एक फर्निचर उद्यमीसहित छ ‘कठचोरबा’ माथि मुद्दा दायर
टोलपडोस समाचारदाता
जनकपुरधाम, १४ फागुन ।
केही समययता वनसम्बन्धी कसुर गर्नेविरुद्ध कडा रूपमा प्रस्तुत भइरहेको डिभिजन वन कार्यालय धनुषाले सालको रुख कटान गर्ने तथा खरिद एवम् बिक्री गर्ने छजनाविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ ।
धनुषाको मिथिला नगरपालिका–७ धोबे खोलाको चुरेनजिकको राष्ट्रिय वनबाट सालका रुख काटेर फ्यान्टा बनाएका पाँचजना र ती फ्यान्टा खरिद गर्ने फर्निचर उद्योगका एकजना गरी छजनाविरुद्ध वनपैदावार हानीनोक्सानी पुर्याई ओसारपसार गरेको कसुरमा मुद्दा चलाइएको हो ।
वनसम्बन्धी कानुनअनुसार मिथिला नगरपालिका–३ लालभित्तिका पुष्पलाल तामाङ्ग, सोही ठाउँ बस्ने लालो महतो, सुरेश महतो र रामसिनेही महतोलाई वनक्षेत्रमा गई रुख कटान गरी टुक्राटुक्रा पारेका र क्षिरेश्वरनाथ नगरपालिका–६ का मनोहर साह रौनियारलाई टुक्रयाइएका काठ खरिद तथा बिक्री गर्ने कसुरमा सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरिएको डिभिजन वन कार्यालय धनुषाले जनाएको छ ।
डिभिजन वन कार्यालय धनुषाका प्रमुख एवम् डिभिजनल वा अधिकृत बेचन चौधरीले नियमित वनगश्ती, वनतस्करमाथिको कडा निगरानी र विशेष सुराकी परिचालनका आधारमा वनसम्बन्धी कसुर गर्नेहरू कानुनको दायरामा आउन थालेको बताए ।
सबडिभिजन वन कार्यालय पुष्पलपुरको गश्ती टोलीले अभियुक्त तामाङ्गलाई सरकारी वनबाट सालको रुख काटी चारपाटा बनाउँदै गरेको अवस्थामा गत माघ १८ गते बेलुका साल जातको फ्यान्टा तीन थान, बन्चरो एक थान र साइकल चार थानसहित पक्राउ गरेको थियो ।
वन कर्मचारीले घटनास्थलबाट हानीनोक्सानी पुर्याइएका अवस्थामा रुखका ठुटा फेला पारेका थिए । तामाङ्गका बयान र खानतलासी मुचुल्का आधारमा सो कार्यमा थप चारजनामाथि अभियोग पुष्टि भएको थियो ।
पक्राउ परेका तामाङ्गले दुईपटक वन गई रुख काटेर सखुवामहेन्द्रनगरस्थित साहको फर्निचरमा बेचेको अनुसन्धानक्रममा जानकारी गराएका थिए । सोही आधारमा सखुवामहेन्द्रनगरस्थित साहको फर्निचरबाट समेत काठ बरामद गरिएको छ ।
अभियोगपत्रमा बरामद भएको दुई सय ४३ क्युबिक फिट काठको दुई लाख ४३ हजार बिगो कायम गरिएको छ ।