रेलमार्गका अवैध बाटाले सुस्त भयो जनकपुरको रेल

२०८० फाल्गुन १४, सोमबार १४:५३
जनकपुरधामको ब्रह्मपुरीस्थित सडक । बाह्रबिघाको पूर्वीउत्तर कुनालाई थापाचोक जोड्ने यो सडक भएर रेलमार्ग गुज्रिएको छ । तर, यो ठाउँमा रेल्वेको क्रसिङ्ग गेट छैन । तस्बिर : अनिल

अनिलकुमार कर्ण/टोलपडोस
जनकपुरधाम, १४ फागुन ।
जयनगर–जनकपुर–भङ्गहा रेलमार्ग पार गर्नेगरी सञ्चालनमा रहेका अढाइ दर्जनभन्दा बढी अवैध बाटाका कारण कुनै बेला पनि ठूलो दुर्घटना हुने जोखिम छ । तर, जोखिम न्यूनीकरणका लागि एप्रोच रोड (पहुँच सडक) बनाउन कुनै पनि निकाय सक्रिय देखिँदैनन् ।

एक सय २० किलोमिटर प्रतिघन्टा गुड्न सक्ने रेल अवैध बाटाकै कारण एक सय २० किलोमिटर प्रतिघन्टा गुड्न सक्ने रेल अवैध बाटाकै कारण प्रतिघन्टा करिब ४० किलोमिटरमा साँघुरिएको छ । सोही कारणबाट जनकपुरदेखि जयनगरसम्मको २९ दशमलव पाँच किलोमिटर दुरी तय गर्न रेललाई एक घन्टा १५ मिनेट लाग्ने गर्छ । क्षमताअनुसार रेल गुडेमा जनकपुर–जयनगरको दुरी पार गर्दा कम्तीमा ३० मिनेट वचत हुनेछ ।

भरतमा ब्रोडगेज रेल्वे ट्रयाक र अन्य संरचना प्रतिकिलोमिटर एक सय ६० किलोमिटरसम्म रेल गुड्नेगरी बनाइएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जनकपुरबाट जयनगर आउँदाजाँदा जनकपुर–कपिलेश्वरसम्म रेललाई प्रतिघन्टा २० किलोमिटरमा गुडाउनुपरेको बताए । जनकपुरधाम उपमहानगर क्षेत्रमा रहेको यो ठाउँमा लिकसँगै घरहरू छन् । ती घरका बालबच्चा र वस्तुभाउ रेलमार्गमा अचानक आउने भयले त्यसो गर्नुपरेको महाप्रबन्धक झाको भनाइ छ ।
जनकपुरधाम रेल्वे स्टेसनको पश्चिमतर्फ सघन आवादी हुँदै रेलमार्ग गुज्रिएको छ ।

यस क्षेत्रमा पनि रेलमार्ग वारपार हुने परम्परागत बाटा छन् । जहाँ पैदलयात्रुसँगै ठूला, मझौला र साना सवारीसाधनको बाक्लो आवागमन हुनेगर्छ । तर, संरचना बनाउने बेलामा लेभल क्रसिङ्ग गेट निर्माण नगरिएकाले रेल गुडिरहेका बेला पनि यी ठाउँ खुला नै रहन्छन् ।

रेलको आवागमनका बेला पाँच मिनेट अघिबाटै दुईतिरबाटै ढाट लगाएर बाटो बन्द गर्ने गेटम्यान(रेल्वे कर्मचारी) सहितका ठाउँलाई रेलमार्ग वारपार गर्ने बाटालाई वैध मानिन्छ भने प्रचलनमा रहे पनि रेल्वे सञ्चालनका दृष्टिले अन्य बाटा अवैध छन् ।

‘अवैध भनिएका बाटा वर्षौँदेखि चलनमा छन् । तिनमा आउजाउ पनि धेरै छ । रेल आउने बेलामा हर्न सुनेर वा दुईतिर हेरेर हिँड्नु÷गुड्नुपर्ने हुन्छ,’ स्थानीय जनकनन्दिनी एफएमका प्रबन्धनिर्देशक अर्जुन मण्डलले भने, ‘सतर्कता गुम्दा यी ठाउँमा ज्यान जान पनि बेर छैन ।’

जनकपुरधामको सहरीबस्तीमा मिल्सएरियाबाट बेङ्गा र बाह्रविघाको उत्तरपट्टि प्रदेश प्रहरी कार्यालयबाट थापाचोक जाने बाटा जोखिमको दृष्टिले अत्यधिक संवेदनशील छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख एवम् प्रहरी निरीक्षक शेखर साहले सहरीक्षेत्रमा रेल गुड्दा रेलमार्गनजिक डोरी लगाएर रेल्वे कर्मचारी बस्ने गरेको बताए । उनले ती ठाउँमा व्यक्तिको सतर्कहीनताका कारण सानातिना दुर्घटना भए पनि ज्यान नै जाने वा अङ्गभङ्ग हुनेगरी केही नभएको बताए ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक झाले भने अवैध भनिएका करिब २६ वटा बाटामा लेभल क्रसिङ्ग गेट नराखिएको जानकारी दिए । ५१ किलोमिटरको जयनगर–जनकपुर–भङ्गहा रेलमार्गमा भने ३३ ठाउँमा लेभल क्रसिङ्ग गेट छन् ।

नयाँ लेभल क्रसिङ्ग गेट राख्न संरचना र जनशक्ति चाहिन्छ । रेलमार्गमा अहिलेकै सँख्यामा रहेका बाटामा लेभल क्रसिङ्ग गेटका लागि कम्तीमा १५ जना आवश्यक हुन्छ । तर, त्यसका लागि जनशक्ति एवम् साधनस्रोत व्यवस्थापन गर्ने काम प्रक्रियागत ढंगले झन्झटिलो र समय लाग्ने हुँदा सुरक्षा दृष्टिले संरचना निर्माण अर्थात् एप्रोच सडक बनाउन स्थानीय तहलाई आग्रह गरिएको महाप्रबन्धक झाले बताए ।

‘एप्रोच गेट प्रयोग गरेर बाटो काट्नु सुरुमा असजिलो र दिक्कलाग्दो हुनसक्छ । तर, पछि मानिस यसो गर्न आफैँ अभ्यस्त हुन्छन्,’ महाप्रबन्धक झाले भने । उनले भारतको एक लाख २८ हजार किलोमिटरको रेल्वे सञ्जालमा एप्रोच सडकको प्रयोग त्यसको उदाहरण भएको उल्लेख गरे ।

सहरीक्षेत्रमा पासवे (भूमिगत बाटो) र फलाइ ओभर रेलमार्ग काट्न सुरक्षित विकल्प हुन सक्छन् । तर, संरचना निर्माणअघि नै पासवे नबनाइएकाले यसको सम्भावना तत्काललाई छैन । तर, फलाइ ओभरलगायत बोगीको उचाइभन्दा माथि भएर बनाइने अन्य संरचना बनाउन सकिन्छ । रेलमार्ग रहेका ठाउँका स्थानीय तहले यस्तो पहल गरे कानुनी जटिलता हटाउन आफूहरूले पहल गर्ने महाप्रबन्धक झाले बताए । कानुनबाटै रेलमार्ग नियमन हुन्छ ।

जयनगर–जनकपुर–भङ्गहा रेलमार्ग भएर अहिले यात्रुको ओसारपसार मात्र हुन्छ । यस लिकमा मालवाहक रेल गुडाउन ट्रयाक मर्मतका काममा भारत सरकारले एकपटकका लागि सहयोग गरिरहेको छ । तर, मालवाहक रेल गुडाउन विद्यमान अप्ठ्यारामा अवैध बाटा समेत रहेको भारतीय पक्षले औंल्याएको छ ।

यात्रु ओसापसार गर्दा रेल्वे नाफामा नजाने तर मालसामान ओसार्दा त्यसले घाटा पूर्ति गर्ने स्थितिमा अवैध बाटा नियमन गरिनुपर्ने स्थिति छ । मालसामान ओसार्ने रेलसेवा सुरु भएपछि सुनसरीदेखि सर्लाहीसम्मका लागि एउटा सिजनमा भारतबाट काकडभिट्टा भएर आउने छ सय करोड रुपैयाँ बराबरको कोइला आयात गर्दा ५० प्रतिशत पारवहन खर्च जोगिने प्रक्षेपण छ । यसबाट कोइलाको प्रयोगबाट उत्पादित वस्तुको बजारभाउ कम हुनसक्छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH