धनगढीमाईमा शल्यक्रियाबाट आँखा देख्ने भए मोतियाबिन्दुका बिरामी

२०८० फाल्गुन ७, सोमबार ०१:१२
सिरहाको धनगढीमाई नगरपालिकामा मोतियाबिन्दुका बिरामी जाँच गर्दै चिकित्सक । पृष्ठभूमिमा आँखाको शल्यक्रिया गरिएका बिरामी । तस्बिर : न्युज कारखाना

मुकेशकुमार यादव
सिरहा, ७ फागुन ।
विगत लामो समयदेखि आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसकेका धनगढीमाई नगरपालिकाका स्थानीय गाउँमै निःशुल्क आँखाको उपचार पाएपछि हर्षित भएका छन् ।

धनगढीमाई नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको साझेदारीमा लामो समयदेखि आर्थिक अभावका कारणले आँखाको उपचार गराउन नसेका स्थानीयले पालिकामै निःशुल्क उपचार पाएपछि हर्षित भएका हुन् ।

धनगढीमाई नगपालिकाले तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको साझेदारीमा १० दिनदेखि पालिकाका प्रत्येक वडामा मोतियाबिन्दु बिरामीका लागि शिविर सञ्चान गर्दा स्थानीय खुसी भएका छन् । मोतियाबिन्दुका अप्रेसन (शल्यक्रिया) पछि आफ्नो दूरदृष्टिमा सुधार आएकोमा वडा नम्बर ५ जयपुरका ७३ वर्षीय बुद्धिलाल महतोले खुसी व्यक्त गरे ।

उनले भने, ‘उमेरसँगै मैले टाढा देख्न छाडिसकेको थिएँ । असजिलो गरी जीवन चलिरहेको थियो । शल्यक्रियापछि अहिले म ढाढा पनि देख्न सक्ने भएको छु ।’

आर्थिक अभावका कारण आँखाको उपचार गर्न नपाएकी ८० वर्षीया जलेश्वरीदेवी कामतीले उपचारपछि ज्योति फर्केकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘राम्रोसँग देख्न छाडिसकेको भए पनि आर्थिक अभावका कारण उपचार गराउन पाइरहेको थिइनँ, नगरपालिकाले घरमै निःशुल्क उपचार सेवा दिएर आँखाको ज्योति फर्काएको छ ।’

धनगढीमाई नगरपालिका १० का ५७ वर्षीय लोकबहादुर मगरको आँखामा ३ वर्षअघि मोतियाबिन्दुको समस्या देखिए पनि उनले शल्यक्रिया गराउन सकिरहेका थिएनन् । उनले भने, ‘मेरो आँखामा तीन वर्षअघि नै मोतियाबिन्दुको समस्या भएको थियो । त्यसबेला शल्यक्रिया गर्ने अवस्था थिएन । पछि पनि अस्पताल जान नपाइरहेका बेला नगरपालिकाले गाउँमै अप्रेसनसहितको निःशुल्क शिविर ल्याएपछि मेरो उपचार भयो ।’

एक साताभन्दा लामो शिविरमा ५ सय २४ जनाको निःशुल्क आँखा अपरेसन भएको नगरपालिकाका सामाजिक विकास शाखाका संयोजकसमेत रहेका वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश योञ्जनले जानकारी दिए ।

उनले भने, ‘योपटक अत्यन्तै राम्रोसँग शिविर सम्पन्न भयो । हामीले तिलगंगा आँखा प्रतिष्ठानलाई बर्सेनि शिविर सञ्चालन गरिदिन र नगरपालिकामा सर्जिकल सेवासहितको शाखा खोलिदिन अनुरोध गरेका छौँ ।’

नगरको आफ्नै अस्पताल भए पनि शल्यक्रिया गर्न र शल्यक्रियापछि बिरामीलाई आराम गर्ने पर्याप्त ठाउँ नभएकाले धनगढीमाई १० स्थित प्रमुख प्रशासकीय भवनमा उपकरण जडान गरी आँखाका बिरामीको शल्यक्रिया गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख विन्देश्वरप्रसाद यादवले जानकारी दिए ।

यादवले शिविर सञ्चालनका लागि प्रतिष्ठानबाट डा. इन्दिरा पौडेलको नेतृत्वमा चार चिकित्सक र २२ जना स्वास्थ्यकर्मी गरी २६ जना आएका र नगरपालिकाले समेत आवश्यक प्राविधिक जनशक्ति परिचालन गरेको बताए ।
शिविरको अन्तिम दिनसम्ममा पाँच सय २४ सयजना बिरामीको शल्यक्रिया गरिएको छ ।

प्रतिष्ठानबाट आएका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले गत २५ माघदेखि भवानीपुर, अयोध्यानगर, फुलकहाकट्टी, हनुमाननगर स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र सर्रे अम्बास, प्राकृतिक अस्पताल र नयनपुर अस्पतालमा बुधबारसम्म आँखाका बिरामीको आँखा जाँच गरी शल्यक्रिया गरिनुपर्ने बिरामी पहिचानका लागि स्क्रिनिङ शिविर चलाएका थिए ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका परियोजना अधिकृत महेश पराजुलीले प्रतिष्ठानको अन्धोपन निवारण गर्ने योजनाअनुसार यस वर्ष २४ हजार मोतियाबिन्दुको शल्यक्रिया गर्ने लक्ष्य रहेको बताए । सोही योजनाअनुसार धनगढीमाई नगरपालिकाको अनुरोधमा प्रतिष्ठानले यहाँ शिविर सञ्चालन गरेको बताए ।

उनले यो प्रविधिअनुसार अस्पतालमा गएर शल्यक्रिया गराउने हो भने एउटा शल्यक्रियाको अस्पतालले मात्र करिब १७ हजार रुपैयाँ लिने बताए । अति नै विश्वसनीय आफ्नै उत्पादित लेन्स र विश्वस्तरको प्रविधि प्रयोग गरेर अप्रेसन भएको उनको भनाइ छ ।

(न्युज कारखाना)

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH