नेपाल प्रेस युनियन सिरहाको पदस्थापन समारोह सम्पन्न
टोलपडोस समाचारदाता
लहान, १९ फागुन ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अनिलकुमार कर्णले पत्रकारिता क्षेत्र इतिहासकै सबैभन्दा बढी विश्वसनीयताको संकटबाट गुज्रिरहेको बताएका छन् ।
शनिबार लहानमा आयोजित युनियन सिरहाको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पदस्थापन समारोहमा उपाध्यक्ष कर्णले पत्रकारिता फाँटलाई विचलन र छटपटीबाट उबार्न पेसागत स्वनियमनका आधारमा वृत्तिविकास र सञ्चारकर्मीका आर्थिक तथा सामाजिक जोखिम न्यूनीकरणमा राज्यको संलग्नताको विकल्प नरहेको प्रस्ट्याए ।
उनले नेपाल पत्रकार महासंघमा युनियनको भौतिक नेतृत्व नरहेका ठाउँका पत्रकारिता क्षेत्रमा युनियनको बौद्धिक नेतृत्व रहेको उल्लेख गर्दै युनियनकर्मीले मत दिनेलिने काममा केन्द्रित नभई श्रमजीवी पत्रकारका लागि सीपोन्नयन, पेसागत सुरक्षा र ठोस अवसरमा पहुँच बनाउने रचनात्मक कार्यका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
उनले महासंघको आसन्न निर्वाचनका लागि युनियनबाट टिकट लिने आकांक्षा युनियनकर्मीका लागि स्वाभाविक भएको भन्दै युनियनको टिकटमा चुनाव जित्ने र महासंघमा पुग्नेबित्तिकै साझा छु भनी युनियनकै अहितमा काम गर्ने प्रवृत्ति घातक भएको औंल्याए ।
उपाध्यक्ष कर्णले त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न युनियनको केन्द्रीय नेतृत्व गम्भीर तथा सजग रहेको पनि बताए ।
काँग्रेसका शुभेच्छुक संस्था हो भनेर युनियनले मात्र कर्तव्यनिर्वहन गर्नुपर्छ भन्ने नभएर काँग्रेसले पनि आफ्नो शुभेच्छुक संस्थाप्रतिको दायित्व पुरा गर्न संस्थागत प्रयत्न गर्नुपर्ने भन्दै काँग्रेसबाट निर्वाचित धेरैजसो स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधिहरूले युनियनकर्मीप्रति देखाउँदै आएको प्रतिपक्षी भाव र व्यवहार दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।
लोकतन्त्र र यसका प्रक्रियाप्रति अनास्था राख्ने पेसाकर्मी काँग्रेसका अधिक जनप्रतिनिधिका लागि मित्रशक्ति हुने र लोकतान्त्रिक विचार र संस्कार अनुकरण गर्नेहरू वैरी हुने दुःखद अवस्था अन्त्य गर्न काँग्रेसका सबै तहका नेतृत्व सकारात्मक बन्नुपर्ने उपाध्यक्ष कर्णको भनाइ थियो ।
नेपाली काँग्रेसका लहान नगर अध्यक्ष संजय यादवले पार्टी र शुभेच्छुक संस्थाबीचको सम्बन्ध सुमधुर बन्नुपर्ने बताए । उनले पत्रकारहरूले स्वार्थभन्दा माथि उठेर समाचार तयार गरेमा मात्र समाज रूपान्तरण हुने उल्लेख गरे ।
ट्रेड युनियन काँग्रेस सिरहाका अध्यक्ष सञ्जीव उपाध्यायले श्रमजीवीहरूको पेसागत सुरक्षा र वृत्तिविकासको सुनिश्चितताका लागि युनियन सक्रिय हुनुपर्ने विचार व्यक्त गरे ।
युनियन सिरहाका संस्थापक अध्यक्ष उद्धव हमालले युनियन सिरहाको गौरवपूर्ण अतीत रहेको स्मरण गर्दै त्यसलाई पुनःस्थापित गर्न अहिलेको कार्यसमितिले दत्तचित भएर काम गर्नुपर्ने बताए । उनले कुनै बेला केन्द्रीय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको युनियन सिरहा थप सशक्त भएर अघि आउनुपर्ने बताए ।
कार्यक्रममा युनियनका प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, उपाध्यक्ष रमिता नेपाल, युनियन सिरहाका निवर्तमान अध्यक्ष भरतजर्घा मगर, सिरहा उपाध्यक्ष एलिना हिमाङ्ग चौधरीलगायतले आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा प्रदेश महासचिव अजयकुमार साहलाई डाक्टरेट उपाधि पाएकामा प्रदेश अध्यक्ष श्रेष्ठले सम्मान गरेका थिए ।
युनियन सिरहाको गत असोजमा सम्पन्न जिल्ला अधिवेशनमा निर्मलाकुमारी दाहालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन भएको थियो ।
कार्यसमितिका उपाध्यक्षमा शम्भु यादव, समावेशी उपाध्यक्षमा एलिना हिमाङ्ग चौधरी, सचिवमा दिलिपकुमार चौधरी, सहसचिवमा बद्रीनारायण यादव र कोषाध्यक्षमा अनुपम झा चयन भएका थिए भने सदस्यहरूमा नवीनकुमार चौधरी, पंकज यादव, एम महतो, मुकेशकुमार यादव, आशीषकुमार साह, नरेशचन्द्र बरियार र शशि मण्डल निर्वाचित भएका थिए ।