वरिष्ठ सञ्चारकर्मी साह ‘जिउँदो सहिद’ का रूपमा सम्मानित
टोलपडोस समाचारदाता
जनकपुरधाम, ५ फागुन ।
स्वतन्त्रता सेनानी वरिष्ठ सञ्चारकर्मी रामभरत साह शनिबार जनकपुरधाममा सम्मानित भएका छन् । सुडी समाज महासंघको प्रथम राष्ट्रिय महाधिवेशनमा साहलाई लोकतान्त्रिक आन्दोलनमा अतुल्य भूमिका निर्वाह गरेकाले जिउँदो सहिद सम्मानबाट आभूषित गरेको छ ।
टोलपडोस डटकमका सम्पादक अनिलकुमार कर्णले वरिष्ठ पत्रकार साहलाई सम्मान गरिएको क्षण नेपाली पत्रकारिताका लागि गौरवपूर्ण भन्दै उनलाई बधाइ दिएका छन् ।
कार्यक्रममा समाजसेवाका लागि मरणोपरान्त स्व.रामचन्द्र साह, सुडी समाजका संस्थापक ई. रामवृक्ष साह र गिनिज बुक अफ वल्र्ड रेकर्डमा तीनपटक नाउँ दर्ज गराउन सफल नवल महतोलाई सम्मान समेत गरिएको थियोे ।
समाजका अध्यक्ष परमेश्वर महासेठको सभापतित्व भएको समाजको महाधिवेशन उद्घाटनमा सुडी समाजका ज्येष्ठ नागरिक सिरहा जिल्ला मिर्चैया नगरपालिका निवासी एक सय १२ वर्षीया मरनीदेवी साहले गरिन् ।
कार्यक्रममा संविधानसभा सदस्य शैलदेवी महतो, प्रदेशमन्त्री सुरिता साह, प्रदेशसभा सदस्यहरू कञ्चन विच्छा साह, रमिता प्रधान, पूर्व प्रदेशसभा सदस्य परमेश्वरसाह लगायत मित्रराष्ट्र भारतको बिहारका विभिन्न सहरबाट आएका प्रतिनिधिहरूले शुभकामना दिएका थिए । स्वागत मन्तव्य जनकपुरधामका मेयर मनोजकुमार साहले व्यक्त गरेका थिए ।