लहानको जङ्गलबाट बँदेल सिकार गर्ने पक्राउ

२०८० फाल्गुन १९, शनिबार ०९:०९
लहानको देवीदह जङ्गलमा बँदेलको चोरीसिकारी गरेको आरोपमा पक्राउ परेका लहान नगरपालिका वडा नम्बर १६ तरेगनाका अनिस बराल । तस्बिर : डिभिजन वन कार्यालय सिरहा, लहान

टोलपडोस समाचारदाता
जनकपुरधाम, १९ फागुन ।
डिभिजनल वन कार्यालय सिरहा, सब डिभिजनल वन कार्यालय लहान र देवीदह सामुदायिक वन उपभोक्ता समूह लहानको संयुक्त टोलीले लहान नगरपालिका वडा नम्बर १८ स्थित देवीदह जङ्गलमा घेरा हाली मृत अवस्थामा रहेको जङ्गली बँदेल बरामद गर्नुका साथै एक सिकारीलाई पक्राउ गरेको छ ।

शुक्रबार साँझ जङ्गलक्षेत्रमा भरुवा बन्दुक पड्किएको आवाज आएपछि वन्यजन्तु चोरीसिकारी गर्नेहरूको गतिविधि भइरहेको आशङ्कामा घेरा हाली खोजपड्ताल गरेको सो टोलीले लहान नगरपालिका वडा नम्बर १६ तरेगनाका अनिस बराललाई पक्राउ गरेको हो ।

चोरीसिकारीमा संलग्न अन्य केही व्यक्तिहरू भने फरार भएको डिभिजनल वन अधिकृत सुजितकुमार झाले बताए ।
बरामद भएको जङ्गली बँदेललाई चोरीसिकार गर्नेहरूको सो समूहले प्रहार गरेको भरुवा बन्दुकको छर्राले मृत्यु भएको बताइएको छ ।

चोरीसिकार गर्नेहरूको समूह वन्यजन्तु मार्न जङ्गलमा सक्रिय रहेको आशङ्का यकिनमा बदलिएपछि देवीदह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कपिलेश्वर यादवलगायत वन उपभोक्ताहरूले जङ्गलमा घेरा साँघुरो बनाउँदै बराललाई पक्राउ गरेका थिए ।

सो कारबाहीमा उपभोक्तालाई मद्दत गर्न सब डिभिजन वन कार्यालय लहानका प्रमुख देवेन्द्र पासवानको नेतृत्वमा डिभिजन वन कार्यालय सिरहासमेतको टोली खटाइएको थियो ।

पक्राउ परेका बरालमाथि वन ऐन २०७६ को दफा ४९ को खण्ड त र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको दफा २१ (१) ख बमोजिमको कसुरमा मुद्दा चलाइनेछ । सो कसुरमा ६ महिनादेखि एक वर्ष कैद वा पचासदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

डिभिजनल वन अधिकृत झाले प्रकृति तथा जैविक विविधता संरक्षणका लागि जनताभन्दा ठूलो संरक्षक कोही नभएको उदाहरण यस घटनामा वन उपभोक्ताको सक्रियताले पुष्टि गरेको बताए ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH