मधेश प्रदेश : आज विश्वासको मत लिँदै मुख्यमन्त्री, एमालेले मत नदिने

२०८० फाल्गुन ६, आईतवार ०८:१२
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव । तस्बिर : अनिल

अनिलकुमार कर्ण/ टोलपडोस
जनकपुरधाम, ६ फागुन ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मधेश प्रदेशसभामा विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी दल बाहिरिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीले शासनादेश परीक्षण गराउने भएका हुन् ।

सरकारबाट जनमत पार्टी बहिर्गमित हुँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले अन्तिम समसीमा माघ ९ गते अगावै विश्वासको मत लिँदैछन् । विश्वासको मतसम्बन्धी कारबाहीका लागि आज अपराह्न प्रदेशसभाको बैठक बस्दैछ ।

एक सय सात सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ सदस्य जरुरी हुन्छ । यो सामान्य बहुमत हो । १३ प्रदेशसभा सदस्य रहेको जनमत पार्टीले समर्थन फिर्ता लिए पनि नेकपा एमालेसहितको समर्थनमा मौजुदा गठबन्धन सरकारसँग अहिले अत्यधिक मत छ ।

सरकारको नेतृत्व आलोपालो चलाउने, राजनीतिक नियुक्तिमा भागबन्डा गर्ने र सरकार सञ्चालनमा सहभागी दलहरूको भूमिका निर्णायक हुनुपर्ने लगायतका विषयमा ठोस सहमति नहुँदा असन्तुष्ट सत्ता गठबन्धनका दलहरूले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।

गठबन्धनको केन्द्रीय निर्देशनअनुरूप मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएर थाँती रहेका विषयमा टुङ्गो लगाउने गरी गठबन्धनमा सम्मिलित दलहरू अघि बढ्ने भएका छन् ।

अहिलेको कार्यविभाजन अनुसार सरकारसँग दुई मन्त्रालयका मन्त्री जनता समाजवादी पार्टीका नेता समेत रहेका मुख्यमन्त्री छन् । ती दुई मन्त्रालयमा गठबन्धनमा सहभागी नेकपा(एकीकृत समाजवादी) बाहेक सबै दलको दाबी छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल तीनवटै दलको दाबी भएपछि मन्त्रालय सुम्पन मुख्यमन्त्रीलाई सकस परेको छ ।

‘विश्वासको मतपछि मन्त्री रिक्त रहेका दुई मन्त्रालयका विषयमा पनि गठबन्धन दलबीच छिनोफानो हुनेछ,’ मुख्यमन्त्रीनिकट एक प्रदेशसभा सदस्यले भने ।

यता सभामुखबाहेक २३  प्रदेशसभा सदस्यसहित सदनका सबैभन्दा ठूलो दल नेकपा एमालेले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने भएको छ । एमालेले आफूसँगको गठबन्धन भत्किएर अहिलेको सत्ता गठबन्धनको सरकार बनेपछि पनि मुख्यमन्त्री यादवलाई अघिल्लोपटक विश्वासको मत दिएको थियो । जनमत सरकारमा सहभागिता सुनिश्चित भएका बेला लिइएको सो विश्वासको मतमा मुख्यमन्त्रीसँग सतप्रतिसत समर्थन थियो ।

नेकपा एमालेकी प्रदेशसभा सदस्य शारदा थापाले विश्वासको मतका बारेमा छलफल गर्न एमाले संसदीय दलका नेता सरोजकुमार यादवले आज १२ बजे बैठक बोलाएको जानकारी दिइन् । उनले बैठकबाट मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय हुने दाबी गरिन् ।

यता दलका उपनेता प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुरले भने बैठकमा सरकारलाई दिएको समर्थनबाट प्राप्त लाभ र हानीका बारेमा छलफल भई निष्कर्षमा पुगिने बताए ।

स्रोतका अनुसार सरकारलाई समर्थन दिइरहँदा प्रमुख प्रतिपक्षीको मान्यता दिन नैतिक संकट रहेको सभामुख रामचन्द्र मण्डलले औंल्याएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने निचोडमा एमाले पुगेको हो ।

जनमतसहित सदनका सबै दल सरकारमा रहेका बेला बाहिरबाट समर्थन दिएको एमाले प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको सेवासुविधा प्राप्त गरिरहेको छ । सरकारबाट बाहिरिएलगत्तै जनमत पार्टीले प्रमुख प्रतिपक्षी दलको मान्यता लिन सभामुख मण्डललाई लिखित आग्रह गरेको छ ।

एमालेका २३ र जनमत पार्टीका १३ गरी ३६ सदस्यले विश्वासको मत नदिए पनि मुख्यमन्त्रीसँग सामान्य बहुमतभन्दा बढी सदस्यको सदस्यको समर्थन रहनेछ ।

तर, नेकपा एमालेकै प्रदेशसभा सदस्य रामचन्द्र मण्डल सभामुख रहेका र प्रदेशसभा बैठकको अध्यक्षता गर्ने हुँदा सामान्यतया उनले मत खसाउँदैनन् । बैठक अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिने प्रावधान छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH