राजनीतिक संस्कार अभावमा युवाको बौद्धिकता कमजोर हुँदैछ : उपेन्द्र यादव

टोलपडोस समाचारदाता
जनकपुरधाम, ५ फागुन ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली युवाको बौद्धिकता कमजोर हुँदै गइरहेको बताएका छन् ।
शनिबार समाजवादी युवा संघ केन्द्रीय समितिद्वारा जनकपुरधामको रमणटावरमा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले पछिल्ला समय नेपाली युवाहरुको बौद्धिकता कमजोर हुदैँ गइरहेको बताएका हुन् ।
अध्यक्ष यादवले पछिल्लो समय उदयमान भएका राजनीति पार्टीको कमजोर विचार, सिद्धान्त र राजनीतिक संस्कारका कारण पनि यस्तो हुन गएको बताए ।
‘नयाँ पुस्ता राजनीतिमा आउनु सकारात्मक कुरा भए पनि राजनीतिक रूपमा उनीहरू कमजोर रहेका छन्, नयाँ दलमा अधिकांश युवामा राजनीति संस्कार, विचार र सिद्धान्तको कमी छ,’ उनले भने । पहिलाको समयमा युवाको विचारधारा प्रस्ट हुने गरे पनि पछिल्लो समयमा यस्तो नभएको भन्दै उनले दुखेसो पोखे ।
अहिलेका युवा अपवाह “रियुम्र्स”का पछाडि बढी लाग्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । उनले अबको आधुनिक राजीनितक अध्ययनबिना फिका हुने भन्दै युवालाई बढीभन्दा बढी अध्ययन गर्न सुझाए ।
मधेश प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री सिहांसन सा कलवारले अध्ययनमा युवाको रुचि घट्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले नकारात्मक राजनीतिक ट्रेन्डका कारण युवाले अध्ययनमा रुचि नदेखाएको तर्क गरे ।
मधेशका युवामा क्षमता हुदाँहुँदै पनि अफवाहतर्फ लागेका र आफ्नो बौद्धिकता प्रयोग गर्न नसकेका भन्दै युवाको बौद्धिक सक्रियता घट्नाले समाज पनि सही गलत छुट्याउने नसक्ने अवस्थामा पुगेको औंल्याए ।
मधेश प्रदेश पूर्वमन्त्री ज्ञानेन्द्र यादवले अबको समयमा बौद्धिक प्रशिक्षणले मात्रै संघीय गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्न सक्न औंल्याए । उनले पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रको विरोधमा विभिन्न षड्यन्त्रहरू सुरु भएको भन्दै युवा सचेत हुने अवस्था आएको समेत बताए ।
जसपा मधेश प्रदेशका नवनियुक्त अध्यक्ष बालकिशोर यादवले प्रशिक्षणले युवाको व्यक्तिगत, राजनीतिक र सांगठनिक जीवनमा तिख्खरपना ल्याउने बताए । युवा संगठनको नेतृत्व गरेकाहरूले राजनीतिक उचाइ पाएको बताउँदै उनले केही समययता युवाले बाटो विराएको जस्तो महसुस भएको उल्लेख गरे । कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य बिक्की यादवले युवामा देखिएका केही अभाव प्रशिक्षणवाट प्राप्त हुने बताए ।
शनिबारबाट सुरु भएको सो कार्यक्रममा फाल्गुन ८ गतेसम्म चल्ने छ । सो कार्यक्रममा जनता समाजवादी पार्टी(जसपा) नेपालका भातृसंगठन समाजवादी युवा संघका सातै प्रदेशका पदाधिकारीको सहभागिता छ ।
तीन दिवसीय कार्यक्रममा जसपा अध्यक्ष यादव मुख्यप्रशिक्षक छन् । उनले समाजवाद, संघीयता, मधेश, मधेश आन्दोलन, विश्व राजनीति, राज्यसञ्चालनका विधिप्रक्रिया, विश्वक्रान्ति लगायत विषयमा प्रशिक्षण दिनेछन् ।