१४ महिनाको जेलपछि मटिहानी मानमहन्थ निर्दोष ठहर
टोलपडोस समाचारदाता
जनकपुरधाम, २ फागुन ।
सरकारी छाप दस्खत लिखत कीर्ते मुद्दामा पुर्पक्षका लागि गत १४ महिनादेखि भैरहवा कारागारमा रहेका राजगुठी मटिहानीका मानमहन्थ जगरनाथ दास वैष्णव निर्दोष ठहर भएका छन् ।
जिल्ला अदालत रूपन्देहीले मानमहन्थ दासलाई बुधबार निर्दोष ठहर गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीको इजलासले जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको सहीछाप कीर्ते गरी रोक्का गरिएको बैंक खाता खुलाएको मुद्दामा दासमाथिको अभियोग दाबी नपुगेको फैसला बुधबार सुनाएको छ ।
यसअघि सोही मुद्दामा अभियोगपत्र दायर भएपछि अदालतले दासलाई गत २०७९ साल पुस महिनामा भैरहवा कारागार पठाएको थियो ।
महन्थ दासले रूपन्देहीको आफ्नो नाउँमा रहेको जग्गा बिक्री गरी खातामा ७० लाख रुपैयाँ राखेका थिए । जग्गा बिक्रीसम्बन्धी उजुरीका आधारमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले दासको खाता रोक्का गरेको अवस्थामा तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारीको नक्कली हस्ताक्षरका आधारमा खाता रोक्का फुकुवा गराई रकम झिकिएको थियो ।
महन्थ दासले फर्जी दस्खतबाट खाता फुकुवा र आफ्नो हस्ताक्षर रहेको चेकबाट आफ्ना चेलाहरू श्रवण यादव र उपेन्द्रकुमार साहले रकम निकासा गरेको भनी अदालतमा प्रतिरक्षा गरेका थिए ।
धनुषा निवासी यादव र साह अदालतमा हाजिर नभएको सो मुद्दामा दासका कानुन व्यवसायी रहेका अधिवक्ता विमल मिश्रले बताए ।