मधेश प्रदेश : सरोज सरकारले पायो विश्वासको मत
टोलपडोस समाचारदाता
जनकपुरधाम, ६ फागुन ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार मधेश प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । सरकारबाट जनमत पार्टी बाहिरिएसँगै संवैधानिक व्यवस्थाका कारण मुख्यमन्त्रीलाई यादवलाई सरकारको निरन्तरताका लागि विश्वासको मत लिनुपरेको हो ।
मुख्यमन्त्रीले निर्धारित ३० दिनभित्रमै लिएका विश्वासको मतका पक्षमा ६९ मत र विपक्षमा ३५ मत परेका छन् । विश्वासको मत दिने निर्वाचन प्रक्रियामा प्रदेशसभाका एक सय सात सदस्यमध्ये तीन सदस्य सहभागी भएनन् । विश्वासको मत लिनका लागि ५३ भन्दा बढी प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।
केही समययता सरकारको नेतृत्व आलोपालो हुनुपर्ने, राजनीतिक नियुक्तिमा समान ढंगले भागबन्डा हुनुपर्ने र शक्तिशाली मन्त्रालयमा सबै दलको सहभागिता हुनुपर्ने आदि विषयमा टुंगो लाग्नुपर्ने भन्दै मुख्यमन्त्रीसँग अन्य सत्तारुढ दल असन्तुष्ट रहँदैआएका थिए । तर, विश्वासको मतका बेला भने सत्तारुढ दलहरू एकढिक्का भएर पक्षमा मतदान गरेका छन् ।
गठबन्धनको केन्द्रीय नेतृत्वका निर्देशनमा प्रदेशसभाभित्र सत्तारुढ दलहरू एक्यबद्ध भएका हुन् ।
प्रदेशसभामा २३ सदस्य रहेको नेकपा एमालेले सरकार सुस्त ढंगले सञ्चालन भइरहेको र आर्थिक वर्ष घर्कँदै जाँदा प्रभावकारी काम गर्न नसकेको भन्दै विश्वासको मतको विपक्षमा मतदान गरेको छ ।
एमालेले यसअघि आफूसँगको गठबन्धन चुँडाएर मुख्यमन्त्री यादवले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई सरकारमा सहभागी गराएपछि पनि विश्वासको मत दिएर बाहिरबाटै समर्थन गरेको थियो ।
सदनमा प्रमुख प्रतिपक्षी रहेको एमालेले सो भूमिकामा निरन्तरता पाउने भएको छ । सरकारमा सहभागी नरहेको र सदनमा कायम कुल सदस्य सँख्याका १० प्रतिशत सदस्य रहेको सबैभन्दा ठूलो दल प्रमुख प्रतिपक्षी रहने प्रावधान छ ।
यसअघि सरकार सञ्चालनमा जनता समाजवादी पार्टी(जसपा) नेपालको एकल वर्चस्व र नियन्त्रण रहेको भन्दै जनमत पार्टी करिब एक महिनाअघि सरकारबाट बाहिरिएको थियो ।
प्रदेशसभामा गठबन्धन दलहरू नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १८, नेकपा माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९ र नेकपा एकीकृत समाजवादीका ७ गरी ६५ तथा सरकारलाई समर्थन गर्दैआएका नागरिक उन्मुक्ति पार्टीका १, राप्रपाका १, संघीय समाजवादी पार्टीका १ र स्वतन्त्रका २ गरी पाँच सदस्य छन् ।