मधुबनीको सौराठमा भयो सीमा समन्वय बैठक

२०८० फाल्गुन ११, शुक्रबार २०:०१
सीमावर्ती भारतीय जिल्ला मधुबनीको सौराठमा शुक्रबार भएको जिल्लास्तरीय समन्वय समिति (बिडिसिसी) पछि नेपाल र भारतका प्रशासनिक एवम् सुरक्षा अधिकारी । तस्बिर : जिल्ला प्रशासन कार्यालय धनषा

टोलपडोस समाचारदाता
जनकपुरधाम, ११ फागुन ।
नेपाल–भारत जिल्लास्तरीय समन्वय समिति (बिडिसिसी) को बैठक सीमावर्ती भारतीय जिल्ला मधुबनीको सौराठस्थित मिथिला चित्रकला संस्थानमा शुक्रबार भएको छ । बैठकमा भएका छलफल तथा समझदारीबाट एकापसमा समन्वय, शान्तिसुरक्षा कायम र अपराध नियन्त्रणमा थप सहयोग हुने विश्वास लिइएको छ ।

भारतमा केही समयपछि लोकसभा निर्वाचन हुँदैछ । भारतको सङ्घीय संसदको तल्लो सदनको निर्वाचनमा सीमाक्षेत्रमा सुरक्षा तथा नियमानुसार हुने सीमाबन्द जस्ता विषयमा बैठकमा छलफल तथा समझदारी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।

निश्चित अवधिको अन्तरालमा नियमित रूपमा हुने बिडिसिसी बैठकमा सीमासुरक्षा, सीमापार अपराध नियन्त्रण, लागुऔषध र सीमाक्षेत्रमा अवैधानिक मदिरा नियन्त्रण, दसगजा अतिक्रमण नियन्त्रण, मानव बेचबिखन नियन्त्रण, नक्कली नोट नियन्त्रण आदि विषयमा समेत समझदारी भएका छन् ।

छलफलमा भारत र नेपालका सीमावर्ती जिल्लाहरू सप्तरी, सिराहा, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख तथा मधुवनी जिल्लाका डिस्ट्रिक मजिस्ट्रेट, प्रहरी प्रमुख, सीमा सुरक्षा बल प्रमुख लगायतको सहभागिता रहेको थियो ।

बैठकमा नेपालतर्फको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी पाण्डेले र मधुवनी जिल्लाका डिस्ट्रिक मेजिष्ट्रेट अरविन्दकुमार बर्माले गरेका थिए ।

सीमावर्ती भारतीय जिल्ला मधुबनीको सौराठमा शुक्रबार भएको जिल्लास्तरीय समन्वय समिति (बिडिसिसी) बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र मधुबनी जिल्लाका डिस्ट्रिक मेजिष्ट्रेट अरविन्दकुमार बर्मा हात मिलाउँदै । तस्बिर : जिल्ला प्रशासन कार्यालय, धनुषा

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH