प्रधानमन्त्री प्रचण्डले कमलाको झोलुङ्गे पुल उद्घाटन गर्ने

२०८० फाल्गुन १०, बिहीबार २०:१३
कमला नदीमा बनेको धनुषा र सिरहा जोड्ने झोलुङ्गे पुल । तस्बिर : विपिन

विपिन यादव/टोलपडोस
जनकपुरधाम, १० फागुन ।
धनुषा र सिरहा जोड्ने कमला नदीमा नेपालको सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले गर्नेभएका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारीे चक्रपाणि पाण्डेले फागुन १२ गते शनिबार प्रधानमन्त्रीले सो झोलुङ्गे पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

पुलले धनुषाको जनकनन्दनी गाउँपालिका वडा नंं. ६ कठाल र सिरहा नगरपालिका वडा नंं.१३ मलहनियालाई जोडेको छ । प्रधानमन्त्री दाहालले सोही दिन सबैला-४ पटेरवा र सिराहा जोड्ने कमला नदीमा मोटरेबल पुल शिलान्यास गर्ने कार्यक्रम समेत रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

नेपाल सरकारको ३४ करोडको लगानीमा निर्माण भएको सो झोलुङ्गे पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर र चौडाइ एक दशमलव दुई मिटर रहेको इन्जिनियर विनोदकुमार मण्डलले बताए ।

इन्जिनियर मण्डलले डेढ वर्ष अवधिमा निर्माण भएको सो पुल सम्पन्न गराउन अवैतनिक भएर प्राविधिक सहयोग गरेका छन् । पुल निर्माणको ठेक्का सपना उमा थानी निर्माण सेवाले लिएको थियो । निर्धारित समयअघि नै सो पुल निर्माण भएको हो ।

पुलको भारवहन क्षमता पाँच सय ४० मेट्रिक टन छ भने एकपटकमा तीन हजार ८६ जना व्यक्ति ओहोरदोहोर गर्न मिल्ने रहेको इन्जिनियर मण्डलले जानकारी दिए ।

यस अघि नेपालको सबैभन्दा लामो पुल दोधाराचाँदनीको रहेकोमा अब कमला नदीमा निर्माण भएको झोलुङ्गे पुल सबैभन्दा ठूलो भएको छ ।

कमला नदीमा झोलुङ्गे पुल निर्माण भएपछि धनुषा र सिरहा जिल्लाका लाखौँ व्यक्ति लाभान्वित हुने भएका छन् । पुलबाट मोटरसाइकल, साइकल र पैदलयात्री ओहोरदोहोर गर्नेछन् ।

कमलामा गत १३ वर्षदेखि निर्माण भएको पक्की पुल निर्माण नभएपछि त्यसको विकल्पमा सर्वसाधारणले झोलुङ्गे पुल प्रयोग गर्ने भएका छन् । तर, सो झोलुङ्गे पुलमा मझौला तथा ठूला सवारी साधन नचल्ने हुँदा पक्की पुलको पर्खाइ अझै छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH