मधेश प्रदेश : सरकारमाथिको विश्वास खोस्दैमा चट्ट हुँदैन एमालेको सभामुख पद

२०८० फाल्गुन ६, आईतवार १२:३८

एमालेलाई जनमत र जनमतलाई एमालेको सहारा

मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल । तस्बिर सौजन्य : चन्दन

अनिलकुमार कर्ण/टोलपडोस
जनकपुरधाम, ६ फागुन ।
२३ प्रदेशसभा सदस्यसहित मधेश प्रदेशसभामा नेकपा एमालेले विश्वासको मत नदिए सत्तारुढ गठबन्धनले सभामुख परिवर्तन गर्ने आशङ्का व्यक्त गरिँदैछ । सामाजिक सञ्जाल प्रयोगकर्ता विश्लेषकहरूले जसपा नेपाल नेतृत्वको गठबन्धन सरकारलाई नेकपा एमालेले सभामुखसँग साट्नेगरी विश्वासको मत दिने टिप्पणी गर्दै विश्वासको मत नदिए गठबन्धन दलले सभामुख नै फेरिदिने टिप्पणी गरेका छन् ।

तर, मधेश प्रदेशसभाको गणितले भने सभामुख परिवर्तन गर्ने सँख्यात्मक सुविधा सदनमा गठबन्धन सरकारसँग रहेको देखिँदैन । सरकार बाहिर रहेका नेकपा एमाले र जनमत पार्टी एक ठाउँमा उभिँदा सभामुख÷उपसभामुख हटाउन प्रदेशसभा सदस्य सँख्याले दिँदैन ।

मधेश प्रदेशसभाका सभामुख नेकपा एमालेको टिकटमा निर्वाचित प्रदेशसभा सदस्य रामचन्द्र मण्डल छन् भने उपसभामुख जनमत पार्टीकी बबिताकुमारी राउत इशर छिन् ।

संविधानको धारा १८२ को ६ (ग) मा पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रदेशसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सँख्याको दुईतिहाइबाट पारित भएमा सभामुखको पद रिक्त हुने व्यवस्था छ ।

प्रदेशसभामा अहिले कायम रहेको सदस्य सँख्या एक सय सात छ । यो सँख्याको दुईतिहाइ भनेको ७१ दशमलव ३२ अर्थात् ७२ सदस्य हो ।

गठबन्धन दलहरू नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १८, नेकपा माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९ र नेकपा एकीकृत समाजवादीका ७ गरी ६५ तथा नागरिक उन्मुक्ति पार्टीका १, राप्रपाका १, संघीय समाजवादी पार्टीका १ र स्वतन्त्रका २ गरी पाँच सदस्य जोडिँदा हुने ७० सदस्य महाभियोग पारित गर्न दुई मत अपुग छ ।

बैठकको अध्यक्षता गर्ने पदधिकारीको सँख्या नजोड्दा एमाले र जनमतसँग ३६ मत मात्र छन् । तर, जनमतको साथ हुँदा गठबन्धनले पुरै सँख्याका साथ महाभियोग पारित गर्न खोजे पनि बैठकको अध्यक्षता गर्ने उपसभामुख वा उपसभामुखका लागि महाभियोग पारित गर्दाका बेला सभामुखको निर्णायक मतका कारण दुवै परिस्थितिमा विफल हुनेछ ।

विश्वासको मतलगायत विभिन्न महत्वपूर्ण संसदीय प्रक्रियामा बैठकको अध्यक्षता गर्ने सभामुख उपसभामुखले मत बराबर भएमा निर्णायक मत दिने संवैधानिक व्यवस्था छ । तर, आफूमाथि नै महाभियोग लागेको अवस्थामा बैठकको अध्यक्षता दुवैमध्ये एकले गर्ने महाभियोग खेपिरहेका पदाधिकारीले मतदान गर्ने सक्नेछन् ।

‘अहिले सदनको अंकगणितबाट सभामुख हटाउन सकिँदैन,’ प्रदेशसभामा १३ सदस्य रहेको जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव भने, ‘दुईतिहाइबाट सभामुख हटाउन सकिने प्रावधानका कारण जनमत पार्टीले नचाहेमा सभामुख परिवर्तन गर्न सम्भव छैन ।’ नेकपा एमालेका २४ र जनमतका १३ गरी ३७ सदस्य विपक्षमा मतदान गरे सभामुखमाथि लगाउन सकिने महाभियोग पारित हुँदैन ।

जनमत पार्टीको संसदीय दलका नेता यादवले नेकपा एमाले र जनमत पार्टी एक ठाउँमा हुँदासम्म सभामुख र उपसभामुख दुवै आफ्ना जिम्मेवारीमा सुरक्षित रहने जनाए ।

मधेश प्रदेशका पूर्वमहान्यायाधिवक्ता दिपेन्द्र झाले भने सभामुखमा निर्वाचित हुँदा सम्बन्धित प्रदेशसभा सदस्य दलमा नरहने गरी निष्पक्ष हुनेहुँदा सामान्यतया महाभियोग नलगाइने परम्परा रहेको बताए । उनले संविधान तथा कानुनको उल्लंघन र खराब आचरण पुष्टि हुने प्रक्रियापछि मात्र मतदान हुने कारणले सामान्य अवस्थामा यस्तो हुने अनुमान उचित नभएको टिप्पणी गरे ।

यता मधेश प्रदेशसभामा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले भने दलहरूमा बढ्दै गएको पदलोलुपताको प्रवृत्तिका कारण जे पनि हुनसक्ने बताए ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH