जनकपुर साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु, डा.विमल सम्मानित

२०८० फाल्गुन १०, बिहीबार २३:४९
नवमिथिला फाउन्डेसनले बिहीबारबाट जनकपुरधाममा आयोजना गरेको तीनदिने जनकपुर साहित्य महोत्सवको पाँचौँ संस्करण उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य दिँदै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह । तस्बिर : नवमिथिला फाउन्डेसन

टोलपडोस समाचारदाता
जनकपुर, १० फागुन ।
जेठा साहित्यकार डा.राजेन्द्र विमल महानन्द साधक सम्मानबाट सुशोभित भएका छन् । अमेरिकी राज्य टेक्सासको डायलसमा स्थापित महानन्द पुरस्कार गुठीले बर्सेनि दिँदैआएको सो सम्मान नेपाली साहित्यमा गहन योगदान दिएबापत डा.विमललाई यस वर्ष दिइएको हो ।

नेपाली साहित्य फाँटमा दिइने अधिकांश पुरस्कार र सम्मान प्राप्त स्रस्टा डा.विमललाई प्रशस्तिपत्र र नगद पचास हजारसहितको महानन्द साधक सम्मानबाट कवि विप्लव प्रतीक र प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधाममा बिहीबारबाट सुरु भएको तीनदिने जनकपुर साहित्य महोत्सवको मञ्चमा सम्मान गरेका छन् ।

महानन्द साधक सम्मान दिने महानन्द पुरस्कार गुठी सीता सापकोटाले स्थापना गरेकी छिन् ।

सम्मानित स्रस्टा एवम् जनकपुर साहित्य महोत्सव उद्घाटन समारोहका प्रमुख अतिथि डा.विमलले महोत्सवले स्रस्टाहरूलाई उड्न प्वाँख, उत्साह तथा हौसला र सुन्दर आकाश दिएको बताए ।

उनले सत्ताले सर्पजस्तो काँचुली फेरे पनि विष रहिरहने भन्दै सत्यनिष्ठाका लागि सङ्कल्पका साथ अघि बढ्नुपर्ने उल्लेख गरे । साहित्य समाजको दर्पण भएको बुझाइ गलत र भ्रामक रहेको औंल्याउँदै उनले साहित्य समाजका सर्पबिच्छी र झुन्डिएका लाटोकोसेरो देखेर अघि बढ्ने चेतनाको दीपशिखा भएको स्पस्ट पारे ।

साहित्यिक क्षेत्रका नक्षत्रहरूले पार्टीका झोला बोकेर अनिष्टकारी ग्रहलाई चम्क्याएको भन्दै उनले गुरुत्वाकर्षण बलका कारण सच्चा नक्षत्रहरू उल्कापिण्ड भएर धरतीमा खसिरहेकामा चिन्ता व्यक्त गरे । साहित्यकारले बाचुञ्जेल सुन्दर देश बनाउन चेतनामा रूपान्तरण ल्याउने प्रयत्न गरिरहनुपर्ने उनको कथन थियो ।

डा.राजेन्द्र विमल

डा.विमलले भाषा, सँस्कृति र पहिचान पुनर्खोज तथा पुनःस्थापित गर्न जनकपुर साहित्य महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको थप्दै आफ्ना भाषा, भेषभूषा, संस्कृति, लोकगीत, लोकगाथा र भोजन प्रणालीमाथि गौरव गनुपर्नेमा जोड दिए ।

महोत्सवको उद्घाटनसत्रमा साहित्यकार रोशन जनकपुरीले जनकपुरसँग जोडिएका विश्वास र मिमांशाका बारेमा चर्चा गर्दै जनककालीन प्राज्ञिक परम्परालाई अध्यात्मिक दृष्टिले मात्र नभएर भौतिकताको परिप्रेक्ष्यमा समेत हेर्नुपर्ने बताए ।

उनले जनककालीन ऋषिमुनिहरू तत्कालीन जीवजन्तु र वस्तुसहितको परिवेशको उपज भएका र तिनकै सेरोफरोमा आफ्ना अभ्यास अघि बढाएकाले त्यस विषयमा समेत विमर्श गरी जनकपुरको अतीतलाई वर्तमानसँग जोड्न सुझाए ।

भारतीय वाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवीसहाय मिणाले साहित्यिक उत्सव साँस्कृतिक सम्पर्कको सबैभन्दा प्रभावी साधनमध्ये एक भएको र मानिसका मतभेदभन्दा पर साझा अनुभवलाई उजागर गर्ने गरेको बताए ।

उनले साहित्यिक उत्सवले सबै क्षेत्रलाई एकसाथ ल्याउन सक्षम रहेको उल्लेख गरे । उनले भने, ‘’फेसबुक, ट्विटर र इन्स्टाग्रामको अहिलेको सामाजिक मिडियाका जमानामा किताब अझै शक्तिशाली र सही संयोजक हो ।’

महावाणिज्यदूत मिणाले साहित्य उत्सव विभिन्न पुस्ता र भौगोलिक सीमा पार मानिसलाई जोड्न एउटा पुलको काम गर्ने भन्दै यसले मानिसको पहिचानलाई आकार दिने र एकअर्कालाई नजिक ल्याउन महत्वपूर्ण योगदान दिने बताए ।

कार्यक्रममा जनकपुर उद्योगवाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जनकपुर कानुनी रूपमा जनकपुरधाम भइसकेकाले जनकपुर साहित्य महोत्सवमा जनकपुरको सट्टा जनकपुरधाम लेख्न आयोजकलाई सुझाव दिए । जनकपुर साहित्य महोत्सवको यो पाँचौँ संस्करण हो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले स्वागत मन्तव्य दिएका सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य झा, महोत्सव आयोजक नवमिथिला फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपाललगायतका वक्ताले आआफ्ना धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा महोत्सव आयोजक नवमिथिला फाउन्डेसनका संस्थापक अध्यक्ष स्व.अमित झाका नाउँमा स्थापित साहित्य सङ्गीत अबार्डबाट धनुषा तेतरियाका मिथिलाञ्चलको परम्परागत बाजा ढोलपिपही बजाउने दिपन महरा समूहलाई प्रदान गरिएको छ । यो अबार्डको राशि एक लाख रुपैयाँ छ ।

कार्यक्रममा फरक क्षमता भएकी कुशल नृत्यांगना सीता सुवेदीको नृत्य र सरोज लामिछानेको लाइभ चित्रकारी समेत प्रस्तुत गरिएको छ ।

महोत्सवमा विभिन्न समसामयिक विषयमा विमर्श हुने सत्रका साथै गीतसंगीत, कविता वाचनलगायतका सिर्जनात्मक कार्यक्रम हुनेछन् ।

नवमिथिला फाउन्डेसनले बिहीबारबाट जनकपुरधाममा आयोजना गरेको तीनदिने जनकपुर साहित्य महोत्सवको पाँचौँ संस्करण उद्घाटन कार्यक्रमका सहभागी । तस्बिर : नवमिथिला फाउन्डेसन

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH