निजगढमा शंकास्पद वस्तु बिस्फोट, एकको मृत्यु

२०८० फाल्गुन १४, सोमबार १६:३४
एकको मृत्यु र पाँच जना घाइते हुनेगरी बाराको निजगढस्थित रोहित वर्कशपमा शंकास्पद वस्तु विस्फोट भएपछि घटनास्थल अवलोकन गर्दै प्रहरी । तस्बिर : अनिल यादव

अनिल यादव/टोलपडोस
रौतहट, १४ फागुन ।
बाराको निजगढस्थित रोहित वर्कशपमा शंकास्पद वस्तु पड्किँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

निजगढ नगरपालिका–७ सहिदचोकमा आज मध्याह्न शंकास्पद वस्तु पड्किँदा वर्कसप सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको छ ।

मगरले सञ्चालन गरेको रोहित वर्कसपमा काम गर्दै गरेका बेला अचानक बमजस्तै देखिने वस्तु बिस्फोट हुँदा रेशमसहित पाँचजना घाइते भएका हुन् ।
विस्फोटबाट चार जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, भारत घर भएका ३५ वर्षीय राकेश जायसवाल र ठेगाना नखुलेका २० वर्षीय रितु रजत रहेका छन् भने निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको अवस्था सामान्य रहेको छ ।

घाइते सबैको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको छ ।

हाल चारजनालाई थप उपचारका निम्ति वीरगन्ज रिफर गरिएको छ भने एकजनाको सामुदायिक अस्पताल निजगढमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रहरीका अनुसार विस्फोट भएको वस्तु हेर्दा बमजस्तै देखिएको बताइएको छ । त्यो वस्तु कहाँबाट आयो र कसरी विस्फोट भयो यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH