कमला सिँचाइको खजुरी शाखा जलउपभोक्ता अध्यक्षमा हरिदेव
टोलपडोस समाचारदाता
जनकपुरधाम, ९ फागुन ।
कमला सिँचाइ व्यवस्थापन कार्यालयअन्तर्गत पश्चिमी नहर प्रणालीको खजुरी शाखाको जलउपभोक्ता समितिका अध्यक्षमा सहिदनगर–२ का हरिदेव यादव निर्वाचित भएका छन् । ९९ मतका साथ अध्यक्षमा निर्वाचित यादवका निकटतम प्रतिद्वन्द्वी सहिदनगर–८ का वैद्यनाथ मण्डल केवटले ५७ मत प्राप्त गरेका छन् ।
यसैगरी शाखामा उपाध्यक्षमा कमला नगरपालिका–३ की सीतादेवी ठाकुर ९३ मत हासिल गरी विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी कमला–१ का दानी मण्डलले ५३ मत प्राप्त गरेका छन् ।
सचिवमा सहिदनगर–८ का अशोककुमार यादव ९६ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी जनकनन्दिनी–४ का ललित कापरले ५३ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा ८६ मत पाएर कमला–३ का जनकलाल बनरैत चुनिएका छन् भने उनका प्रतिद्वन्द्वी जनकनन्दिनी–४ का रोशन यादवले ६० मत प्राप्त गरेका छन् ।
यसैगरी कार्यकारी सदस्यमा पुरुषतर्फ झोमकुमार यादव, सुरेन्द्रकुमार यादव, रामएकवाल यादव, गेरधाल मुखिया, देवेन्द्रकुमार भरखेर र शुभेश्वर यादव निर्वाचित भएका छन् ।
कार्यकारी सदस्य महिलातर्फ रेखाकुमारी मण्डल, प्रमिलाकुमारी देवी यादव, सरितादेवी यादव, रेणुकुमारी र लक्ष्मीनियाँ देवी चुनिएका छन् ।
यसैगरी मूलसमितिमा पुरुषतर्फ भरत यादव र रामदेव साह तेली तथा महिलातर्फ किरणदेवी मण्डल चयनित भएका छन् ।
कमला सिँचाइको पश्चिमी नहर प्रणालीअन्तर्गतकोे खजुरी शाखाअन्तर्गत १५प्रशाखा छन् । यो शाखाबाट तीन हजार हेक्टर अर्थात् करिब साढे चार हजार बिघा जग्गामा सिँचाइ हुनेगर्छ ।
कमला सिँचाइको पश्चिमी नहर प्रणालीमा डेढ दशकभन्दा बढी समयदेखि मूल, शाखा तथा प्रशाखाका जलउपभोक्ता समितिका निर्वाचन भइरहेका छन् । सोही क्रममा खजुरी शाखाको निर्वाचन भएको हो ।
कमला सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख एवम् डिभिजनल इन्जिनियर वीरेन्द्र यादवको नेतृत्वमा गत वर्षबाटै गृहकार्य पुरा भई केही समयअघिबाट प्रशाखा हुँदै शाखा नहर प्रणालीका समितिमा चुनाव भइरहेका छन् । यसअघि परवाहा तथा रघुनाथपुर शाखा नहर समितिका निर्वाचन भइसकेका छन् ।
फागुनभित्रमै मूल नहर प्रणालीको जलउपभोक्ता समितिको निर्वाचन भइसक्ने लक्ष्यका साथ शृखंलाबद्ध ढंगले चुनाव भइरहेको कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा (धनुषा) का प्रमुख डिभिजनल इन्जिनियर यादवले जानकारी दिए ।
बाँध, कुलो, नहर र सिँचित क्षेत्रका लागि पानी वितरण प्रणालीको निर्माण, सञ्चालन, मर्मतसम्भार र व्यवस्थापनमा सहभागिता र तिनका लागि स्रोत संकलन तथा उपयोग गर्नुका साथै सिँचाइ जलउपभोक्तालाई प्रभावकारी र समानुपातिक ढंगले जलवितरण गर्नु आदि जलउपभोक्ता संस्थाहरूको उद्देश्य हुन्छ ।