कमला सिँचाइको रघुनाथपुर शाखा नहर अध्यक्षमा रामवृज यादव

२०८० माघ २९, सोमबार १८:०२
कमला सिँचाइको रघुनाथपुर शाखा नहर अध्यक्षमा निर्वाचित रामवृज यादवलगायत । तस्बिर : कमला सिँचाइ व्यवस्थापन कार्यालय

टोलपडोस समाचारदाता
जनकपुरधाम, २९ माघ ।
कमला सिँचाइ व्यवस्थापन कार्यालयअन्तर्गत पश्चिमी नहर प्रणालीको रघुनाथपुर शाखा नहरको जलउपभोक्ता समितिका अध्यक्षमा रामवृज यादव सर्वसम्मतले चयन भएका छन् । अध्यक्षमा छनोट भएका यादव सो शाखाअन्तर्गतको पश्चिमी ढोलबाजाप्रशाखाका उपभोक्ता हुन् ।

यसैगरी शाखामा उपाध्यक्षमा लक्ष्मीपुर प्रशाखाका महमुद शेख, सचिवमा बैमर्खा प्रशाखाका राजाराम यादव र कोषाध्यक्षमा बरमझिया ३ प्रशाखाका हरिप्रसाद यादव चुनिएका छन् ।

यसैगरी कार्यकारी सदस्यमा पुरुषतर्फ प्रशाखाहरू बरमझिया २ पूर्वीका श्यामबाबु यादव, रघुनाथपुर २ पश्चिमीका बेचन यादव, बरमझिया ३ का श्रीकृष्ण यादव, बरमझिया २ पूर्वीका लक्ष्मण यादव र कार्यकारी सदस्य महिलातर्फ बरमझिया २ की सुनिता यादव, बरमझिया २ पूर्वीकी अनितादेवी यादव, बरमझिया ३ की रामजितो देवी निर्वाचित भएका छन् ।

यसैगरी मूलसमितिमा पुरुषतर्फ प्रसाही उत्तरीका प्रदीप यादव र रामचन्द्र यादव तथा महिलातर्फ रघुनाथपुर २ पश्चिमीकी अदितिदेवी गडेरी चयनित भएका छन् ।

कमला सिँचाइको पश्चिमी नहर प्रणालीअन्तर्गतको १२ किलोमिटर दुरीमा रहेको रघुनाथपुर नहर शाखाअन्तर्गत एघार प्रशाखा छन् । यो शाखाबाट २५ हजार हेक्टर अर्थात् करिब चार हजार बिघा जग्गामा सिँचाइ हुनेगर्छ ।

कमला सिँचाइको पश्चिमी नहर प्रणालीमा डेढ दशकभन्दा बढी समयदेखि मूल, शाखा तथा प्रशाखाका जलउपभोक्ता समितिका निर्वाचन हुन सकेका थिएनन् ।

कमला सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुखमा डिभिजनल इन्जिनियर वीरेन्द्र यादव पदस्थापित भएपछि गत वर्षबाट गृहकार्य पुरा भई केही समयअघिबाट प्रशाखा हुँदै शाखा नहर प्रणालीका समितिमा चुनाव भइरहेका छन् । यसअघि परवाहा शाखा नहर समितिको निर्वाचन भइसकेको छ ।

आगामी फागुनको मध्यसम्म मूल नहर प्रणालीको जलउपभोक्ता समितिको निर्वाचन भइसक्ने लक्ष्यका साथ शृखंलाबद्ध ढंगले चुनाव भइरहेको कमला सिँचाइ व्यवस्थापन कार्यालय पार्ताहा(धनुषा) का प्रमुख डिभिजनल इन्जिनियर यादवले जानकारी दिए ।

बाँध, कुलो, नहर र सिँचित क्षेत्रका लागि पानी वितरण प्रणालीको निर्माण, सञ्चालन, मर्मतसम्भार र व्यवस्थापनमा सहभागिता र तिनका लागि स्रोत संकलन तथा उपयोग गर्नुका साथै सिँचाइ जलउपभोक्तालाई प्रभावकारी र समानुपातिक ढंगले जलवितरण गर्नु आदि जलउपभोक्ता संस्थाहरूको उद्देश्य हुन्छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH