सर्लाहीका काँग्रेस सभापति सिँहको मुद्दा फैसलाबारे आएन पुरा विवरण, अनर्गल टिप्पणी गर्दै विरोधी

२०८० फाल्गुन १६, बुधबार १३:१२
मंगलबार सर्वोच्च अदालतको वेभसाइटमा राखिएको फैसला विवरण ।

टोलपडोस समाचारदाता
जनकपुरधाम, १६ फागुन ।
सर्वोच्च अदालतको फैसलाको संक्षिप्त वा पूर्णपाठ नआउँदा एउटा मुद्दाका विषयमा अनुमानका आधारमा टिकाटिप्पणी गरिँदैछ । नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिँहसँग जोडिएको एक मुद्दामा हिजो मंगलबार सर्वोच्च अदालतले फैसला गरेको थियो ।

सर्लाहीमा सिसौ काटेर भारतमा तस्करी गरेको मुद्दामा विशेष अदालतको फैसलामाथि पुनरावेदनमा सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले गरेको फैसलाबारे संक्षिप्त र पूर्णपाठ अझै आइसकेको छैन ।

कुनै पनि मुद्दामा सामान्यतया सोही दिन वा त्यसको भोलिपल्ट फैसलाको संक्षिप्त विवरण र एकदुई महिनाभित्र पूर्णपाठ आउने गर्दछ । तर, मंगलबारको फैसलाबारे सर्वोच्चको वेभसाइटमा छोटो रूप मात्र उपलब्ध छ । जसअनुसार सोही मुद्दामा नेपाल सरकारले सुरेन्द्रप्रसाद सिँहसमेतमाथि गरेको पुनरावेदनमा जिकिर नपुगेको र सुरेन्द्रप्रसाद सिँहले नेपाल सरकारमाथि गरेको पुनरावेदनमा केही उल्टी उल्लेख छन् ।

०५८ सालमा सर्लाहीस्थित मनुषमारा सिँचाइ आयोजना बसबरिया नहरको डिलमा रोपिएका सिसौका रुख चोरीकटान भएको मुद्दामा मनुषमारा सिँचाइ आयोजनाको जलउपभोक्ता समितिका तत्कालीन अध्यक्ष सिँहलगायतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले दोषी ठहर गरी नौ महिना कैद र एक करोड २३ लाख रुपैयाँ जरिबाना गरेको फैसलामा चित्त नबुझी सिँह सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सोही मुद्दामा नेपाल सरकारले पनि सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।
सर्वोच्चको वेभसाइटमा उपलब्ध फैसलाको छोटो विवरणबाट मुद्दामा नेपाल सरकारको जिकिर नपुगेको र सुरेन्द्र सिँहका हकमा उल्टी भएको देखिन्छ ।

‘यसबाट सिँहका विषयमा अदालतले विशेषभन्दा फरक पैसला दिएको बुझ्न सकिन्छ । तर, फैसला के हो भन्नेमा संक्षिप्त विवरण वा पूर्णपाठ आएमात्र थाहा पाउन सकिन्छ,’ अदालतसम्बन्धी रिर्पोर्टिङ्ग गर्ने एक पत्रकारले भने । उनले अहिले नै यसो भएको भनी अनुमानका आधारमा टिकाटिप्पणी गरिनु अनर्गल हुने बताए ।

मुद्दामा सिँहलगायतले माओवादी द्वन्द्वका बेला अख्तियारले सो मुद्दा राजनीतिक प्रतिशोधकका कारण दायर गरेको बताएका थिए ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH