आज भव्यतापूर्वक प्रजातन्त्र दिवस मनाइँदै

२०८० फाल्गुन ७, सोमबार ००:४६
विकिपिडियाबाट साभार तस्बिर ।

टोलपडोस डेस्क
जनकपुरधाम, ७ फागुन ।
आज फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । सरकारले तीन दिने कार्यक्रमअन्तर्गत राष्ट्रिय प्रजातन्त्र दिवस २०८० भव्यतापूर्वक मनाइरहेको छ ।

२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानिया राणा शासन अन्त्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । आज फागुन ७ गते सोमबार विशेष कार्यक्रम गरेर दिवस मनाउन लागिएको हो ।

आज नेपाली सेनाले काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा बिहान सूर्योदयसँगै बिगुल (रिभ्याली) बजाउने तथा तोप र बन्दुकको बढाइँ गर्ने, सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्नेछ ।

सैनिक मञ्च टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को औपचारिक कार्यक्रम गरिनेछ जसमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक अगंका प्रमुख, कूटनीतिक नियोगका प्रमुखसहित उच्च सरकारी कर्मचारीको उपस्थिति रहनेछ ।

गृह मन्त्रालयले विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा कार्यालयका छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउन र साँझ दीप प्रज्वलन गर्न भनेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका विशिष्ट गौरवमय मौलिक पहिचान तथा विशेषता झल्कने विद्युतीय प्रचार सामग्री समुचित प्रचार–प्रसारका लागि परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा यसअघि नै पठाइसककोे छ ।

यसैगरी सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन भएर विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।

दिवसमा स्थानीय तहका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घसंस्थाका कार्यालयका छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाइने र साँझ दीप प्रज्वलन गरिनेछ ।

 

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH