कार्यक्रम एकथोक, नेताजीको गनगन अर्थोक
सञ्जय मिश्रा/न्युज कारखाना
रौतहट, ४ फागुन ।
पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले असक्षम फिरङ्गी नेताहरू नेतृत्वमा पुग्दा पनि रौतहट विकासमा पछाडि परेको टिप्पणी गरेका छन् । सधैँभरि बाहिर बसेर चुनावका बेला मात्र रौतहट सम्झने नेताहरूकै कारण जिल्ला पछाडि परेको उनले यस्तो टिप्पणी गरेका हुन् ।
गृहजिल्ला रौतहटको सदरमुकाम गौरमा भन्सारको लुटकारी ४५ प्रतिशत पुरस्कारको व्यवस्था हटाउन पार्टीद्वारा आयोजित वृहत् भेलालाई सम्बोधन गर्दै उनले २०१५ सालदेखि देशका ठूल्ठूला आन्दोलनमा रौतहटको भूमिका महत्वपू्र्ण तथा अग्रणी रहेको भन्दै जिल्लावासीको सराहना गरेका थिए ।
तर, पछिल्लो समय केही नेता व्यक्तिगत स्वार्थमा लागेका कारण जिल्लाको नाम बदनाम मात्र नभएर कलंकित भइरहेको अध्यक्ष साहले दुःख व्यक्त गरेका थिए ।
उनले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालप्रति आक्रोश व्यक्त गर्दै उर्वरभूमि मधेश उजाड हुनुमा मुख्यतः नेता नेपाल र उपेन्द्र यादव रहेको उनको दाबी छ । उनले यादव मधेशवादीका नाउँ बेचेर मधेश लुट्ने काम गरिरहेको आरोपसमेत लगाए ।
‘संघीयता आएदेखि नै उपेन्द्र यादवको पार्टीले मधेशको सत्ता चलाएको छ । तर यतिका वर्षमा मधेश प्रदेश कहाँ पुग्यो भन्ने सहजै अनुमान गर्न सकिन्छ,’ उनले भने । नेता नेपाल र यादवले सधैं सत्ताकुर्सीका लागि देश तथा जनताका साथ गद्दारी गर्दैआएको उनको भनाइ थियो ।
यी नेताकै कारणले मधेशमा बेरोजगारी र गरिबी बढेको बताउँदै नेता साहले उनीहरूलाई मधेशी जनताले लखेट्नु पर्ने अध्यक्ष साहले बताएका छन् ।
गौर हत्याकान्डमा अहिलेसम्म पीडितले न्याय पाउन नसकेको बताउँदै तिनीहरूलाई न्याय दिलाएरै छाड्ने उनले प्रतिबद्धता जनाएका थिए ।
यसअघि प्रधानमन्त्री प्रचण्डले गौर हत्याकान्डबारे चासो लिँदा केही दलका नेताहरूले सरकार छाड्ने धम्की दिएको पनि उनले बताए ।
कार्यक्रममा नेता साहका साथै आमजनता पार्टीका मधेश प्रदेश इन्चार्ज सुधीर यादव, जिल्ला इन्चार्ज त्रिभुवन साह लगायतले गौर हत्याकान्डका दोषी कुनै पनि हालतमा उन्मुक्ति नपाउने चेतावनी दिएका थिए ।