाइँ वा नियतवश हुने अपराधमा नेपाली बिरामीलाई कानुनी उपचार पाउन समेत कठिन छ ।

मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति डा.अंकुर साहले मुश्किल भए पनि नेपालीका लागि भारतमा हुने चिकीत्सकीय लापारबाहीको कानुनी उपचार खोज्न सम्भव भएको बताए । उनले एक भारतीय नागरिकले नेपालका चिकित्सकविरुद्ध नेपाल मेडिकल काउन्सिलमा हालसालै उपचारमा लापारबाहीको उजुरी दिएको जानकारी दिए ।

उनले मधेसका बिरामी वर्षौँदेखि पारिका सहरमा उपचार गराउन जाने गरेकाले अहिलेका पुस्तामा समेत त्यो विश्वास कायम रहेको भन्दै नेपालका बिरामीलाई रोगको उपचार नेपालमै र त्यसमा पनि मधेशमै सम्भव भएको भरपत्यार गराउन जरुरी रहेको बताए ।

उनले भने, ‘मधेश प्रदेशका वीरगन्ज, जनकपुर र राजविराजका सरकारी अस्पतालमा राम्रो उपचार भइरहेको छ । जिल्ला तहमा पनि विभिन्न रोगको उपचार हुन्छ । यस विषयमा चाहिँ प्रचारप्रसार गरी बिरामीमा भरोसा जगाउन जरुरी छ ।’

नेपाल मेडिकल एशोसिएसनका केन्द्रीय परिषद् सदस्य डा.सज्जन ठाकुरले नेपालका सहरमा चिकित्सकको सँख्या कम हुँदा उपचारका लागि पारिका सहर जाने परम्परा अहिले पनि सीमावर्ती क्षेत्रमा शेष रहेको भन्दै र तिनलाई लाने स्थानीय दलालले केही दिनअघि मात्र सानीमा वा अन्य कुनै नातेदारका छोराछोरीलाई फलानोढिस्कानो कहाँ लाँदा निको भएको कुरा गर्नेगरेको सुनाए ।

उनले यसलाई रोक्न चिकित्सा क्षेत्रमा क्रियाशील दलाललाई कानुनी तथा सामाजिक कारबाहीको भागीदार बनाउन जरुरी रहेको बताए ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH