संविधान संशोधनका लागि हृदयेश र वृषेशले गरे हातोमाले
टोलपडोस समाचारदाता
जनकपुरधाम, ९ फागुन ।
नेपालको संविधानमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणलगायतका विषयमा दुई मधेशकेन्द्रित राजनीतिक दलले सहकार्य गर्ने भएका छन् ।
हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल अध्यक्ष रहेका तराई मधेश लोकतान्त्रिक पार्टीबीच पाँचबुँदे राजनीतिक कार्यक्रममा सहकार्य गर्ने सहमति भएको हो ।
सहकार्यका लागि सहमति भएका बुँदामा संविधान संशोधनसँगै तराई–मधेशसँगै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति, सबै प्रकारका विभेद अन्त्य, अर्थतन्त्रमा सुधार तथा कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशीलता एवम् लाल आयोगको प्रतिवेदन सार्वजनिक तथा कार्यान्वयन गराउने विषय समेटिएका छन् ।
सहकार्यबारे सहमतिसम्बन्धी संयुक्त विज्ञप्तिमा ती विषयसँग सहमत हुनसक्ने लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत अन्य दललाई सहकार्य अभियानमा सरिक हुन आग्रह गरिएको छ ।