जब काकाभतिजका भेषमा कर्मचारीले सिरहामा काठतस्कर समाए
अनिलकुमार कर्ण/टोलपडोस
जनकपुरधाम, ३ फागुन ।
काठको अवैध ओसारपसार तथा बिक्रीवितरणमा सँलग्न सिरहा कर्जन्हाका २४ वर्षीय जतेन्द्र यादव केही समययता वनगश्तीबाट त्रसित थिए । कुनै बेला पनि वनगश्तीले कब्जामा लिनसक्ने भयका कारण उनले बिक्रीका लागि घरमा थान्कोमुन्को लगाएका फ्यान्टामध्ये धेरैजसो नजिकका खेतवारीमा छरिवरि गरी माटामुनि पुरेका थिए ।
गाउँतिर वनकर्मचारीको चहलपहल बढेको हल्लाखल्ला सुनिन थालेपछि उनले अलिक दिनका लागि करिबकरिब व्यापार बिसाएका नै थिए ।
तर, मंगलबार उनी दस थान फ्यान्टासहित खेतबारीमै पक्राउ परे । डिभिजन वन कार्यालय सिरहाका गश्तीले खेतीको आलीनजिक ग्राहकलाई काठ देखाउँदै मोलाहिजा गरिरहेका बेला उनलाई पक्राउ गर्यो । गश्तीमा खटिएका कर्मचारीलाई छक्याएर वा हुत्याएर भाग्न खोजेका बलियोबाङ्गा यादवलाई पछ्याएरै नियन्त्रणमा लिएका थिए ।
अहिले थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय सिरहाको हिरासतमा रहेका यादवलाई पत्याउन कठिन भइरहेको छ कि दुई तीनदिनदेखि लगातार भेटघाट तथा कुराकानी गरिरहेका खरिददार वन कर्मचारी थिए भनेर ।
प्रदेश सरकारका फरेस्टर जयप्रकाश कुमार साह अवैध ढंगले काठ ओसार्ने गरेका यादव पक्राउ परेको तीन दिनअघि बन्दीपुरमा भेटेका थिए । आफ्नो परिचय ढाँटेर उनले कल्याणपुरको चिकनाभोक्राहाको बासिन्दा भएको बताए ।
घर बनाउन काठ चाहिएको भन्दै साहले काठकै कुरा गरेर यादवलाई विश्वासमा लिए । साहका मोलजोलका कुरा सुनेर ग्राहक नै हो भनी पत्याएका यादवले उनलाई काठ राख्ने बाँसका घेराबेरा र टिनको छानो भएका नजिकको एउटा घरमा लगे र ‘फयान्टा’ देखाए ।
राजमार्गभन्दा दुई सय मिटरको दुरीमा रहेको गाउँभित्रको त्यो घरमा गोलिया देखिसकेपछि दामको कुरो भयो । यादवले तीन हजार आठ सय रुपैयाँमा एक थान दिने र बैना दिएपछि घरसम्म नै काठ ओसारिदिने साहलाई सुनाए । निजी नम्बरको मोटरसाइकलबाट त्यहाँ पुगेका साह अलिकपछि बैनाबट्टाको रकम तिर्ने भन्दै त्यहाँबाट फर्के ।
साहले १८ देखि २० पिस काठ लिनुपर्ने भनेकाले यादव पनि उत्साहित थिए ।
अब यहाँबाट गति लियो अपरेसन । डिभिजन वन अधिकृत सुजितकुमार झासहित वन कर्मचारीको टोलीले काठतस्करलाई रङ्गेहात समाउने छिद्ररहित योजना बुन्न थाले । सुराकीबाट प्राप्त प्रारम्भिक सूचना भरपत्यारिलो थियो तर अपरेसनमा यादवको शङ्का गहिरिँदा वा सुराकीले दोहोरो (डबल एजेन्ट हुनसक्ने) भूमिका निर्वाह गरे ठूलो खतरा मोल्नुपर्ने जोखिम थियो । त्यसैले एउटा एउटा कदम सतर्कतापूर्वक उचाल्नेगरी अपरेसनका विधि र समयावधि तय गरिए ।
।
पहिले भएको सहमतिअनुसार भोलिपल्ट यादव साहको फोन सम्पर्कमा आएनन् । यादवले कतैबाट अपरेसनबारे जानकारी पाएर सम्पर्कविहीन बन्नपुगेको आकलन गर्न थालियो । तर, त्यही दिन बेलुका उनी साहको फोन सम्पर्कमा आए।
आफू कामविशेषले नेटवर्कभन्दा बाहिर रहेकाले कुरा हुन नसकेको भन्दै भोलिपल्ट भेटेर काठको लेनदेन गर्न साहलाई खबर गरे । उनले बैनाबापत पाँच हजार रुपैयाँ लिएर आउन तथा काठ घरसम्म पुर्याइसकेपछि तर्न बाँकी रकम जोरजाम गरेर राख्न पनि भने ।
अपरेसनको पर्सीपल्ट अर्थात् मंगलबार । काठ किन्ने अभिनय गरिरहेका फरेस्ट साहलाई साथ दिन चोहर्बाबाट जमदार तहका सशस्त्र वनरक्षक जोगिन्दर यादवलाई पठाइयो । जोगिन्दर काका बने र साह भतिजा ।
पहिल्यै भेटिसकेकाले साहलाई यादव बलशाली भएको थाहा थियो । कुनै पनि हालतमा यादवलाई उम्किन नदिन उनीसँग तालिमप्राप्त सशस्त्र वनरक्षक पठाइएको थियो । तर, दुवै वनकर्मचारी सादा पोसाकमा र खाली हात थिए ।
तस्करकै अखाडामा जाँदाको रिस्क त छँदैथियो । खासमा साहलाई पनि अपरेसनका लागि नै छवटा सब डिभिजन वन कार्यालय रहेका सिरहाको मिर्चेयाबाट दुई वर्ष आठ महिनापछि १५ दिनअघि मात्र बन्दीपुर पठाइएको थियो । वनकर्मचारीका बारेमा चासो लिइरहने काठतस्करहरूले चिन्दैनन् भनेरै फरेस्टर साहलाई बन्दीपुरमा पठाइएको थियो ।
काकाभतिजको नाटक गर्दै वनकर्मचारी साह र जोगिन्दरले यादवलाई बस्तीपुरचोकमा भेटे । र, गोलिया भएको ठाउँसम्म जाने निधो गरे । तर, त्यतिञ्जेलसम्म लाहानबाट डिभिजन वन कार्यालयको टोली आइपुगेको थिएन । यादवलाई केहीबेर अलमलाउनुपर्ने अवस्था आयो । सैलुनमा पसेर साहले दाह्री काट्न थाले ।
गाडी आइपुग्यो । काठ भएको ठाउँ कर्जन्हा र बस्तीपुर जाने बाटोमा बस्तीपुरभन्दा तीन सय मिटर दक्षिणमा थियो । यादव मूलबाटो जान मानेनन् ।
यादवले खेतका आलीनजिक खाल्डो खनेर माटोले झापतोप गरी फरकफरक ठाउँमा फयान्टा राखेका थिए । ग्राहक बनेका वनकर्मचारीले एकपछि अर्को गोलिया कमसल भएको भन्दै अर्को देखाउन भन्दै माटामुनिका सबै फयान्टा पहिचान गरे ।
अनि योजनाअनुसार ‘मिस्डकल’ गरी पछ्याउँदै आएको गाडी बोलाए र यादवलाई पक्राउ गरे । त्यहाँबाट १२ थान फयान्टा बरामद गरिएको छ ।
अपरेसनको अन्तिम टुङ्गो लागिरहेको बेलाका श्रव्यदृश्य भने डिभिजनल वन अधिकृत झासँगै सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिका प्रमुखले पनि देखे । वनकर्मचारीले भिडियो कलमार्फत उनीहरूलाई मिसन सफलताको दृश्य साझा गरिरहेका थिए । त्यतिबेला उनीहरू नदीजन्य पदार्थ दोहन भइरहेको साइट निरीक्षणका लागि एकठाउँमै थिए ।
डिभिजनल वन अधिकृत झाले बिहीबार बिहान टोलपडोसलाई भने, ‘मिसनमा खतरा र रोमाञ्च उतिकै थियो । तर, हामीले सम्भावित परिस्थितिलाई सबै कोणले आकलन र विश्लेषण गरी योजना बनाएका थियौं । त्यसकै परिणाम हो सफलता ।’
उनले कमलापारिका सिन्धुली र उदयपुर जिल्लाका वनक्षेत्रबाट रुख कटान गरी तयार भएका फयान्टा सिरहाका व्यक्तिहरूले उतरायणी पुल भएर ल्याई धनुषाको बाटो भएर सिरहा भित्र्याउने गरेको सूचनाका आधारमा कारबाही गरिएको बताए । उतरायणी धनुषा, सिरहा, सिन्धुली र उदयपुर गरी चार जिल्लाको संगमस्थल हो ।
पक्राउ परेका यादव मूल व्यापारी भए पनि कर्जन्हा र बस्तीपुरबीचमा रहेको मुसहरटोलीका जनताले फयान्टा ओसार्ने भरियाका रूपमा काम गर्दैआएका छन् । केही वर्षयता उनीहरूको जीविकोपार्जनको आधार नै यो काम बनेको छ ।