१४ महिना जेलवास गरेका मानमहन्थको मटिहानीमा भव्य स्वागत
टोलपडोस समाचारदाता
जनकपुरधाम, ६ फागुन ।
अदालतबाट निर्दोष ठहर भएपछि कारागार मुक्त भएका राजगुठी मटिहानीका मानमहन्थ जगरनाथ दास शास्त्री आइतबार मटिहानी आइपुगेका छन् । उनलाई मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डललगायत स्थानीयले भव्य स्वागत गरेका छन् ।
उनलाई हार्दिकता र प्रसन्नताका साथ राजगुठीमा भित्र्याइएको छ ।
सरकारी छाप दस्खत लिखत कीर्ते मुद्दामा मानमहन्थ दास पुर्पक्षका लागि गत १४ महिनादेखि भैरहवा कारागारमा थिए । उनलाई गत फागुन २ गते बुधबार जिल्ला अदालत रूपन्देहीले निर्दोष ठहर गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीको इजलासले जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको सहीछाप कीर्ते गरी रोक्का गरिएको बैंक खाता खुलाएको मुद्दामा दासमाथिको अभियोग दाबी नपुगेको फैसला बुधबार सुनाएको छ ।
यसअघि सोही मुद्दामा अभियोगपत्र दायर भएपछि अदालतले दासलाई गत २०७९ साल पुस महिनामा भैरहवा कारागार पठाएको थियो ।