मधेश प्रदेश : सङ्कटमा सरोज सरकार ! केन्द्रीय गठबन्धन बैठक भोलि

२०८० फाल्गुन २, बुधबार ११:४९

‘सहमति नभए सरकार कामचलाउमा परिणत हुन्छ’

टोलपडोस समाचारदाता
जनकपुरधाम, २ फागुन ।
विश्वासको मतका लागि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रस्ताव गरेका फागुन ४ को मितिलाई सत्तारुढ दलहरूले अस्वीकार गरेका छन् । सरकारबाट जनमत पार्टीको बहिगर्मनसँगै मुख्यमन्त्री यादवले आफू नेतृत्वको सरकारको निरन्तरताका लागि आगामी फागुन ९ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

सरकार सञ्चानका स्वरूप र शैलीबारे सहमति नभएसम्म मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने अडान लिँदै आएका मधेश प्रदेशमा सहभागी दलहरूले यथास्थितिमा परिवर्तन नआए यादव सरकारलाई कामचलाउने सरकारमा परिणत गर्ने चेतावनी दिएका हुन् ।

मधेश प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहले सरकारमा सहभागी दलहरूबीच ठोस र बुँदागत सहमति नहुँदासम्म फागुन ४ गते मात्र होइन ९ गते पनि विश्वासको मत दिने पक्षमा आफूरू नरहेको बताए ।

उनले आलोपालो सरकारको नेतृत्व गर्ने, महत्वपूर्ण मन्त्रालयमा दलीय भागबन्डा र राजनीतिक नियुक्ति आदि विषय टुङ्गो नलाग्दासम्म मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने स्थिति नरहेको सत्तारुढ दलहरूको निष्कर्ष साझा गरे ।

प्रदेश सरकारको नेतृत्व गर्ने जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसँगै प्रदेशका शक्तिशाली मन्त्रालय आफैँसँग राखेको र अन्य मन्त्रालयका कामकाज समेत प्रभावकारी बन्न दिएको आरोप सरकारका अन्य साझेदार दलहरूले लगाउँदै आएका छन् ।

प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टीकी प्रमुख सचेतक रानी तिवारीले अहिलेको सरकार जसपाको मात्र रहेको छनक दिनेगरी सञ्चालन भइरहेकाले सरकारलाई संयुक्त प्रकृति र चरित्रको बनाउने विषयमा छलफल नहुँदासम्म विश्वासको मत नदिने बताइन् ।

सरोज सरकारलाई अहिले जनमतबाहेक प्रदेशसभाका सबै दलले समर्थन गरिरहेको छ । प्रदेशसभाको हङ्ग प्रकृतिका कारण सरकार जोगाउन सरकारमा सहभागी सबै दललाई मिलाएर लैजानुपर्ने स्थिति छ । मुख्यमन्त्रीको यादवले अन्य दलका नेतृत्वलाई उपेक्षा गर्दै आफ्नो दलका अध्यक्षलाई सरकारकै इन्चार्जका रूपमा प्रस्तुत गर्ने स्थितिले पनि सरकारमा थप चार दल रहेको अनुभूति आफूहरूले नगरेको तिवारीको भनाइ छ ।

नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता साहले केन्द्रीय वा प्रादेशिक जुनसुकै तहमा भए पनि विश्वासको मतका लागि दलीय सहमति आवश्यक रहेको भन्दै मधेशमा आलोपालो सरकार सञ्चालन गर्ने कुरालाई जसपा नेपालले विभिन्न निहुँमा टारिरहेको आरोप लगाए ।

उपनिर्वाचन, उपराष्ट्रपति निर्वाचनलगायत कयौँ राजनीतिक प्रक्रियापछि सरकारको नेतृत्व परिवर्तन गर्ने प्रतिबद्धता जनाए पनि जसपा नेपालले यस विषयलाई विभिन्न निहुँमा आलटाल गरिरहेको उनको कथन छ ।

नेता साहको बुझाइमा फागुन ४ गते विश्वासको मत लिने भनिए पनि यसलाई अन्तिम समयसम्म टारेर पछि सहमति गरौँला भनी विश्वासको मत लिने दाउमा जसपा नेपाल रहेको छ । ‘यसघि पनि यस्तै भएको हो, यसपालि भने बिनासहमति विश्वासका मत दिन्नौं,’ साहले टोलपडोसलाई भने ।

संयुक्त सरकारमा जसपाको वर्चस्व र मुख्यमन्त्रीको ‘मनोमानी’ विरुद्ध पसत्तारुढ दलका प्रदेश तहका नेताहरू मुखर भएका बेला मुख्यमन्त्री यादव विश्वासको मतका लागि गठबन्धन दलका अध्यक्षहरूसँग काठमाडौँमा भेटेका छन् । भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्वासको मत दिन समस्या नरहेको आश्वासन मुख्यमन्त्री यादवलाई दिएका बताइएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले त्यस विषयमा आफ्नै पार्टीका प्रादेशिक तहका नेताहरूसँग ठोस धारणा व्यक्त गरेका छैनन् । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने काठमाडौंमा भेट्न पुगेका आफ्ना कार्यकर्ताहरूसँग सरोज सरकारको आयु फागुनसम्म रहेको बताउँदै आएका छन् ।

सरकार आलोपालो सञ्चालन भए सत्ता साझेदारमध्ये ठूलो दल भएकाले नेपाली काँग्रेसले नेतृत्व गर्ने दाबी बलियो हुनेछ । काँग्रेसका तर्फबाट संसदीय दलका नेता एवम् सरोज सरकारका भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादव मुख्यमन्त्रीका दाबेदार छन् ।

काँग्रेस संसदीय दलका नेता यादवले भने केन्द्रीय गठबन्धनको निर्देशनअनुसार अहिलेको सरकारलाई विश्वासको मत दिने वा नदिने कुराको निक्र्योल हुने बताउँदै आएका छन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले फागुन ३ गते (भोलि) बस्ने केन्द्रीय गठबन्धन बैठकले विश्वासहितका विषयमा छलफल हुने जानकारी दिए । उनले मधेश प्रदेशको अहिलेको सरकारले विश्वासको मत पाउनेमा द्विविधा नरहेको बताए ।

स्रोतका अनुसार संघ सरकार, कोसी तथा लुम्बिनी प्रदेश सरकार गठनमा जसपा नेपालको भूमिका निर्णायक भएकाले मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने निर्णय नभई सबै दललाई महत्व दिई सरकार प्रभावकारी ढंगले सञ्चालन गर्ने सहमति गठबन्धन बैठकमा हुनेछ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH