प्रतिगामी शक्ति धमिलो पानीमा माछा मार्दैछन् : मुख्यमन्त्री यादव

टोलपडोस समाचारदाता
जनकपुरधाम, ७ फागुन ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रजातन्त्रको अर्थ सुशासनको अनुभूति भएकाले यो भाषणमा नभएर काममा देखिनुपर्ने बताएका छन् ।
प्रजातन्त्र दिवस २०८० का अवसरमा सोमबार शुभकामना तथा बधाई दिँदै मुख्यमन्त्री यादवले जनताको जीवन उकास्न सबैमा इमानदार भावना जरुरी भएको औंल्याए ।
उनले प्रजातन्त्रवादीका कमीकमजोरीका कारण प्रतिगामी शक्ति धमिलो पानीमा माछा मार्न तल्लीन भएकाले प्रजातन्त्रलाई जोगाउन र जनताको मुहारको हाँसो ल्याउन सबैले आआफ्ना स्वार्थभन्दा माथि उठेर अहोरात्र खट्नुपर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
२००७ साल फागुन ७ गते जहानियाँ राणाशासनमा १०४ वर्षसम्म कैद मुलुक मुक्त भएको ऐतिहासिक दिनमा मुलुकले लामो उकुसमुकुसपछि कोल्टे फेरेको स्मरण गर्दै मुख्यमन्त्री यादवले चेतनाको च फैलिएको हेर्न नचाहने, एउटा सीमित वंशको पेवासरह भएको सामन्ती मुलुकमा क्रान्तिपछि जनता रैतीबाट जनता भएका र यसै दिन नेपाल आधुनिक युगमा प्रवेश गरेको बताए ।
प्रजातन्त्रका लागि भएका सङ्घर्षमा मधेसी जनताको योगदान पनि रहेको भन्दै उनले जनतालाई प्रजातन्त्रको कोसेली दिने जेलनेल खेपेका र आत्माहुति दिएका प्रजातन्त्र सेनानीहरूप्रति श्रद्धासुमन व्यक्त व्यक्त गरेका छन् ।
जनताले लडेर ल्याएको प्रजातन्त्र २०१७ सालमा राजाले खाइदिएकाले जनताले ३० वर्षसम्म सङ्घर्ष गर्नुपरेको र २०४६ सालमा प्रजातन्त्रको पुनसर््थापना परिवर्तनपछि पनि आम मानिसको जीवनमा अपेक्षित सुधार आउन नसक्दा २०६२ २०६३ को आन्दोलन अनि न्याय र समानताका लागि मधेश आन्दोलन भएको चर्चा मुख्यमन्त्रीको सन्देशमा गरिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुग्नु देशको साझा उपलब्धि भएको बताउँदै उनले त्यस उपलब्धिको फल जनतासम्म पुग्न नसकेको बताए ।