जसपा र लोसपाजस्ता क्षेत्रीय पार्टीले देश बनाउन सक्दैन : एमाले महासचिव पोखरेल
विपिन यादव/टोलपडोस
जनकपुरधाम, १९ फागुन ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले क्षेत्रीय पार्टीहरूले देश बनाउन नसक्ने दाबी गरे ।
धनुषाको हँसपुर नगरपालिकाको निकालमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले जसपा र लोसपापछि अब मधेशमा जनमत भन्ने पार्टी जुर्मुराउन थालेको बताउँदै त्यस्ता क्षेत्रीय पार्टीबाट प्रदेशको विकास सम्भव नरहेको धारणा व्यक्त गरे ।
भारतको उदाहरण दिँदै उनले भने, ‘उत्तर प्रदेशमा कहिले मुलायम सिंह कहिले मायावतीले नेतृत्व ग¥यो विकास हुन सकेन । जब भारतीय जनता पार्टीले नेतृत्व सम्हाल्यो उत्तर प्रदेशले विकासको गति लियो ।’
महासचिव पोखरेलले मधेसका मसिहा भन्ने पार्टीहरू मधेसी जनताका लागि केही नगर्ने पुष्टि भइसकेको ठोकुवा गर्दै ६ वर्षदेखि मधेश प्रदेश सरकारको नेतृत्व गरेको जसपाका पालामा आफूहरूले समेत प्रशंसा गरेको मिठो नारा बेटी बचाऊ, बेटी पढाऊको अन्तर्य करौडौं भ्रष्टाचार गर्ने रहेको साबित भइसकेको बताए ।
उनले प्रदेश सरकार मधेसका छोरीहरूका नाममा पैसा लुट्ने काम गरेको बताउँदै भ्रष्टाचार गर्नेहरू आज जेल जान लागेको उल्लेख गरे ।
महासचिव पोखरेलले गठबन्धन सरकारका कारण जनतामा निराशा छाएको बताउँदै गठबन्धन सरकारबाट युवाका लागि मुलुकमा रोजगारी सिर्जना नहुने जिकिर गरे ।
उनले भने, ‘माओवादी नेतृत्वको सरकारमा काँग्रेस सामेल छ, अहिले सरकारको अवस्था के छ ? जनतामा निराशा छाएको छ, युवा विदेश पलायन हुँदैछन् । उनले एमाले सरकारमा छँदा रोजगारीका योजनाहरू सुरू भएको स्मरण गरे ।
तराईका जनताले वर्षामा बाढी र हिउँदमा पानीको समस्या भोग्दै आएको बताउँदै उनले नेपालको पानी नेपाली जनताले प्रयोग गर्न पाउनुपर्ने धारणा राखे ।
उनले तराई मधेसका नागरिकले भोगिरहेका यो पीडालाई सम्बोधन गर्न अहिलेको नेताले सपना देख्नुपर्ने बताए । पोखरेलले सिँचाइ परियोजना सुनकोसी मरिन डाइभर्सन योजना एमाले सरकारकै बेला सम्भव भएको उल्लेख गरे ।