यहाँ छ मधेश : क्रियाकर्म बार्दा/छोट्याउँदा विस्थापनका चार दशक
विशाल बस्नेत
महोत्तरी, ३ फागुन ।
चार वर्षअगाडि बाराको सुवर्ण गाउँपालिका–६ धर्मपुर टोलका अवधेश यादवको परिवारलाई सामाजिक बहिष्कारको शिकार बन्नुपर्र्यो । यसको एकमात्र कारण थियो, बुवा अनुठा यादवको मृत्युसंस्कार सात दिनमात्र गर्नु ।
यादव परिवारमा नौजना सदस्य छन् । यादवले त्यसको सजाय सामाजिक बहिष्कारका रूपमा मात्र भोगेनन्, उनी गाँउबाट नै विस्थापित भए ।
पहाडका धेरै ठाँउमा पुराना संस्कारविरुद्ध विद्रोह सुरु भए पनि मधेशका देहातमा भने यसलाई अनौठो र दुस्साहसका रूपमा लिइन्छ । जसको परिणाम निकै कठोर र दर्दनाक हुन्छ भन्ने कुरा यादवले पाएका सामाजिक सजायका घटनाबाट पुष्टि हुन्छ ।
यस्तै अर्को घटना छ, महोत्तरीको महोत्तरी गाउँपालिकास्थित रतिबाडामा भएको । केही साताअगाडि मृत्यु भएकीे आमा शिवज्योति यादवको मृत्युसंस्कार बहिष्कार गरेपछि कान्छो छोरा शंकर राय चौथोपटक सामाजिक बहिष्कारको शिकार बनेको खुलासा भयो ।
भनिन्छ, कुनै पनि संस्कार धर्मनिर्देशित हुन्छन् । धर्मकर्ममा निकै आस्था राख्ने मधेशको सुदूर देहात रतिवाडामा रायले गरेको धार्मिक कर्म बहिष्कार अहिले मधेशमा चर्चाको विषय बनेको छ ।
अझ अचम्मलाग्दो त कहाँनिर छ भने रायको यस्तो विद्रोह न यो पहिलो हो न त त्यसको सामाजिक परिणाम नै । उनले जहिलेबाट संस्कार सुधारमा जोड दिए, त्यतिबेलादेखि नै सामाजिक बहिष्कारको सजाय भोगेका छन् । जसको कडी ४० वर्षसँग जोडिएको छ ।
धर्मकर्मकै विश्वासका साथ विकसित समाजमा रायले चार/चार पटकसम्म कसरी सामाजिक बहिष्कारको सजाय भोग्नुपर्र्यो त भन्ने कुरा कौतहुलको विषय बन्न सक्छ । २०३८ सालदेखि नै वामपन्थ मार्गप्रति आस्थावान् रायले धर्मका नाममा हुने फजुल खर्च अवैज्ञानिक भएको भन्दै गाउँमा जागरण सुरु गरेका थिए ।
त्यसैकारण पहिलोपटक सामाजिक बहिष्कार भोगेका रायले भोग्नुपरेका बहिष्करणका कथा थपिँदैछन् । तर, आफ्ना विश्वास र बुझाइप्रति अविचलित उनको यात्रा अहिलेसम्म जारी छ । आमाको मृत्यु संस्कार वहिष्कार पनि यसैको निरन्तरता हो । पछिल्लोपटक उनले भोगेका बहिष्करण चौथो पटक हो ।
२०५४ सालमा रायको दोस्रो सांस्कृतिक विद्रोह
२०५४ सालमा रतिवाडामा नै रायको काकीको निधन भयो । त्यतिबेला पनि रायले क्रियाकर्म गर्न मानेनन् । दाजुभाइले गरे, तर उनले काकीको क्रियाकर्ममा लाग्ने खर्च गाउँकै एक विद्यालयलाई दान गरे । तात्कालीन समयमा २४ हजार ९ सय रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरेर दुई विद्यार्थी बस्ने २ कोठा निर्माण भयो ।
‘जुन अहिले काकीको सम्झना जीवन्त बनाइरहेको छ,’ उनले भने, ‘बाहुनहरूलाई गरिने खर्च सामाजिक काममा किन नलगाउने भन्ने उद्देश्यले त्यतिबेला पनि मैले सांस्कृतिक विद्रोहको सुरुआत गरेको हुँ ।’
तर, यो विद्रोह रायका लागि निकै महँगो बन्यो । दाजुभाइबाट बहिष्कार सहनुपर्र्यो । छोएका खाना गाउँमा चल्न छाड्यो । गाउँ प्रवेशमा निषेध गरियो । यसका बाबजुद पनि संस्कारका नाममा हुने फजुल खर्च गलत छ भन्ने रायको विश्वास डगमग भएन ।
गाउँमा बस्न नसकेपछि जनकपुरमा
पारिवारिक दबाब, सामाजिक अपहेलना तथा बहिष्कारका रतिवाडावाट उनी विस्थापित भए । सामूहिक सोचविपरीत जहिल्यै फरक मत राखेकै आधारमा एक्लिएपछि गाउँ नै छाड्न बाध्य बन्नुपरेको राय बताउँछन । तर, परिवारको भित्री माया भने रायले सधैँ महसुस गरिरहे ।
मृत्युअघि आमा शिवाज्योति पनि रायसँगै बसेकी थिइन् । जेठा दाइ देवेन्द्र राय रातिबाडामा नै बस्छन् । दाजु देवेन्द्रले भाइको स्वतन्त्रतामा कहिल्यै हस्तक्षेप गरेनन्, बरु भाइ शंकरले भातिजाहरूको व्रतबन्ध नै नगर्ने निष्कर्षमा पुगेपछि कान्छोलाई भने भारतको वैधनाथधाममा पुगेर जनै लगाइदिएका थिए ।
छोराहरूकै कारण तेस्रोपटक परिवारलाई निषेध
रायका दुई छोरा छन्, प्रवेश राय र अभिलव राय । रायलाई गाउँमा निषेध गरे पनि दाजु देवेन्द्रको सामाजिक सघाउनीले परिवारलाई हेर्ने दृष्टिकोण भने अलि फरक थियो ।
एकदिन प्रवेश र अभिलव रतिवाडा गएका थिए । ‘गाँउमा एक ठाँउमा बंगुर काटिएछ,’ रायले भने, ‘छोराहरूलाई मासु खान मन लागेपछि गाउँमा नै बंगुरको मासु खाएछन्, यसैलाई लिएर मलाई हेर्ने दृष्टिकोण सामाजमा थप साँघुरो बन्यो ।’
कथित जातीय व्यवस्थाका कारण खानामा समेत बर्गीकरण हुनु रायलाई मन पर्दैनथ्यो । मानिसको इच्छालाई जात व्यवस्थाकै कारण निषेध गर्नु रायका लागि असह्य नै थियो ।
बंगुरको मासु छोराले खानु रायका लागि अर्को सामाजिक विद्रोह बन्यो । छोराले बंगुरको मासु खाएपछि रायले समाजलाई भड्काउने र धर्मलाई निस्तेज बनाउने काम गर्दैआएको पुष्टि गर्न समाजलाई पनि सजिलो भयो । राय फेरि पनि असामाजिक र धर्मविरोधीका रूपमा रतिबाडामा चिनिए ।
४० वर्षपछि सामाजिक सजायबाट मुक्ति
वैज्ञानिक चेतनाका नाममा धर्म र संस्कार मास्ने काम गरेका भन्दै २०३८ सालदेखि नै सामाजिक बहिष्कारको सिकार बनेका शंकर राय २०५४ सालमा काकीको क्रियाकर्म बहिष्कार गरेपछि थप घेराबन्दीमा परे ।
समाज रायका लागि कठोर र निर्दयी बन्यो । तर, रायले सोही ठाउँमा सामाजिक कार्यलाई सधैँ निरन्तरता दिइरहे । उनकै पहलमा भजन गर्ने मन्दिर मात्र बनेन, विद्यालय र केही विकासका कामसमेत हुन थाले ।
जसकारण पछिल्लो पुस्तामा उनीप्रति सहानुभूति बढ्दै गयो । संस्कारका नाममा हुने फजुल खर्च र विधिविधान कम गर्नुपर्छ भन्ने उद्देश्यले रायले थालेका विद्रोहलाई स्थानीय युवाले भित्री रूपमा साथ दिन थाले ।
‘२०३८ सालदेखि भोग्दैआएको सामाजिक बहिष्कार २०७८ मा आएर फुकुवा भयो,’ रायले भने, ‘युवाकै कारण ४० वर्षपछि मलाई गाउँका विवाह तथा धार्मिक संस्कारमा बोलाउन थालियो ।’
आमाको मृत्युसंस्कार गर्न नमान्दा पुनः बहिष्कार
धार्मिक तथा सांस्कृतिक परम्पराको परिबन्दमा परेको समाजको धारणा अन्यथा भए पनि रायले भने आफूलाई धर्मपक्षधर नै भएको दाबी गर्छन् ।
‘समाज रूपान्तरणको लागि धर्म आवश्यक छ । तर, धार्मिक कार्यको शैलीमा सुधार गर्दै लैजानुपर्छ भन्ने मेरो मान्यता छ,’ राय भन्छन्, ‘म धर्मविरोधी पटक्कै हैन । तर, धर्मभित्र विकसित कतिपय अन्धविश्वास र संस्कार आम मानिसका लागि पीडादायी छन् ।’
यही चेतका कारणले रायले केही साताअगाडि मृत्यु भएकी आमाको क्रियाकर्म नै गरेनन् । सुरुमा रायले आफ्ना दाइ देवेन्द्रलाई पनि क्रियाकर्म नगर्न सहमत बनाएका थिए ।
तर, सामाजिक दबाबले दाइले भने रतिबाडामा नै आमाको १३ दिनसम्म क्रियाकर्म गरे । धार्मिक मान्यताअनुसार दाइसँगै क्रियामा बस्नुपर्ने राय जनकपुरमा नै बसे । दैनिक पण्डित बोलाएर गर्नुपर्ने काममा खर्च हुने पैसा रायले मानवसेवा आश्रममा दान गरे ।
(न्युज कारखाना)