जनकपुरको देमान पोखरीनजिक सरस्वती पूजाको तयारी तीव्र

२०८० फाल्गुन १, मंगलवार २२:२२
बुधबार मनाइने सरस्वती पूजाका लागि जनकपुरधाम ३ मा पूजनस्थल तयारी गर्दै तिलक युवा कमिटीका युवा । तस्बिर : अनिल

टोलपडोस समाचारदाता
जनकपुरधाम, १ फागुन ।
श्रीपञ्चमी अर्थात् विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी मनाइने दिनका लागि आज जनकपुरधाममा भव्य तयारी गरिँदैछ ।
सहरका टोलमुहल्ला, गल्लीकुच्ची र हाटबजारका साथै विभिन्न शैक्षिक प्रतिष्ठानहरूमा देवी सरस्वतीको प्रतिमाको प्राणप्रतिष्ठासँगै वैदिक पूजाका लागि विद्यार्थीहरूले उत्साह र उमङ्गका साथ पूजनस्थललाई पूर्णता दिन लागिपरेका छन् ।

विशेष गरी शैक्षिक क्षेत्रमा संलग्न भएकाहरूले मनाउने श्रीपञ्चमी प्रत्येक वर्ष मनाइन्छ । जनकपुरधामका ठूला र पुराना केही शैक्षिक संस्थामा सरस्वती मन्दिर नै छन् । मन्दिर नभएका ठाउँमा सरस्वतीको माटाले बनाइएका प्रतिमा राखेर पूजा निकै आकर्षक ढंगले सजाइएको मण्डप तयार गर्ने गरिन्छ ।

विभिन्न समूहमा रहेका विद्यार्थीहरूबीच आकर्षक र पृथक प्रतिमाका साथै निकै सुन्दर र मनोहर देखिनेगरी सजाइएका पूजास्थल तयार गर्न प्रतिस्पर्धा नै हुनेगरेको छ । जनकपुरधामको देमान पोखरी नजिक स्थानीय युवाको एक समूहले आयोजना गर्ने सरस्वती पूजा भने केही वर्षयता सहरकै सबैभन्दा बढी उत्तम मान्ने गरिएको युवा सचिन केडियाले बताए ।

केही वर्षयता पूजास्थल तयार गर्ने सीप, प्रविधि र शैलीमा परिवर्तन आएको छ । बाँसलाई घरेलु लुगाफाटाले घेरिवरि बनाइने पूजास्थल अहिले कतैँ देखिँदैनन् । अहिले फलाम र टिनका मोटा खाम्बाहरूमा रङ्गीचङ्गी कपडा र त्रिपालबाट पूजास्थल बनाउने गरिन्छ । जहाँ सङ्गतिपूर्ण प्रकाश र सङ्गीत सामग्रीको कुशल व्यवस्थापन गरिएको हुन्छ । प्रतिमादेखि लिएर मण्डपभित्रका सामानलाई प्रकाशवान् बनाउने प्रविधि तथा आँखालाई तृप्त गर्ने अन्य चिजबिज राख्ने गरिन्छ ।

सरस्वती पूजा हुने अधिकांश ठाउँमा गीतसङ्गीतको प्रदर्शन गर्ने गरिन्छ । जहाँ विद्यार्थीहरूले आआफ्ना कला प्रदर्शन गर्छन् । तर, पछिल्लो समय भने अश्लील गीतमा उत्तेजक नाचगान हुने भद्दा दृश्य पनि देखिन थालेका छन् । विद्यार्थीहरूले छोटा र असुहाउँदा पोसाक पहिरेर पूजाका दिन हिँडडुल गर्न थालेका छन् । यस्तो विकृति रोक्न यसपटक विद्यालयहरूले पूजाका दिन औपचारिक पोसाक लगाउन विद्यार्थीलाई उर्दी जारी गरेका छन् ।

स्थानीय प्रशासनले पनि अश्लील गीतसङ्गीतसहितको डिजे बजाउन निषेध गरेको छ ।

सरस्वतीलाई देवीहरूकी पनि देवी अधिष्ठात्रीका रूपमा लिने गरिन्छ । सरस्वती माताको स्वरूपले धेरै अर्थ राख्दछन् । उनको प्रतीकात्मक चित्र, बाहन, हातमा लिएका वाद्ययन्त्र सबैले खास अर्थ बोक्छन् । उनले हातमा लिएको वीणाबाट जीवन धुनझैं मधुर र लयबद्ध हुनुपर्छ भन्ने बुझिन्छ ।

कलाले जीवनलाई संगीतमय र आनन्ददायक बनाउँछ । पुस्तकले विद्याको र मालाले निष्ठा र सात्विकताको अर्थ बोध गराउँछ । उनले बोकेको किताबले सत्यताको, ज्ञानको बोध गराउँछ भने उनको जपमालाले अनुशासन, मनन र ध्यानाकर्षण बताउँछ ।

सरस्वतीको तस्विरसँगै राजहंस देखिन्छ । राजहंस सरस्वतीको वाहन हो । राजहंसलाई आफ्नो वाहन बनाएर दिव्य ज्ञानले अभिसिञ्चित मानिस राजहाँस जस्तै दूधको दूध पानीको पानी छुट्याउन सक्ने विवेकी बन्न सक्छ भन्ने संकेत गरिएको छ ।

उनले लगाएको सेतो साडी शुद्धताको प्रतीक मानिन्छ । सरस्वती सेतो कमलमा बसेकी हुन्छिन् । त्यो सेतो कमलले सफा र शुद्ध हुनुको बोध गराउँछ । त्यस्तै हाम्रो वरपर पनि कुनै नराम्रो अथवा नकारात्मक कुराले असर नगरोस् भन्ने सकारात्मक जानकारी सेतो कमलले दिन्छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा तथा उपासना गर्नाले सबै प्रकारका ज्ञान, सिद्धि र सद्बुद्धि हासिल हुन सक्ने भनेर उल्लेख गरिएको पाइन्छ, जसका कारण पनि सरस्वती पूजाको महत्व बढ्दै गएको आँकलन गर्न सकिन्छ ।

गान्धर्व पुराणलाई आधार मान्ने हो भने आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुने मान्यता रहेको पाइन्छ । विशेषगरी, श्रीपञ्चमीको दिनलाई विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरेर मनाउने परम्परा रहँदै आएको हुनाले सरस्वती माताको पूजा–अर्चना गरे विद्या र बुद्धि बढ्ने आमविश्वास रहेको छ ।

यो पवित्र दिनमा लेखपढ गर्न सिकाए राम्रो विद्या, बुद्धि र ज्ञान आउने मान्यताका कारण विद्यालयमा नपठाइएका स–साना बालबालिकाहरुलाई यसैदिनमा अक्षरारम्भ गराउने प्रचलन रहिआएको छ, यसर्थ पनि सरस्वती पूजाको महत्व बढेको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH