हुलाक टिकटमा मात्र कहाँ, उत्पीडित जनताका मनमा छन् मास्टरसाहेब
स्व.पत्रकार कृष्ण सेन इच्छुकले आफ्नो कविताको एउटा हरफ लेखेका छन्, ‘बरमझिया तिम्रो प्रत्येक थोपा रगत ब्युँझेर, आज बैरीलाई क्रुर कालकुट भएको छ ।’ इच्छुकले यो हरफ महान् सहिद रामवृक्ष यादवको सम्झनामा लेखेका हुन् । इच्छुकले चर्चा गरेकै धनुषाको बरमझिया निवासी रामवृक्ष यादव यादव अर्थात् मास्टरसाहेबको सम्झना चीरस्थायी बनाउन हुलाक विभागले शुक्रबार टिकट प्रकाशन गरेको छ ।
शोषित र उत्पीडित जनताका पक्षमा स्वतन्त्रता र सुनिश्चित भविष्यका लागि आजीवन सङ्घर्ष गरेका मास्टरसाहेबको २०५२ साल भदौ २ गते क्रुरता र कायरतापूर्ण ढंगले हत्या गरियो । भनिन्छ, नेपालमा माओवादी विद्रोह जनयुद्धमा परिणत हुनुको आधारभूमि मास्टरसाहबको निर्मम हत्याबाट तय भएको थियो ।
धनुषाको तत्कालीन बरमझिया गाविस–६ को मध्यमवित्त किसान परिवारमा पिता रामलखन यादव र आमा सम्पतीदेवी यादवका जेठा छोराका रूपमा विस. २००३ मा यादव को जन्म भएको थियो । राजनीतिक तथा सामाजिक बेथिति, सर्वहाराका अवस्था र तिनमा परिवर्तनका अपेक्षासँग जोडिएका गीतलेखन र गायनमा पोख्त मास्टरसाहेब वाद्यवाद्नमा पनि उत्तिकै निपुण थिए ।
कीर्तनमण्डलीका व्यासजी (मुख्यगायक एवं हार्मोनियम वादक) बनेर धार्मिक तथा साँस्कृतिक चेतना फिजाइरहनुभएका बेला २०२९ सालमा धनुषा जिल्लाकै कुसुमविछौना गाउँमा कम्युनिस्ट नेता ऋषिराज देवकोटासँग भेट भएपछि यादव कम्युनिस्ट विचारधाराबाट प्रभावित एवं प्रेरित भएका थिए । यसअघि उनी २०२५ सालबाटै आफ्नै थातथलो बरमझियाको प्राथमिक विद्यालयमा प्रधानाध्यापक थिए ।
कीर्तनमण्डलीका सदस्यलाई राजनीतिक प्रशिक्षणबाट जनताका पक्षमा लड्न तयार गरेका उनले गाएका ‘पेरुमे लाल झण्डा फहराइ रे’ गीत आज पनि मुक्तिकामी जनताका बीच औधी लोकप्रिय छ ।
कम्युनिस्ट नेता प्रभु साहले एउटा लेखमा उनलाई दुःखमा नआत्तिने र सुखमा नमात्तिने र सदैव हँसमुख, शान्त तथा शालीन व्यक्तित्वका धनी एवं गीतकारदेखि जनगायक रहेका बताउँछन् ।
साहकै शब्दमा नेपाली कम्युनिस्ट आन्दोलनका चम्किलो र प्रेरक नक्षत्र ‘मास्टर साहेब’ बाल्यकालदेखि नै अभाव, अशिक्षा एवं रुढिवादी सामाजिक परम्परा र सामन्ती उत्पीडनविरुद्ध निरन्तर सङ्घर्ष गर्दै आए । २०२२ सालमा मेट्रिक पास गरी शिक्षण पेसामा संलग्न भएका उनले जनकपुरधामस्थित राराब क्याम्पसबाट प्रमाणपत्र तहसम्म उतीर्ण गरे । जनपक्षधरता र गरीबगुरुवाप्रति सहानुभूतिशील भएकै कारणले उनी शासकप्रशासकको कोपभाजनमा परी धेरैपटक झुटा मुद्दामा जेल जीवन बिताउन बाध्य भए ।
२०३० सालमा तत्कालीन स्थानीय सुदखोर, सामन्तहरूले एक सेर अन्नको बनी (ज्याला) मा कृषि मजदुरहरूलाई दिनभरि काममा जोताउने गर्दथे । ७० प्रतिशतभन्दा पनि बढी गरिब जनता अर्धदासको अवस्थामा थिए । सामन्तहरूको मोजमस्ती एवं रजाइँको विरोधमा निम्न मध्यमवर्गीय जनतासमेतको सहयोगमा बनी आन्दोलन (ज्यालादारी आन्दोलन) सञ्चालन गरी सफल पारेका थिए उनले ।
यसबाट रन्थनिएका सामन्तहरूको उक्साहटमा स्थानीय प्रशासनले शान्ति सुरक्षा ऐनअन्तर्गत जनकपुरबाट गिरफ्तार गरी ६ महिनासम्म जलेश्वर जेलमा बन्दी उनलाई बनायो । जेलबाट रिहा भएपछि पनि उनले जनहितकारी स्थानीय सङ्घर्षलाई बिराम दिएनन् । निरन्तरता दिए ।
उनका साहसिक कामका कारण नेकपा (चौ.म.) ले २०३१ सालमा पार्टी सदस्यता प्रदान गर्यो । त्यसबीचमा स्थानीय प्रशासनले उनलाई २०३४ सालमा कुसुमविछौना गाविसको विद्यालयमा सरुवा गर्यो । त्यहीबेला उनले कमला नदीछेउको १२ बिघा ऐलानी जग्गा सुकुम्बासी किसानलाई वितरण गरे । र, यो स्थानीय प्रशासनका लागि निहुँ बन्यो । उनी शान्तिसुरक्षा ऐनअन्तर्गत जेल परे ।
जेलमुक्त भएपछि बहेडाबेला विद्यालयमा सरुवा भई गए र त्यहाँ पनि किसान सङ्घर्ष जारी नै राखेकाले २०३५ सालतिर सिन्धुली जिल्लाको सिमानामा पर्ने लोटा, दूधपानी प्राविमा सरुवा गरिए । यसरी पटकपटकको गिरफ्तारी र विद्यालय सरुवाका कारण उनले उक्त विद्यालयमा एक दिन मात्र हाजिरी गरी २०३५ सालमा शिक्षण पेसाबाट बिदा लिई पार्टी सङ्गठनमा पूर्णकालीन कार्यकर्ताको रूपमा सक्रिय भए ।
राजनीतिक गतिविधिकै कारण प्रशासनले उनलाई राजकाज अपराधअन्तर्गत २०३५ पुस १ गतेदेखि २०३७ वैशाख ५ गतेसम्म जेलमा राखे । देशव्यापी राजबन्दी रिहा हुँदा उनलाई जेलमुक्त गरियो । २०३७ सालमा सम्पन जनमतसंग्रहमा पार्टीको निर्देशित योजना एवं कार्यक्रमअनुसार बहुदलका पक्षमा सक्रिय भूमिका निर्वाह गरेका उनलाई रघुनाथपुर बुथबाट दुई दिनसम्म पक्राउ गरी बेपत्ता पारिएकाले उनले आफ्नै मत पनि खसाल्न पाएनन् ।
ज्नमतसंग्रहमा निर्दल पक्षको जित घोषणापछि तत्कालीन पञ्चका लठैतहरूको जुलुसले उनीलगायत उनका संगातीका घरमा लुटपाट मच्चाए । त्यसपछि उनी भूमिगत भए ।
२०४० सालमा नेकपा (चौ.म.) विभाजन हुँदा यादव नेकपा (मसाल) केन्द्रीय समितिका सदस्य बने । प्रभु साह सम्झन्छन्, ‘ २०४२ सालमा बरमझियामा विष खाएर एकजना मान्छे मर्दा तिनको हत्या आरोपमा फसाउन तत्कालीन प्रधानपञ्च रमेन्द्रदीपका गुन्डाहरूले उहाँलाई समाती खुट्टा भाँची रातभरि प्रधानपञ्चको घरमा थुने । प्रशासनको निगरानीमा जनकपुर हस्पिटलमा उपचार भइरहेको बेला उनी भाग्न सफल भए ।’
भागेर भारतमा गई उपचार गराएका उनले २०४५ सालको किसान आन्दोलनमा सक्रिय भूमिका खेलेकाले २०४६ जेठमा गिरफ्तार भई कर्तव्यज्यान मुद्दामा लगातार तीन वर्ष जेल जीवन बिताए । २०४७ सालमा पार्टी एकता भयो र यादवको रिहाइका लागि बाहिर र जेलभित्र सङ्घर्ष हुँदाहुँदै पनि संसद्को चुनावपछि २०४९ सालमा मात्र उनलाई जेलबाट मुक्त गरियो ।
जेलमुक्तपछि पार्टी योजनाबमोजिम उनले पटेरवा गाउँमा करिब अढाइ सय बिघा जग्गा गरिब किसानलाई वितरण गरे ।
जनयुद्धमा सामेल भएका उनका एकमात्र छोरा शेखर यादवको पनि २०५८ सालमा हत्या भयो । २०५९ मा उनका छोरीज्वाइँ डम्बर यादवले सहादत प्राप्त गरे । २०६७ सालमा उहाँकी श्रीमती सांसद एवम् तत्कालीन एनेकपा (माओवादी) की केन्द्रीय सल्लाहकार रामकुमारी यादवको पनि सिलिन्डर पड्किएर दुःखद अवसान भयो ।
आज उहाँका सन्तानका रूपमा चार जना छोरीहरू छन् । तीमध्ये दुईजना अहिले पनि नेकपा (माओवादी केन्द्र) को नेतृत्व पंक्तिमा छन् । एकजना बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि माननीय राज्यमन्त्री भइसकेकी छिन् । अर्की पार्टीका केन्द्रीय सदस्य सुनिता यादव अहिले मधेश प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री छिन् । थप दुई जना सुधा यादव र कल्याणी यादव हुन् । उनीहरू पनि पार्टीकै सक्रिय सदस्यको जिम्मेवारीमा छन् ।
(विभिन्न स्रोतलेखबाट)