मधेसमा झोलुङ्गे पुल : उहिलेको खिसीट्युरी, अहिलेको जीवनरेखा

२०८० फाल्गुन ५, शनिबार १४:३३
मधेसको पहिलो झोलुङ्गे पुल । महोत्तरी जिल्लाको बलवा सरपल्लो जोड्ने यो पुल नजिकै पक्की पुल बनिसकेपछि प्रयोगविहीन बनेको छ । तस्बिर सौजन्य : कुश चौधरी

अनिलकुमार कर्ण
जनकपुरधाम, ५ फागुन ।
२०४६ को प्रजातन्त्र पुनर्स्थापनालगत्तै महोत्तरीका तत्कालीन सांसद बेनीमाधव सिँहले आफ्नो क्षेत्रमा पर्ने बलवा–सरपल्लो जोड्ने अंकुशी नदीमा झोलुङ्गे पुलको माग सदनमा गरिरहँदा बेस्करी नहाँस्ने कोही थिएनन् । २०४८ सालको आम निर्वाचनपछि गठित प्रतिनिधिसभामा उनले पुल नहुँदा जनजीवन कष्टकर बनेको भन्दै झोलुङ्गे पुल माग गरेका थिए ।

मधेसबाट निर्वाचित जनप्रतिनिधिको ‘कमजोर बुझाइ र अल्प बौद्धिकस्तर’ बारे खिसीट्युरी गर्दा २०१५ सालमा समेत त्यस क्षेत्रबाट चुनिएका पाका सांसद सिँहको झोलुङ्गे पुलबारे मागको प्रसङ्ग जो कोहीले झिक्ने गर्थे ।

बेनीमाधवले माग गरेको त्यो ठाउँ अहिले मनरासिस्वा नगरपालिकामा ६ मा पर्छ । त्यहाँ अंकुशी नदीमा बलबा र सरपल्लो जोड्ने झोलुङ्गे पुल छ । त्यस ठाउँभन्दा उत्तर नगरपालिकाको वडा नम्बर ७ झिँगास्थानमा सोही नदीमा पोहोर साल निर्माण सकिएको झोलुङ्गे पुल छ । अंकुसीसी नदीले यहीँनेर धार परिवर्तन गरेपछि अर्को झोलुङ्गे पुल बनाउने योजना बुनिँदैछ ।

‘झोलुङ्गे पुलका कारण पूर्वी र पश्चिमी टोलका बासिन्दालाई हाटबजार, विद्यालय र अस्पतालसम्म आउजाउ गर्न सजिलो भएको थियो । यो अवस्था जोगाउन यस ठाउँमा अर्को झोलुङ्गे पुल बनाउन जरुरी छ,’ मनरासिस्वा नगरपालिकाका प्रमुख मोहन पाण्डे भन्छन् । यसका अलावा यसै वडामा गेरुकी नदी किनारका ‘दुई चौरी’ जोड्न अर्को झोलुङ्गे पुल छ । यो पुल पोहोर चार सालअघि बनेको थियो ।

बलवा र सरपल्लो जोड्ने मनरासिस्वा–७ को झोलुङ्गे पुल ०५० दशकका पूर्वाद्र्धमा बनेको थियो । मधेसको यो पहिलो झोलुङ्गे पुल हो ।

अहिले जर्जर हुँदा र नजिकै पक्की पुल बनेपछि अहिले प्रयोगविहीन अवस्थाको यो पुलले धेरै समयसम्म नजिकका दुई गाउँमात्र जोडेन, दुवै गाउँबीच व्यापार, कृषिलगायतका लागि सहकार्य गर्ने मेलो जुरायो । ‘बर्खाबाढीका बेला वारिबाट कराउँदा पारिकाले सुन्ने तर देखसँगै भेट गर्न नसकेर व्यवहार गर्न नपाउने अहिले सोच्नै नसकिने स्थिति थियो,’ प्रतिनिधिसभा सदस्य महेन्द्रकुमार यादव सम्झन्छन् ।

उनका अनुसार त्यहाँ झोलुङ्गे पुल बन्नुअघि बर्खा र जाडो दुवै मौसममा जोडिएकै गाउँमा आवागमन नहुने अझ पूर्वपट्टिका बलवावासीलाई केही किलोमिटर दुरीमा रहेका सदरमुकाम जलेश्वर पुग्न नसकिने स्थिति रहेको थियो ।

मधेसमा बनाउने काम कुनै बेला ‘ठट्टा’ को विषय मानिएको झोलुङ्गे पुल देशको दक्षिणी समथर फाँटमा अहिले जहीँजता देखिन थालेका छन् । बढी खर्चमा ढिलो बन्ने पक्की पुलको तुलनामा कम समय र थोरै लगानीमा बन्ने यो पुल झोलुङ्गे पुलको मधेसमा महत्व अनदेखी गर्ने दिन सकिएको छ । बलवा–सरपल्लो जोड्ने अंकुसीमाथिको पुल बनेको डेढ दशकपछि मात्र त्यहाँ पक्की पुल बनेको छ ।

खेतीपाती र पशुपालनका लागि पनि मधेसमा नदीतटमा बसोबासको परम्परा छ । नदीका दुवै भागमा बाक्ला बस्तीहरू छन् । दुईतिरैका बासिन्दाका वारिपारि उब्जनी गर्ने खेतपथार र गाईगोठ छन् । नाताकुटुम्ब छन् । हुक्कापानी चलाउने लेनदेन छ । अनि विभिन्न उत्सवमा सँगै रमाउने अवसर र कारण छन् । यसलाई जोड्ने साधन बनेका छन् झोलुङ्गे पुल ।

‘मधेस भनेकै खेतीपाती संस्कृतिको पर्याय हो । यहाँ दुईतिरका बासिन्दालाई दुवै ठाउँमा पहुँच स्थापित गर्न चाहिने भनेकै झोलुङ्गे पुल हो,’ श्रम, सामाजिक सुरक्षा तथा रोजगार मन्त्री शरतसिँह भण्डारी भन्छन् । महोत्तरीका विभिन्न संसदीय क्षेत्रबाट प्रतिनिधिसभा सदस्य भएका भण्डारीकै पहलमा मधेशको पहिलो भनिएको बलवा–सरपल्लो जोड्ने झोलुङ्गे पुल निर्माण भएको थियो । संयोग नै भनौँ, २०५६ को चुनावमा भण्डारी महोत्तरीको क्षेत्र नम्बर ४ क्षेत्रबाट सांसद निर्वाचित भएपछि बलवा–सरपल्लो जोड्ने पक्की पुल बनाउन लगाएका थिए ।

मधेसमा ससाना खहरे खोलामा हिउँदका बेला बालुवाका परत चिथोर्दै आवतजावत गर्न सकिन्छ । बर्खामा भने बाँसकाठको पुल बनाई जोखिम मोलेरै भए पनि यताउता गरिन्छ । तर, वर्षभरि पानी बग्ने ठूला नदी वा खाल्डाखुल्डीले गहिरा आउडोबाउडो, ढुङ्गा, गिट्टी र बालुवाले पुरिएर असमान ढंगले अग्लिएका चौडा नदीमा आउनेजाने गर्न सकिँदैन ।

‘बाँसकाठको पुलको के भर ! एक हल गोरु हिँड्दैमा भासिन सक्छ, बथानको त कुरै नगरौं,’ महोत्तरीको बलवा नगरपालिकाका पूर्वजनप्रतिनिधि विनोद सिँह भन्छन्, ‘नदीको आनीबानी बदलिएको बेला पूर्खाका बेलादेखि बनाइने काठबाँसको पुलको अब काम नै छैन ।’

मन्त्री भण्डारीले पनि मूलबाटामा पक्की पुल नै चाहिने भए पनि नदी किनारका बस्तीखेत जोड्ने परम्परागत जाहो विस्थापन हुनेगरी झोलुङ्गे पुल बनाउनुपर्ने बताउँछन् । बर्खामा ठाउँठाउँमा बिग्रिएका हिलाम्मे बाटो भएर घरखेतसम्म पुग्ने स्थिति यसबाट अन्त्य हुने र समृद्धिका लागि बाटा खोलिने उनको विश्वास छ ।

घना आबादी भएका दक्षिणीक्षेत्रमा बन्नलागेको सिरहा र धनुषा जोड्ने कमलाको पक्की पुल भएर आवतजावत खुल्ने अझै ठेकान छैन । त्यहीछेउमा झोलङ्गे पुल बनेको छ । अहिले यो पुलबाट नदी वारपार गर्न पैदलयात्रु तथा दुईपाङ्ग्रे सवारीसाधन भएकाहरूलाई सजिलो भएको छ ।

यसअघि नदीतटका बासिन्दा र साइकल/मोटरसाइकलबाट हुलाकी राजमार्ग भएर यात्रा गर्नेहरूले वर्षाबाढीका बेला डुङ्गा प्रयोग गर्नुपर्ने कि त पानी र बालुवाको थेग्राइ कम भएको ठाउँबाट वारपार गर्ने स्थिति थियो ।

‘सुरक्षित आवागनका लागि यो पुलको उपयोगिता भनिसाध्य छैन । तर, मूलबाटोमा झोलुङ्गे पुल अस्थायी र आकस्मिक विकल्प हो,’ इन्जिनियर मनोहर साहले भने, ‘पक्की पुल नै नहुने ठाउँमा त यसको महत्व धेरै बढी नै छ ।’

यो झोलुङ्गे पुलबाट सार्वजनिक यात्रुसेवा सञ्चालन र मालसामान ढुवानी हुनसक्दैन । तर, हुलाकी मार्ग जोड्ने गरी बनेको धनुषाको जननन्दिनी–६ कठाल र सिरहा नगरपालिका–२३ मल्हनियाँसम्म लम्एिको झोलङ्गे पुल नदी किनारका दुई जीवनशैली र सँस्कृति जोड्न प्रभावकारी विकल्प बनिरहेको छ । अझ यसै ठाउँमा वर्षौँदेखि अलपत्र पक्की पुल निर्माणका कारण यस क्षेत्रका लागि यो पुल त जीवनरेखा नै बनेको छ ।

इन्टरनेट र मोबाइल फोन नभएको जमानामा बलवा–सरपल्लो जोड्ने झोलुङ्गे पुल भारतीयसँगै अन्तरिक पर्यटकका लागि रमाणीय ठाउँ बनेको सम्झन्छन् मन्त्री भण्डारी । उनी भन्छन्, ‘अनौठो पुल बनेको खबर पसारिएसँगै झोलुङ्गे पुलमा मच्किन निकै टाढाटाढाबाट मानिस आउनेगर्थे ।’ नेपालकै लामो भनिएको कमलामा बनेको झोलुङ्गे पुल हेर्न पनि धेरै सँख्यामा मानिसको आउजाउ भइरहेको छ ।

पत्रकार अमरेन्द्रकुमार यादवले राससका लागि लेखेका समाचारमा स्थानीयलाई उद्धृत गर्दै मोटरसाइकल र पैदलयात्रु वारपार गर्ने यो पुल वारपारका जिल्लामा रहेका ससुराली, मावली, दिदीबहिनी, फुपूलगायत इष्टमित्रहरूका लागि दुईतिर विभाजित मन जोडेको उल्लेख गरेका छन् ।

सडक तथा पुलबाट अपेक्षा गरिने वृहत् सामाजिक तथा आर्थिक गतिविधि भने पक्की पुलबाट मात्र सम्भव छ । तर, सहज र जोखिमरहित यात्रा तथा समय वचत हुने दृष्टिले यो एक हजार पाँच सय दशमलव ४४ मिटर र एक दशमलव दुई मिटर चौडाइ भएका योे झोलङ्गे पुलले नदी किनारका गतिविधिबीचको दुरी छोट्याएको छ ।

मधेसमा कैयौँ यस्ता ठाउँ छन् जहाँका बासिन्दा अझै यस्तै कम खर्च र थोरै समयमा बन्ने झोलङ्गे पुलको पर्खाइमा छन् । गत भदौसम्म देशभर झोलुङ्गे पुलको सँख्या एघार हजार एक सय दुई पुगेको थियो । यसमा तराई मधेस भनेर छुट्याइएको छैन । तर, झोलुङ्गे पुल तराईमधेसका लागि नभएर पहाडका लागि हो भन्ने भ्रमपूर्ण राजनीतिक तथा सामाजिक बुझाइका कारण मधेसमा यसको सँख्या उल्लेख्य छैन ।

जलउत्पन्न प्रकोप नियन्त्रण विज्ञ रत्नेश्वर लाल कर्ण आवश्यक ठाउँको पहिचान गरी मधेसका विभिन्न ठाउँमा झोलुङ्गे पुल बन्नुपर्ने बताउँछन् ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH