‘होस गर्नुस्, मधेस भवन जाने चक्करमा जान सक्छ ज्यान !’
टोलपडोस समाचारदाता
जनकपुरधाम, २ फागुन ।
मधेश सरकारको जनकपुरधामस्थित मुख्य प्रशासनिक केन्द्र मधेस भवन जाँदै हुनुहुन्छ ? त्यो पनि दुईपाङ्ग्रे वा चारपाङ्ग्रे सवारीसाधनमा । मूल प्रवेशद्वार छिरेपछि एउटा आवाज आउँछ र तपाईँ त्यो आवाजका भरमा तपाईँ अचानक दाहिने मोडिनुहुन्छ । अनि अघिपछिबाट आएका अर्का सवारीसाधनसँग ठोक्किन सक्नुहुन्छ ।
हो, तत्कालीन जनकपुर चुरोट कारखाना लिमिटेड र अहिलेको मधेश भवनमा तीन नम्बर गेटबाट प्रवेश गर्दा देब्रेपट्टि सुरक्षा पोस्ट छ । त्यसअगाडि हतियारसहित सुरक्षाकर्मी हुन्छन् । सडक पेटीमा अर्का एक–दुईजना सशस्त्र सुरक्षाकर्मी तैनाथ हुन्छन् । तपाईँले सुन्ने भनेको तिनकै आवाज हो ।
तिनले तपाईँलाई सीधा सामुन्ने सडकको दाहिनेपट्टि रहेको गोलघरमा नाउँ लेखाएर मात्र भित्र प्रवेश गर्न भन्छन् । तपाईँ आफ्नो कर्तव्यबोध गर्दै गाडी लिएरै बाटोको दाहिनेतिर गाडी पार्किङ गरी ओर्लेर ‘इन्ट्री’ गर्न पुग्नुहुन्छ । त्यति नै बेला घुमाउँदा वा दाहिनेतिर पार्किङ अवस्थामा तपाईँको गाडीमा अगाडि वा पछाडिबाट आउने अर्का गाडी ठोक्किने भवितव्य हुनसक्छ ।
नेपालमा बाटोको देब्रेछेउ भएर सवारीसाधन चलाउनुपर्ने नियम छ । नियमविपरीत गलत दिशामा सवारीसाधन गुडाउनु दण्डनीय छ ।
प्रवेशद्वारको देब्रेतिर रहेको सुरक्षापोस्टको रेखामा पार्किङ गर्ने ठाउँ छैन । कथंकदाचित देब्रेपट्टि सडकमै गाडी पार्क गरेर दाहिने रहेको गोलघरमा पुग्न बाटो काट्नु भयो भने पनि तपाईँ दुर्घटनाको जोखिमबाट मुक्त रहनुहुन्न । सडकमा बाटो काट्न प्रयोग हुने संकेत गर्ने ज्रेब्राक्रसको चिह्न छैन । देब्रेपट्टिको सुरक्षा प्वाइन्टसँगैे सवारी प्रवेशद्वार तर्फ फर्केको काम नगर्ने सवारीसाधन स्क्यानर छ ।
बाटो बनेपछि मन्त्रालय तथा मुख्यमन्त्री, मन्त्री तथा कर्मचारीको आवासीय क्षेत्रमा प्रवेश गर्न केही महिनाअघि मात्र दोस्रोपटक सर्वसाधारणको प्रवेशका लागि गेट नम्बर ३ खोलिएको छ । यो गेट भएरै मन्त्री, कर्मचारी, सेवाग्राही र आवासीय भवन प्रयोगकर्ताहरू मधेश भवनमा आवतजावत् गर्नेगर्छन् ।
तर प्रवेशद्वारमा रहेका ‘इन्ट्री’ गर्ने गोलघर दाहिनेपट्टि हुँदा यो ठाउँ दुर्घटनाको उच्च जोखिममा छ । अनुपयुक्त ठाउँमा इन्ट्री विवरण राख्ने गोलघर निर्माण हुँदा प्रवेशद्वार नै दुर्घटना सम्भावित क्षेत्रमा परिणत भए पनि सम्बद्ध निकायको ध्यानाकर्षण हुन सकेको छैन ।
तीन नम्बर गेट भएर मधेश भवनभित्र सरकारी साधनमा पुग्ने मन्त्री र कर्मचारीको प्रवेश निर्वाध छ । निजामती पोसाक वा सेतो प्लेट भए रोकटोक हुँदैन । परिचयपत्र पनि झुन्डाउनु पर्दैन । तर, सर्वसाधारणका लागि भने दाहिनेतर्फको गोलघर पुगेर नाम, गाडी नम्बर, मोबाइल फोन सम्पर्क नम्बर, जाने ठाउँ आदि जानकारी गोलघरका सुरक्षाकर्मीलाई टिपाउनुपर्छ ।
बुधबार गेटमा भेटिएका एक सर्वसाधारणले निलो पोसाक र नम्बर प्लेट खुइलिएर सेता देखिने नम्बरप्लेटका सवारीसाधनमा भएकासँग विवरण नलिइँदा सुरक्षा जोखिम बढ्न सक्ने आकलन गरे ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी निरकुमार विश्वकर्माले दाहिनेपट्टिको गोलघर पैदलयात्रुको इन्ट्री प्वाइन्ट रहेको बताए । खासमा देब्रे अर्थात् गेटको पश्चिमी सटर नखुल्दा पैदलयात्रुका लागि दाहिने अर्थात् सडक पूर्वको पेटी प्रयोग गरी मधेश भवन पस्नुको विकल्प छैन । सूचना अधिकारी विश्वकर्माले प्रवेशद्वार नजिकका अधुरा भएकाले समस्या आएको र पुरा हुनेबित्तिकै ती जम्मै समस्या समाधान हुने जानकारी दिए ।
मधेश भवनभित्रको बाटो कृष्णा कन्सट्रक्सनले बनाएको छ । गेट, सुरक्षापोस्ट लगायतका संरचना भने भौतिक पूर्वाधार विकास मन्त्रालयले अर्को टेन्डरमार्फत बनाउन लगाएको छ । बनाइएयता नै मूल प्रवेशद्वार पुरा खुल्दैन । प्रवेशद्वारको पश्चिमी सटर राम्ररी नखुल्दा सवारीसाधन स्क्यानरको प्रयोग भइरहेको छैन ।
गेटमा विद्यमान सुरक्षा र ट्राफिक संवेदनशीलता र जोखिम हटाउनेबारे जानकारी लिन खोज्दा प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा दोस्रोपटक सचिवमा पदस्थापित भएका जेठा सहसचिव वीरेन्द्रकुमार यादवले फोन काटे ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित्त सचिव सिनियर डिभिजनल इन्जिनियर सरोजकुमार गोइतले स्क्यानरको प्रयोगबारे गृहसचिवले ध्यानकृष्ट गराएको र प्राविधिकसँग सल्लाह गरी भोलि बिहीबार नै समस्या समाधान गरिने बताए ।
उनले प्रवेशद्वारमा गलत छेउमा गएर इन्ट्री गराउने स्थिति अन्त्यका लागि गोलघर देब्रेपट्टि सार्ने विषयमा गृहका अधिकारीहरू छलफल गर्ने जानकारी दिए ।