जनकपुरधाम मेयरको मनपरी, ठेगान नभएका डाक्टरलाई सल्लाहकारमा नियुक्ति

२०८० फाल्गुन ११, शुक्रबार १९:२०
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह । तस्बिर : सामाजिक सञ्जाल

अनिलकुमार कर्ण/टोलपडोस
जनकपुरधाम, ११ फागुन ।
कानुनी परिचय नखुल्ने व्यक्तिलाई जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेका छन् । उनले नौ महिनाअघि गत जेठ २ गते डा. नवीनकुमार साहलाई स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेका थिए ।

जनकपुरधाम उपमहानगरपालिकाको छापसहितको लेटरहेडमा दिइएको चलानी नम्बर ७५४२ को नियुक्तिपत्रमा नगरप्रमुख साहले उपमहानगरपालिका मधेश प्रदेश अन्तर्गतको स्वास्थ्य विभागका सल्लाहकारमा नियुक्त गरेको जनाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा मधेश प्रदेश स्वास्थ्य शाखा छैन । उपमहानगर कार्यालयमा स्वास्थ्यसम्बन्धी विषयसँग सम्बद्ध सामाजिक विकास महाशाखा र स्वास्थ्य शाखा छन् । यी दुवै ठाउँसँगै उपमहानगरपालिका कार्यालयका कुनै पनि महाशाखा/शाखा मा स्वास्थ्य सल्लाहकारको दरबन्दी छैन ।

स्थानीय सरकार सञ्चालन ऐनले नगरपालिकाले नगरप्रहरी, सवारीचालक, सयस, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन,चौकीदार, माली, बगैँचे र सरसफाइसम्बन्धी पदमा करार नियुक्ति दिन सकिने भए पनि सोबाहेकका अन्य पद तथा सेवामा करारबाट पदपूर्ति गर्न नपाइने व्यवस्था गरेको छ । स्थानीय तहमा लोकसेवा आयोगमार्फत स्थायी पदपूर्ति हुने कानुनी व्यवस्था छ ।

कुनै पनि विधायन अधिकारप्राप्त संस्थाले समेत विधि र प्रक्रियाबाटै सल्लाहकार नियुक्त गर्दा कर्मचारीबाट सो काम सम्पादन हुन नसक्नुका कारण र सोका विवरण खुलाउनुपर्ने, सल्लाहकारले गर्नुपर्ने मुख्यमुख्य कार्य, आवश्यक न्यूनतम योग्यता, सेवाअवधि, पारिश्रमिक र सुविधा आदि खुलाउनुपर्ने अभ्यास छ ।

विभिन्न मापदण्डअनुसार सल्लाहकारले सम्बद्ध विषयमा स्नातक तह उतीर्ण गरी पाँच वर्ष अनुभव भएको र विज्ञका रूपमा पहिचान बनाएको व्यक्ति हुनुपर्नेछ ।

जिल्लाबाहेक अन्य ठेगानासमेत नखुलेका डा.साहको स्वास्थ्य सल्लाहकारमा भएको नियुक्तिसम्बन्धी पत्रमा त्यसका लागि टेकिएका ऐन, कार्यविधि वा निर्देशिका वा अन्य कानुनी व्यवस्थाबारे उल्लेख छैन । जनकपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले नगरप्रमुखको सचिवालयबाट प्राप्त डा.साहको नियुक्तिपत्रमा परिचय स्पस्ट हुने बेहोरा नखुलेको र नियुक्ति गर्नुपर्ने कारण तथा आधारसम्बन्धी कुनै कुरा उल्लेखित नभएको र त्यसबारेका दस्ताबेज पनि कार्यालयसँग उपलब्ध नरहेको बताए ।

उनले प्रमुखको सचिवालयसँगै नियुक्तिपत्र बोद्यार्थ गरिएका प्रमुख प्रशासकीय अधिकृत, प्रशासन शाखा तथा स्वास्थ्य शाखामा डा.साहको थरवतन खुल्ने नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता, विज्ञता हासिल गरेको कार्यअनुभव प्रमाणपत्र लगायत कुनै पनि दस्ताबेज फेला नपरेको जानकारी दिए । उनले डा.साहको नियुक्ति प्रकरणमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयलाई अन्य कागजात अभावमा नियुक्तिपत्रमात्र पठाएको बताए ।

अख्तियारले जनकपुरधाम उपमहानगरपालिकाका अन्य विषयसँगै स्वास्थ्य सल्लाहकारमा डा.साहको नियुक्तिबारे गम्भीर छानबिन गरिरहेको छ । त्यससँग सम्बद्ध जानकारी तथा कागजात माग गरेको अख्तियारलाई सो उपलब्ध गराउन उपमहानगरपालिका कार्यालयले अटेर गरेपछि गत मंगलबार अख्तियारले कर्मचारी नै खटाई आवश्यक कागजात संकलन गरेको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले स्वास्थ्यसम्बन्धी कार्यसम्पादन गर्न आफूले तलबभत्ता नदिनेगरी स्वास्थ्य सल्लाहकार नियुक्त गरेको बताए । उनले नगरप्रमुखले सल्लाह लिन नपाउने कानुनी व्यवस्था कहीँ नरहेको जिकिर समेत गरे । नियुक्तिका आधारबारेको जिज्ञासामा उनले भने, ‘सल्लाहकार नियुक्त गर्दा अब शैक्षिक योग्यता खोज्नुपर्छ । खोज्छु म ।’

स्रोतका अनुसार तलबसुविधा र कार्यविवरण समेत स्पस्ट नभएको नियुक्तिपत्रबाट स्वास्थ्य सल्लाहकारमा नियुक्त डा.साहले आरम्भबाटै टेबुलकुर्सी लगाएर उपमहानगरपालिका कार्यालयको स्वास्थ्य शाखामा बस्नेगरेका थिए ।

पदभार ग्रहणका दिन टेबुल पुरानो भएको गुनासो गरेपछि उपमहानगरपालिका प्रशासनले उनका लागि नयाँ टेबुल खरिद गरेर दिएको थियो । शाखाका पुरानो टेबुल अहिले दसौं तहका अधिकृत सामाजिक विकास महाशाखा प्रमुख एवम् अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले प्रयोग गरिरहेका छन् ।

स्वास्थ्य सल्लाहकारका रूपमा डा.साहले औषधि खरिद, निर्माणकार्य र अन्य सरसामान खरिदका योजना बुन्ने तथा तीबारे सम्बन्धित शाखा प्रमुखहरूलाई निर्देशन दिने कामसमेत गर्दैआएका थिए । उनको नियुक्तिपत्रमा नगरप्रमुख साहले समग्र उपमहानगरपालिकाको थप सुदृढ एवम् गतिशील बनाउनमा उनको महत्वपूर्ण योगदान रहने लेखेका थिए ।

उपमहानगरपालिकाका एक शाखा प्रमुखले नियुक्तिपत्रको सो बेहोरा देखाउँदै डा.साहले आफू स्वास्थ्यसम्बन्धी कामबाहेकका लागि पनि अधिकृत व्यक्ति भएको बताउँदै आएको दाबी गरेका छन् ।

प्रमुख साहले डा.साहलाई तलबभत्ताबिना स्वास्थ्य सल्लाहकारमा नियुक्त गरिएको बताए पनि उनलाई बैठक तथा अनुगमन भत्ता दिनेगरी स्वास्थ्यसंस्था अनुगमनसम्बन्धी पालिकाको समिति सदस्यमा राखिएको छ ।

अत्यन्त संवेदनशील मानिने सो समितिमा सामान्यतया उपमहानगरपालिकाका कर्मचारी सदस्य रहने गर्छन् । विज्ञ राख्नुपर्ने भए निश्चित विधि वा प्रक्रिया पुर्याएर मात्र राख्न सकिने अभ्यास छ । स्वास्थ्य सल्लाहकारकै रूपमा समिति सदस्यमा राख्न सकिने व्यवस्था छैन ।

कानुनले सार्वजनिक खरिद ऐनअन्तर्गत विशेषज्ञता प्राप्त व्यक्तिको सेवा लिनसक्ने व्यवस्था गरेको छ । तर, यसका लागि कार्यविवरण, त्यससँग सम्बन्धित विज्ञका योग्यता तथा अनुभव, कार्य कुनबेला, कहिले र कसरी गर्ने भन्ने प्रस्टताका साथ बजेटको अधीनमा रही विज्ञबाट सेवा लिनसक्ने व्यवस्था गरेको छ ।

डा.साहको नियुक्तिपत्र हेर्दा यस विधिबाट नियुक्ति नभएको र यो सार्वजनिक खरिद ऐनसम्मत भएको दाबी गर्न नसकिने एक अर्का पालिकाका प्रमुख प्रशासकीय अधिकृतले बताए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH