टोलपडोस समाचार प्रभाव : मधेश भवनमा बदलियो इन्ट्री पोस्ट
ठेकेदारले अटेर गर्दा सञ्चालनमा आएनन् सुरक्षा उपकरण
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३ फागुन ।
मधेश प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मधेश भवनको मूल प्रवेशद्वारमा सर्वसाधारणका नामसहितको अन्य विवरण ‘इन्ट्री’ गर्ने ठाउँ परिवर्तन गरिएको छ । दक्षिणतर्फ फर्केर रहेको मधेश भवनको ३ नम्बर गेटस्थित ‘इन्ट्री’ गर्ने गोलघर बाटाका दाहिनेपट्टि रहेको थियो ।
जसले गर्दा नियमअनुसार बायाँ हुँदै गुड्ने सवारीसाधन तथा तिनमा सवार व्यक्तिले इन्ट्री गराउने प्रयोजनले दाहिने मोडिँदा वा जेब्राक्रस चिह्नसमेत नभएको बाटो काट्न खोज्दा दुर्घटनाको अत्यधिक जोखिममा पर्ने समाचार टोलपडोसले बुधबार साँझ प्रकाशन गरेको थियो ।
समाचार प्रकाशित भएपछि मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले मधेश भवन प्रवेश गर्दा दाहिनेतर्फ रहेको गोलघरमा बस्ने सुरक्षाकर्मीलाई देब्रेपट्टिको सुरक्षा पोस्टतिरबाट सर्वसाधारणका विवरण संकलन गर्न निर्देशन दिएको छ । योसँगै धेरै अगाडिदेखि प्रवेशद्वारमा सुरक्षा सोधपुछ तथा समन्वय गर्ने दाहिनेपट्टिको गोलघर प्रतीक्षालयमा परिणत भएको छ ।
प्रदेश मुख्यालयको मूल प्रवेशद्वारमा सेवाग्राहीका नामसहितको विवरण इन्ट्रीका लागि नेपाल प्रहरी खटिएका छन् भने अन्य सुरक्षाका लागि सशस्त्र प्रहरी तैनाथ छ । केही समयसम्म प्रवेशद्वार अगाडि नियमित रहने ट्राफिक प्रहरी त्यहाँबाट हटाइएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख एवम् प्रहरी निरीक्षक शेखर साहले मधेश भवनको प्रवेशद्वारमा नियमित रूपमा कहिल्यै ट्राफिक प्रहरी नखटाइएको बताए । उनले भने, ‘अन्यत्रबाट खटाइएको होला भन्ने हामीलाई थाहा छैन, तर हामीकहाँबाट पठाइएको छैन ।’ तर, प्रहरी निरीक्षक साह धनुषामा पदस्थापित हुनु केही सायअघिसम्म गेटमा ट्राफिक प्रहरी खटिने गरेका थिए ।
‘बाँयाबाट आएर दाहिने मोडिँदै इन्ट्री गराउने र त्यस प्रयोजनका लागि सडकको दाहिने छेउमा गाडी पार्किङ्ग गर्दा वा देब्रेतिर गाडी पार्किङ्ग गरी दाहिनेको गोलघरमा आउँदा दुर्घटना हुने टोलपडोस डटकमको ‘कन्सर्न’ पछि हामीले बिहीबारबाट नै देब्रेतिरै इन्ट्री स्थललाई देब्रे नै सारेका छौँ,’ प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित्त सचिव सरोजकुमार गोइतले भने ।
बिहीबार प्रहरी सुरक्षाकर्मीले देब्रेपट्टि नै इन्ट्री गरिरहेका छन् । तर बनाउने बेलामै समस्या भएकाले गेटको पश्चिमी सटर पुरा खुल्दैन । जसले गर्दा पैदलयात्रुका लागि मूल गेटसँगैको देब्रेपट्टिको सानो गेट प्रयोगविहीन अवस्थामा रहेको छ ।
सर्वसाधारणका लागि मधेश भवन प्रवेश गर्दा सडकपेटीमा राखिएको मेटल डिटेक्टर गेट समेतको उपयोगिता छैन । त्यसअगाडि रहेको सवारीसाधन स्क्यानर काम गरिरहेको छैन ।
भौतिक पूर्वाधार मन्त्रालयका निमित्त सचिव गोइतले भने गेटमा सुधार गर्न सम्बन्धित ठेकेदार कम्पनीलाई भनिसकिएको र उपकरण प्रयोग अवस्थामा ल्याउन भने प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए ।
मूलगेट बनाउन बिहीबार बिहान भने केही मिस्त्री खटिएका छन् ।
मधेश प्रदेश भवनको सुरक्षा व्यवस्थापन गर्ने काम प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयको हो । गेटका सुरक्षा उपकरण गृहले खरिद गरीद गरी जडान गराएको छ ।
गृहका उपसचिव उत्तम खरेलले उपकरण भएका ठाउँमा संरचना परिवर्तन गर्नुपर्ने र उपकरणका प्राविधिक समस्या हटाई सञ्चालन गर्नुपर्ने विषयमा ठेकेदारलाई पटकपटक ताकेता गर्दा पनि अटेर गरेको र फेरि पनि ताकेता गर्ने बताए ।