सञ्चारकर्मीलाई खुट्टी खोलामा अवरोधविरुद्ध बोल्यो महासंघ

२०८० माघ २९, सोमबार २०:३९
नदी दोहकबाट तर्साइएका पत्रकार विनय आजाद र सुरेश राय । तस्बिर : सामाजिक सञ्जाल

टोलपडोस समाचारदाता
सिरहा, २९ माघ ।
नेपाल पत्रकार महासंघ सिरहाले लहान नगरपालिका–१५ स्थित खुट्टी खोलामा समाचार संकलनका लागि गएका पत्रकारलाई भएको अवरोध घटनाप्रति ध्यानाकर्षण जनाएको छ ।

महासंघले सोमबार विज्ञप्ति जारी गरी अवरोधको निन्दा गरेको छ । सरोकारवाला र नियामक निकायको मिलेमतोमै हुँदै आएको अवैध खोला दोहनका विषयमा समाचार संकलन गर्न कान्तिपुर टेलिभिजनका विनय आजाद र हिमालयन टिभीका सुरेश राय गत बुधबार अपराह्न ५ बजेको समयमा खोलामा गएका थिए ।

तर, यो अवैध धन्दा मिडियामा आउन नदिने मनसायले सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म चार लेन राजमार्ग निर्माणको काम गरिरहेको चिनियाँ निर्माण कम्पनी चाइन रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपका कर्मचारी एवम् खोला साइट इन्चार्ज हुस्या छ्याङको निर्देशनमा टिपर र एक्साभेटरले सञ्चारकर्मीद्वयलाई पछ्याउँदै धुलोधुँवा उडाएर, तर्साएर अवरोध एवं आतंक सिर्जना गर्न खोजेका थिए ।

यतिमात्रै होइन, सञ्चारकर्मीद्वयलाई खोलाको अवैध दोहन चलिरहेका स्थलसम्म जान नदिने मनसायले ठेकेदार कम्पनीले सञ्चालन गर्दै आएको क्रसरनजिकै बाटोमा एक्साभेटरले खाल्डो खनिदिएका थिए । महासंघका अध्यक्ष मनोज बनैताद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्नलाई कारबाहीको माग पनि गरिएको छ ।

यस्तै, महासंघले निर्वाध रूपमा समाचार संकलनको वातावरण मिलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न पनि सबैलाई अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH