जनकपुर प्रादेशिक अस्पताल : सिटी स्क्यान बिग्रिँदा बिरामीलाई सास्ती
टोलपडोस समाचारदाता
जनकपुरधाम, १२ फागुन ।
मधेस स्वास्थ्यविज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा केही दिनयता सिटी स्क्यान बिग्रिएपछि बिरामलाई बाहिरबाट सिटी स्क्यान गराउनु परिरहेको छ ।
केही गम्भीर रोगमा शरीरका खास भागको विस्तृत जानकारी प्राप्तिका लागि सिटी स्क्यान गर्न सिफारिस गर्छन् । बिरामीले अस्पतालमा चारदेखि छ हजार रुपैयाँमा गराउने सिटी स्क्यान बाहिर गराउँदा सातदेखि आठ हजार रुपैयाँ तिनुपर्ने हुन्छ ।
बिरामीको अवस्था र शरीरका भागका आधरमा गरिने सिटी स्क्यान र औषधि दिएर गर्नुपर्ने वा नदिई गर्नुपर्ने भन्ने कुराले खर्चमा भिन्नता ल्याउँछ । देशका अन्य ठाउँमा सिटी स्क्यान गर्ने निजी केन्द्रमा यसबापतको खर्च तीनदेखि छ हजार रुपैयाँ छ ।
सिटी स्क्यान एक्स–रे को एउटा रूप हो । जसको पूरा नाम कम्प्यूटराइज्ड फोटोग्राफी स्क्यान हो ।
बिरामीले बाहिर सिटी स्क्यान गराउँदा सिफारिस गर्ने चिकित्सकलाई आठ सय रुपैयाँदेखि लिएर कम्तीमा दुई हजारसम्म प्रति सिटी स्क्यान दिने गरिएको छ ।
‘जुनसुकै चिकित्सकले सिटी स्क्यान सिफारिस गरे पनि सोबापत बाहिरका जुनसुकै सिटी स्क्यान गर्ने संस्थाले इमानदारीपूर्वक कमिसन रकम दिनेगर्छ,’ अस्पतालका एक कर्मचारीले भने ।
चिकित्साक्षेत्रमा कमिसनको चलखेल सामान्य मानिन्छ । केही चिकित्सकले औषधि तथा प्याथोलोजी परीक्षण, एक्सरे तथा सिटी स्क्यान सिफारिसमा कमिसन लिनुलाई अधिकार मान्ने गर्छन् ।
अस्पतालको सिटी स्क्यान बन्द हुँदा अस्पतालबाहिरका सिटी स्क्यान केन्द्रको चाँदीकटाइ हुनेगर्छ ।
अस्पतालका निर्देशक डा.रामनरेश पण्डितले ब्याट्री फेर्नुपर्ने भएकाले अस्पतालमा सिटी स्क्यान बन्द रहेको बताउँदै दुईतीन दिनभित्रमै सिटी स्क्यान सञ्चालनमा आउने बताए ।