जनकपुरधाम : दुई प्रदर्शनकारी हिन्दुवादी पक्राउ

टोलपडोस समाचारदाता
जनकपुरधाम, ८ फागुन ।
महोत्तरीको सम्सीमा महावीरझन्डाको कलशयात्रा गर्ने क्रममा रामध्वनी चर्को भएको भन्दै भिएको प्रतिकारमा उत्रिएका एकअर्को समुदाय र हिन्दु श्रद्धालुभक्तजनबीचको विवादबाट उत्पन्न परिस्थितिलाई लिएर प्रदर्शन गरिरहेका दुई हिन्दुवादी कार्यकर्ता पक्राउ परेका छन् ।
सम्सी घटनामा बिनाकारण फरक समुदायबाट हिन्दुले हिँसात्मक आक्रमण झेल्नुपरेको र त्यसबाट हिन्दुले धार्मिक तथा साँस्कृति पर्वउत्सव मनाउन कठिन रहेको भन्दै त्यस घटनाविरुद्ध जनकपुरधामको रामानन्दचोकमा विरोध प्रदर्शन गर्न पुगेका दुई हिन्दुवादी कार्यकर्तालाई धनुषा प्रहरीले सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेका ती दुई कार्यकर्ता हिन्दु गणतन्त्र नेपालका पक्षमा आवाज उठाउँदै आएका विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानका स्थानीय नेता मनीष पूर्वे र पंकज झा छन् । मनीष हिन्दुका नाउँले परिचित पूर्वे हिन्दु हितका पक्षमा वकालत गर्ने कट्टरवादी कार्यकर्ता मानिन्छन् ।
राष्ट्रिय एकता अभियानका संयोजक यादवले शान्तिपूर्ण प्रदर्शन गरिरहेका अभियानका नेता पूर्वे र मिश्रको रिहाइको माग गरेका छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले शान्तिसुरक्षाका प्रयोजनले तिनीहरूलाई हिरासतमा लिइएको बताए । उनले त्यसबाहेक थप केही नबोल्ने पनि भने ।
धनुषा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रञ्जन अवाले त्यसबारे आफूले केही नबोल्ने जनाए ।