महतो नेतृत्वको रामुक्राद्वारा निषेधित क्षेत्र उल्लंघन प्रयास

२०८० फाल्गुन १६, बुधबार १५:५९

काठमाडौंको माइतीघर मण्डलालाई निषेधित क्षेत्र बनाइएको विरोधमा राष्ट्रिय मुक्ति क्रान्तिको भद्रकालीमा धर्ना प्रदर्शन । तस्बिर : अनिलकुमार कर्ण

टोलपडोस समाचारदाता
काठमाडौं, १६ फागुन ।
बहुराष्ट्रिय राज्य स्थापनाका लागि गठित राष्ट्रिय मुक्ति क्रान्तिले माइतीघर मण्डलालाई निषेधित क्षेत्र बनाइएको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । विरोध प्रदर्शनपछि अहिले काठमाडौंको भद्रकाली अगाडि कोणसभा भइरहेको छ ।

माइतीघर मण्डलाको निषेधित क्षेत्र तोड्न कमलपोखरीबाट निस्केको क्रान्तिको जुलुसलाई प्रहरीले भद्रकालीअगाडि बल प्रयोग गरेर रोकेपछि मोर्चाका नेतृत्वकर्ता राजेन्द्र महतोलगायतका नेताकार्यकर्ता सोही ठाउँमा धर्ना बसेका थिए ।

प्रदर्शनमा रामुक्राका सयौँको सँख्यामा नेताकार्यकर्ता सहभागी भएका छन् ।

यसअघि निषेधित क्षेत्रतर्फ बढ्न लागेका क्रान्तिका नेताकार्यकर्ता तथा त्यहाँ तैनाथ प्रहरी सुरक्षाकर्मीबीच केही बेर धक्कामुक्का भएको थियो । धक्कामा क्रान्ति नेता महतो पटकपटक पछारिएका थिए । त्यसक्रममा नेता रमणकुमार पाण्डे मुच्र्छित भएका थिए ।

लोकतान्त्रिक मान्यताविरुद्ध जनताका आवाज संकुचित बनाउन सरकारले माइतीघर मण्डला क्षेत्रमा वर्षौदेखि भेलाजम्मा हुन तथा प्रदर्शन गर्न निषेधाज्ञा लगाएको भन्दै मोर्चाले बुधबार निषेधित क्षेत्रमा प्रवेश गरी सरकारी आदेश उल्लंघन गर्ने कार्यक्रम तय गरेको थियो । क्रान्तिका नेताकार्यकर्ताहरूले कालोपट्टी बाँधी आफ्नै भूमिमा आफूहरूलाई निषेधित गर्न नपाइने नारा लगाउँदै छन् ।

एकल नश्लवादी शासकीय परम्पराका विरुद्ध स्वदेशवाद, बहुल राष्ट्रवाद र सामुदायिक समाजवाद प्राप्तिका लागि बहुआयामिक आन्दोलन गर्ने उद्घोषका साथ क्रान्तिले अभियान अघि बढाएको छ ।

काठमाडौंको माइतीघर मण्डलालाई निषेधित क्षेत्र बनाइएको विरोधमा राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शन । तस्बिर : अनिलकुमार कर्ण

बुधबारको प्रदर्शन रामक्राको उपत्यका विशेष समितिले गरेको थियो ।


काठमाडौंको माइतीघर मण्डलालाई निषेधित क्षेत्र बनाइएको विरोधमा राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा नेता राजेन्द्र महतो । तस्बिर : अनिलकुमार कर्ण

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH