मधेशका एक मेयरको सुपारी लिने सुटर पक्राउ
न्युज कारखाना
रौतहट, २ फागुन ।
रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तामिलनाडुबाट पक्राउ गरिएको छ ।
मेयर साहको हत्या गर्न भारतका कुख्यात अपराधी चंचल पाण्डेलाई सुपारी दिइएको प्रहरीे अनुसन्धानबाट खुलेपछि सुपारी लिने सुटरलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो ।
बाराको कलैयामा रहेको बाल एकता इंग्लिस बोर्डिङ्ग स्कूलका सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्या कान्डमा पक्राउ परेका भारतीय सुटर सुजित सिंहले दिएको मेयर साहको हत्या गर्न पाण्डेले सुपारी लिएको प्रहरीलाई बताएका थिए ।
रूपेश सरार्फ हत्याकान्डमा मनोज गुप्ता, अरुण यादव तथा सुजित सिंहलगायतका कुख्यात अपराधीहरू पहिले नै पक्राउ परिसकेको र हत्याको मुख्य अभियुक्त चंचल पाण्डे रहेको अनुसन्धान पछि खुलेको र प्रहरीले पाण्डेको खोजी तदारुकताका साथ गर्न थालेपछि अपराधी भारतको तामिलनाडुमा लुकेर बसेको एक अनुसन्धानपछि जानकारी आएको थियो ।
सरार्फ हत्याकान्डमा पक्राउ परेका सिंहले मेयर साहको हत्या गर्न ३६ लाख ने.रु.मा ‘डिल’ भएको र पाण्डेले आधा रकम लिइसकेको अनुसन्धानको क्रममा खुलासा भएको थिए ।
रूपेश हत्याकाण्डमा पक्राउ परेका सिंहपछि प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका पाण्डे भारतको तमिलनाडुमा लुकेर बसेको जानकारीपछि नेपाल प्रहरी र तमिलनाडु प्रहरीले संयुक्त अपरेसन थालेर पक्राउ गरेको थियो । संयुक्त अपरेसनमा पक्राउ परेका पाण्डेलाई नेपाल ल्याएर थप अनुसन्धान थालिने बताइएको छ ।
गौर नगरपालिकाका मेयर साहको हत्या गराउन पाण्डेलाई कसले र किन रकम उपलब्ध गराएको हो भन्ने खुलिसकेको छैन ।
प्रहरीले मेयर साहको हत्या योजना बनाउने तथा हत्या गर्न रकम डिल गरी १८ लाख रुपैयाँ अपराधीलाई समेत बुझाउने व्यक्ति वा गिरोहमा को–को छन् भन्ने केही दिनमै खुल्ने बताइएको छ ।
यसबारे गौरका मेयर साहले आफू अलिकति पनि विचलित नभएको र प्रहरीले आफ्नो काम गरिरहेको प्रतिक्रिया दिए ।