सुरसन्ड बैठकको जिम्मेवारी लिए माओवादी नेता भरत साह
सुरसन्ड घटनामा सामेल भएकालाई कारबाही गर : नेता पासवान
टोलपडोस समाचारदाता
जनकपुरधाम, ११ फागुन ।
मधेश प्रदेशको मौजुदा सरकार नरहने गरी तानाबाना बुन्न ५८ प्रदेशसभा सदस्यको सीमावर्ती भारतीय कस्बा सुरसन्डवासको जिम्मेवारी मधेश प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहले लिएका छन् ।
बिहीबार अबेर साँझ सामाजिक सञ्जाल फेसबुकमा माओवादी केन्द्रका अर्का नेता पूर्वमन्त्री उमेश यादवको प्रश्नसहितको एउटा पोस्टमा टिप्पणी गर्दै नेता साहले मधेश प्रदेशका प्रदेशसभा सदस्यहरूको सुरसन्ड बैठक गर्ने आफू नै रहेको स्वीकार गरेका छन् ।
जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन लागेका बेला सदनमा अनुपस्थित भई प्रस्ताव पारित हुन नदिन गत आइतबारको अघिल्लो दिन सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्रसहित विभिन्न राजनीतिक दलका ५८ सांसद शनिबार साँझ सुरसन्ड पुगेका थिए ।
तर, प्रमुख प्रतिपक्षी नेकपा एमाले र जनमतको लहलहैमा लागेर माओवादी केन्द्र, लोसपा, साना दल र स्वतन्त्र प्रदेशसभा सदस्य सीमापारि पुगेका खबर बाहिरिएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय दबाबपछि उनीहरूलाई फर्काइएको थियो ।
आइतबार बिहान प्रादेशिक राजधानी जनकपुरधाम फर्केका ती प्रदेशसभा सदस्यहरूले केन्द्रीय गठबन्धनको निर्देशनअनुसार मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएपछि सरकारमाथिको आसन्न संकट टरेको थियो ।
फेसबुकमा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री यादवले बिहारको सुरसन्ड बैठक गर्ने माओवादीका मधेश प्रदेशसभा सदस्यहरू कोको थिए र जनकपुरमा बैठक गर्न कसैले रोकेका थिए र भन्ने प्रश्न गरेका छन् । ती प्रश्नका उत्तरमा माओवादी नेता साहले ‘भरत साह’ भनी लेखेका छन् ।
माओवादीका नेता एवम् पूर्वमन्त्री महेन्द्र पासवानले सोही पोस्टमा सुरसन्ड घटना पार्टी नीति र गठबन्धन विपरीत भएको र त्यसमा सहभागी भएकाहरूलाई अनुशासनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग गरेका छन् ।
सुरसन्ड बैठक आफूले डाकेको नेता साहको स्वीकारोक्तिपछि एक फेसबुक प्रयोगकर्ता सन्तोष यादवले प्रश्न गरेका छन्, ‘तपाईँ माओवादीको तानाशाह हो र ?