मूर्ति सेलाउन जाँदा रौतहटमा सांघातिक आक्रमण

२०८० फाल्गुन ४, शुक्रबार ००:१६
मूर्ति विसर्जन गर्न जाँदा फरक समुदायबाट ढुंगामुढा हुँदा घाइते हिन्दु युवा । तस्बिर : सामाजिक सञ्जाल

सञ्जय मिश्रा/न्युज कारखाना
रौतहट ४ फागुन ।
भारतीय सिमानासँग जोडिएको रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिकामा दुइटा मन्दिरमा आगजनी गरेको घटना नसेलाउँदै अर्को घटना भएको छ । त्यहाँ सरस्वती माताको मूर्ति सेलाउन जाने क्रममा बिहीबार आक्रमण हुँदा एकजनाको टाउको फुटेको छ भने कयौंलाई चोटपटक लागेको छ ।

ईशनाथ–५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँछेउ अडुवा नदीमा सेलाउन जाने क्रममा हिजो दिउँसो २ बजे मोतीपुर गाउँमा मुस्लिम समुदायको मानिसले अचानक ढुंगामुढा प्रहार गर्दा स्थानीय नरेश पासवानको टाउको फुटेको तथा अन्य कयौंलाई चोटपटक लागेको छ ।

सरस्वती माताको मूर्ति लिएर दर्जनौंको संख्यामा गइरहेको हिन्दु समुदायका मानिसमाथि एक्कासि ढुंगामुढा प्रहारसँगै मुस्लिम समुदायका मानिसले खुर्सानीको धूलो आँखामा फालेको प्रत्यक्षदर्शी स्थानीय बाबुलाल साहले बताए ।

आक्रमणका क्रममा त्यहाँ उपस्थित रहेका प्रहरी मुकदर्शक बनेको उनको भनाइ छ । घटनाको खबरलगत्तै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ घटनास्थल पुगेका थिए । त्यसपछि हिन्दु समुदायका मानिस मूर्ति बाटोमा राखेर प्रदर्शनमा उत्रिएका थिए ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ । केही दिनअघि मात्र त्यहाँ एकैरात हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी भएको थियो । रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत दुर्गा पूजा , सरस्वती पूजा, विश्वकर्मा पूजा, महाबिर झन्डा विसर्जनका क्रममा बर्सेनि एकपक्षीय आक्रमण हुँदै आएको स्थानीयले बताएका छन् । पूजा विसर्जनको समय प्रत्येक वर्ष ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि पूर्ण रूपमा शान्ति हुनसकेको देखिँदैन ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH