सबै दिवस प्रजातन्त्रकै पर्याय हुन् : नगरप्रमुख साह

२०८० फाल्गुन ७, सोमबार २०:०७
जनकपुरधाम उपमहानगरप्रमुख मनोजकुमार साह । तस्बिर : अनिलकुमार कर्ण

टोलपडोस समाचारदाता
जनकपुरधाम, ७ फागुन
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले परिवर्तनका लागि देशमा भएका विभिन्न आन्दोलन तथा विद्रोहबाट प्राप्त उपलब्धिका लागि मनाइने सबै दिन प्रजातन्त्रकै पर्याय रहेको बताउँदै ऐतिहासिक चारवटा दिवसलाई एउटै उत्सवका रूपमा मनाउन आह्वान गरेका छन् ।

७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा नगरप्रमुख साहले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, जनयुद्ध दिवस र गणतन्त्र दिवसलाई प्रजातन्त्र दिवसकै रूपमा एकैदिन मनाउनुपर्ने उल्लेख गरे । उनले पछि थपिएका बलिदानी दिवसलगायत नागरिक हक बहाली भएका अन्य महत्वपूर्ण दिनसँग सम्बन्धित कार्यक्रमलाई पनि सोही दिवसमा समेट्न सकिने उनको भनाइ छ ।

परिवर्तनका लागि आत्माहुति दिएका सहिदलाई छुट्टै र विशिष्ठ ढंगले स्मरण गर्न फरक दिनमा सहिद दिवस मनाउनुपर्ने भन्दै नगरप्रमुख साहले एकै दिन विशेष दिवस भए नेपाली जनताले सञ्चित उत्साहका साथ उत्सव मनाउने तथा कार्यक्रम समेत थप प्रभावकारी हुने थपे ।

एकैदिनमा खास दिवस मनाइए बिदामा कमी आउने र देशका जनशक्ति तथा साधनस्रोतमा विराम नलाग्दा उत्पादनमुखी काम हुने औंल्याउँदै उनले यसबाट देश प्रगतिउन्मुख हुने विश्वास व्यक्त गरे ।

नगरप्रमुख साहले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको सङ्कल्प हासिल गर्न सदैव उत्साह एवं प्रेरणा प्रदान होस् भन्ने कामना गरेका छ्न ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मन्डल, धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेलगायतका व्यक्तिहरूले आआफ्ना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH