दुई समुदायबीच झड्पपछि रौतहटको ईशनाथमा तनाव कायमै

२०८० फाल्गुन ५, शनिबार १९:५०

अनिश्चितकालीन कफ्र्यु जारी, ठूलो सँख्यामा सुरक्षाकर्मी तैनाथ

रौतहटको ईशनाथ नगरपालिकामा बिहीबार मूर्ति विसर्जनका विवाद हुँदा हिन्दु र मुसलमान समुदायबीच अझै भइरहेको झड्प । तस्बिर : सञ्जय सहनी

संजय सहनी
रौतहट, ५ फागुन ।
रौतहटको ईशनाथ नगरपालिका–७ घिउरा टोलमा सरस्वतीपूजाको मूर्ति विसर्जनका विषयमा दुई समुदायबीच विवाद चुलिँदा शनिबार पनि झड्प भएको छ ।

दुई दिनअघि हिँसात्मक भिडन्त हुनेगरी दुवै समुदायबीच भएको विवाद स्थानीय प्रशासन तथा प्रहरीका वरिष्ठ अधिकारी, जनप्रतिनिधि तथा स्थानीय भद्रभलादमीका रोहबरमा साम्य पारिए पनि नगरपालिकाका कतिपय स्थानमा झड्प अझै भइरहेका छन् । नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको कफ्र्यु अझै जारी छ ।

हिन्दु र मुस्लिम समुदायका स्थानीयबीच झड्प हुँदा स्थानीय संजय ठाकुरका छोरा २३ वर्षीय भोला ठाकुर भन्ने कार्तिकेश गम्भीर घाइते भएका छन् । फरक समुदायको घरका छतबाट फालिएका ढुंगा लागेर ठाकुरको टाउको फुटेको उनका परिवारिक सदस्यले बताएका छन् । गम्भीर घाइते ठाकुरलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको छ ।

झड्पमा दुवै समुदायका दर्जनौं घाइते भएको स्थानीय युवा नेता गुलाम सरोबरले जानकारी दिए । झड्पका विषयमा पर्याप्त र घाइते भएकाहरूको पूर्ण विवरण आउन नसकेको रौतहट प्रहरीको भनाइ छ ।

झड्प रोक्न रौतहट प्रशासन सशक्त ढंगले लागिपरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले दाबी गरेकी छिन् । थप तनाव र अप्रिय घटना हुन नदिन उत्तर रामपुरखाप बिओपी, पूर्वमा जोकहा, पश्चिममा सानो घिउरा र दक्षिणमा जयनगर चौकीसम्मको क्षेत्रमा कर्फ्यु लगाइएको डिएसपी गिरीले जानकारी दिइन् ।

कर्फ्यु अनिश्चितकालका लागि लगाइएको र सम्भावित अप्ठ्यारो परिस्थितिसँग सामना गर्न ठूलो सँख्यामा जनपद तथा सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

दुई दिनअघि घटनास्थलमा ईशनाथ नगरपालिका समेत रहेको क्षेत्रका प्रतिनिधिसभा सदस्य सदस्य किरन साह, प्रमुख जिल्ला अधिकारी रेग्मीसहित मधेश प्रदेश प्रहरी कार्यालयका डिआइजी यज्ञविनोद पोख्रेल र सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी दिपेन्द्र श्रेष्ठ, रौतहटका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठसहित जनप्रतिनिधि र भद्रभलादमीको बैठकमा दुवै समुदायबीच विवाद नहुनेगरी सहमति भएको थियो ।

घिउराका स्थानीयले सरस्वती पूजा गरेर शुक्रबार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजाँदा अर्को पक्षले डिजे बजाएको भन्दै अवरोध सिर्जना गरेको थियो । त्यसपछि विसर्जनमा सहभागी भएकाहरूले बाटोमै मूर्ति राखेर बसेका थिए ।
शनिबार स्थानीय प्रशासनको रोहबरमा दुवै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले सरस्तीको मूर्ति सेलाउन लैजान दिने र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति भए पनि केही उच्छृंखल व्यक्तिहरूले ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको बताए ।

श्रेष्ठले भने –‘अहिले अनिश्चितकालका लागि कर्फ्यू लगाइएको छ । हामीले दुवै पक्षलाई सम्झाइबुझाइ गरी स्थिति अनुकूल बनाउने प्रयास गरिरहेका छौँ ।’

गत बिहीबार ईशनाथ–५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँछेउ अडुवा नदीमा सेलाउन जाने क्रममा दिउँसो २ बजे मोतीपुर गाउँमा मुस्लिम समुदायका मानिसले अचानक ढुंगामुढा गर्दा स्थानीय नरेश पासवानको टाउको फुटनुका साथै अन्य कैयौंलाई चोटपटक लागेको थियो ।

केही दिनअघि मात्र यहाँ एकैरातमा हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी भएको थियो ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH